विराटनगर ।
आधुनिकताको बढ्दो प्रभाव र बदलिएको जीवन शैलीका कारण पछिल्लो समय धेरै मौलिक संस्कार तथा संस्कृति ओझेलमा पर्दै गएका छन् । तर, विराटनगरका लिम्बू समुदायका युवायुवती भने आफ्नो मौलिक पहिचान, संस्कार र संस्कृति जोगाउन सक्रिय हुन थालेका छन् ।
महिना दिनअघि विराटनगरस्थित चुम्लुङ भवनको हलमा छुट्टै दृश्य देखिन्थ्यो । अन्य समयमा चाडपर्वमा मात्र भेला हुने लिम्बू युवा युवती त्यस दिन भने केलाङ् (च्याब्रुङ नाच) सिक्नलाई भेला भएका थिए । कोही मोरङको बूढीगंगाबाट आएका थिए भने कोही विराटनगर आसपासका विभिन्न स्थानबाट । उनीहरू च्याब्रुङको तालमा नाच्न भेला भएका थिए । हलभित्र कोही हातका चाल मिलाउँदै थिए भने कसैले खुट्टाको चाल नाप्दै । च्याब्रुङको तालसँगै उनीहरूका शरीर लयबद्ध रूपमा हल्लिने प्रयासमा थिए । वातावरणमा उत्साहपूर्ण थियो, अनुहारमा आफ्नै संस्कृतिप्रतिको अपनत्व झल्किन्थ्यो ।
के (च्याब्रुङ) र केलाङ् (च्याब्रुङ नाच) लिम्बू समुदायको मौलिक सांस्कृतिक नृत्य हो । पुस्तान्तरण हुँदै आएको यो बाजा र नृत्य मनोरञ्जनको माध्यम मात्र नभएर लिम्बू जातिको मुन्धुम, संस्कृति, पहिचान र सामाजिक सम्बन्धसँग पनि जोडिएको छ । पछिल्लो पुस्ता आधुनिक सङ्गीत र मनोरञ्जनका विभिन्न माध्यमतर्फ आकर्षित भइरहेका बेला युवायुवतीको यस्तो सक्रियताले मौलिक संस्कृतिप्रतिको चासो पुनः बढ्दै गएको देखाउँथ्याे ।
त्यही भीडमा करिब ५५ वर्षिया सुशिला थलङ पनि च्याब्रुङको ताल सिक्दै थिइन् । उनले हाँस्दै भनिन्, ‘सहर पसियो । बेलैमा सिकिएन, अहिले रहर लागेको छ ।’ अहिले युवाहरू पनि यसतर्फ आकर्षित भएको देखेर पनि रहर लागेर आएको उनकाे भनाइ थियाे । त्यसो त उनका लागि च्याब्रुङ केवल नाच भन्दा पनि मुन्धुमको लय र आफ्नो समुदायसँग जोडिने माध्यम रहेको सुनाउँथिन् ।
त्यही जमातमा करिब २३ वर्षीय सुमन लिम्बू पनि च्याब्रुङ सिक्न उत्साहित देखिन्थे । आफ्नो थातथलो पाँचथर छोडेर बाबाआमासँगै मधेश झरेका उनलाई चुम्लुङ विराटनगर महानगर समितिसँग जोडिएपछि बल्ल आफ्नो परम्परा र संस्कृतिसँग नजिक हुने अवसर मिलेको सुमनकाे भनाइ थियाे । ‘विराटनगर मधेशी समुदायको बाहुल्य भएको सहर हो । यहाँ हाम्रो समुदायको संस्कृति त्यति चलनमा छैन । बरु केही साथीहरूले थाहा पाउँदैछन् अनि बल्ल हामीहरूले पनि नजिक हुन पाउँदैछौँ । त्यसैले पनि यो नाच सिक्न उत्साहित छु ।’ आफ्नो संस्कार–संस्कृति जगेर्ना गर्न सकौँ र अब आउने पुस्तालाई पनि हस्तान्तरण गर्न सकौँ भनेर यो नाच सिक्न चाहेको उनले भनेका थिए । त्यसो त उनीहरूका लागि यो आफ्नो पहिचानसँग नजिकिने अवसर बनेको छ । आधुनिकताको प्रभावलाई स्वीकार गर्दै आफ्नै मौलिक संस्कृति पनि जोगाउन सकिने उनीहरूको बुझाइ थियाे ।
किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर समितिले एक महिनाअघि आयोजना गरेको केलाङ प्रशिक्षण कार्यक्रममा भेटिएका १७ वर्षीय बिनिस थेबे केलाङ् सिक्नकै लागि आएको बताउँथे । उनलाई त्यति थाहा छैन, तर पनि नजिक हुन जरुरी छ भन्ने लागेकैले नाच सिक्न आएको उनको भनाइ थियाे ।
१८ वर्षीय अन्यास तावाहाङ पनि केलाङ नाच सिक्नकै लागि आएको थिइन् । उनलाई पनि कसरी नाच्ने भन्ने जानकारी थिएन । तर सिक्दै गएपछि आउँछ र आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मनसाय रहेको उनको बुझाइ थियाे ।

विराटनगरजस्तो तीव्र रूपमा आधुनिक बन्दै गएका सहरहरूमा च्याब्रुङको तालमा युवायुवतीका पाइला चालिनु आफैँमा सांस्कृतिक जागरणको संकेत रहेको किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर समितिका अध्यक्ष कुमार सुब्बा बताउँछन् ।
उनको भनाइ अनुसार आधुनिकताको भेलमा मौलिक संस्कृतिहरू हराउँदै जाने चिन्ता बढिरहेका बेला लिम्बू युवापुस्ताको यो प्रयास आशाको किरण बनेको छ । त्यसो त चुम्लुङले अन्य कलाकार पनि उत्पादन गरेको छ । विवाह, सुखद् कार्यक्रमा पनि उही कलाकारहरू जान्छन् । तर आफ्नो समुदायको कम भएकाले पनि केही चिन्ता भएको उनको भनाइ छ । ‘संस्कार संस्कृति जगेर्ना गर्नु गाह्रो छ । नयाँ पुस्ता बल्ल सिक्न मान्दैछन् । अलिकति आफ्नो संस्कारलाई पछ्याउन थालेका छन् । हामीले त क्षेत्रीबाहुनका नानीहरू, नेवारलाई पनि सिकाएर लिएर हिँडेका छौँ । विविधता नै भएको छौँ,’ हाँस्दै उनी भन्छन् ।
मुन्धुमी लेखक एवं किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नारायण कुमार यक्सोका अनुसार बिहेलगायत शुभ कार्यमा च्याब्रुङ बजाउने प्रचलन पुरानै हो । ‘केलाङको अर्थ के हो भने नयाँ घर बनाएपछि त्यो घर टिकाउ होस्, धमिरा नलागोस्, चट्याङ तथा बज्र नपरोस् भनेर नयाँ घर बनाइसकेपछि च्याब्रुङ नचाउने चलन चलिआएको हो । त्यति मात्र होइन, तेन्धाम मेखिम (शुभ विवाह)मा बेहुला–बेहुलीलाई आशिर्वाद दिँदा पनि के बजाएर दिने चलन छ,’ उनी भन्छन्, ‘खमारीको काठको च्याब्रुङ घरमा राख्दा चट्याङ तथा बज्र पर्दैन भन्ने किम्बदन्ती छ ।’
याक्थुङ लिम्बू र याक्खा जातिले शुभ विवाहलगायत विभिन्न चाडवाड, पूजा विशेषमा पनि केलाङ् (च्याब्रुङ नाच) नाच्ने गरेका छन् । के बाजा (च्याब्रुङ) विभिन्न प्रजातिका काठको ढुङ्ग्रो बनाएर त्यसमा गाईगोरु वा बाख्राको छाला सुकाएपछि मोरेर बनाइन्छ ।
के उत्पत्तिको मुन्धुमी ब्याख्या
के (च्याब्रुङ) बाजा र नाचको उत्पत्तिको कथा याक्थुङ लिम्बू मुन्धुममा आधारित छ । मुन्धुममा ब्याख्या गरिए अनुसार तिगेन्जोङ्नाका दुई छोरा थिए– केसामी र नाम्सामी । केसामी बाघ र नाम्सामी मानव थिए । उमेर पुग्दै जाँदा दुई भाइबीच अन्ततः द्वन्द्व भयो र नाम्सामीले सिमलको रुखको नवौँ हाँगाबाट हानेको वाणले लागेर केसामी अर्थात् बाघ (दाजु) मारिए ।
दाजुको मृत्युले आमालाई गहिरो शोक पर्न गयो । त्यसपछि नाम्सामीले केसामीको छाला काढेर काठको ढुङ्ग्रोमा मोरेर बाजा बनाए । त्यस बाजाबाट बाघको गर्जनजस्तै आवाज निस्कियो । त्यस बाजालाई केसामीको स्मृतिसँग जोडेर ‘के’ भनिएको हो ।
केसामीको स्मृतिमा बजाइएको यही बाजाको तालमा नाच्न थालिएपछि ‘केलाङ’ नाचको परम्परा सुरु भएको मानिन्छ । ‘के’ बाजा र ‘लाङ्’ अर्थात् खुट्टाको चालबाट केलाङ् नाम बनेको व्याख्या पनि पाइन्छ ।
अर्काे मुन्धुमी आख्यानमा च्याब्रुङको सम्बन्ध सोधुङ्गेन लेप्मुहाङका छोरा पाजाइबाले बनाएको पहिलो घरसँग जोडिन्छ । घरमा धमिरा लागेर संरचना कमजोर भएपछि त्यसलाई हटाउन विशेष विधि र बाजाको प्रयोग गरिएको र त्यस क्रममा च्याब्रुङको उत्पत्तिरप्रयोग भएको कथा पाइन्छ ।
च्याब्रुङ बजाउँदा एकपट्टिबाट आउने ‘च्याङ’ र अर्काेपट्टिबाट आउने ‘भ्रुङ’ ध्वनिबाट ‘च्याब्रुङ’ नामाकरण भएको कथन पाइन्छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।