तोपगाछी ।
जापानीज ईन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन कमल गाउँपालिकाले आवश्यक तयारी तीव्र पारेको छ ।
आगामी ५ असोजदेखि १९ असोजसम्म सञ्चालन हुने जेई खोप अभियानअन्तर्गत कमल गाउँपालिकामा ३० वर्षमाथिका २६ हजार ४६८ नागरिकलाई खोप लगाउने लक्ष्य राखिए कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले जानकारी दिएका छन् ।
यसैबीच अभियानको तयारी तथा व्यवस्थापनको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राई नेतृत्वको उच्चस्तरीय टोलीले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयको स्थलगत निरीक्षण गरेको छ ।
अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, आर्थिक प्रशासन शाखा प्रमुख सृजना राई, शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने र स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल सम्मिलित टोलीले खोप केन्द्रको तयारी, जनशक्ति व्यवस्थापन, खोप तथा आवश्यक सामग्रीको अवस्था र लक्षित नागरिकसम्म सूचना पु¥याउने विषयमा अनुगमन गरेको हो ।
अभियान गाउँपालिकाका ७ वटै वडाका ८ वटा स्वास्थ्य संस्था तथा आवश्यकता अनुसार सडङ्गपाडा, भूतलुङ, पिङडाँडा, वडा कार्यालय, विद्यालय लगायतका स्थानमा खोप केन्द्र सञ्चालन गरी अघि बढाउने तयारी गरिएको छ ।
टोलीले कमल–१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र बसबारी, कमल–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–३ केराधापस्थित श्री कञ्चनजङ्घा आधारभूत विद्यालय, कमल–६ स्थित लखनपुर स्वास्थ्य चौकीको अनुगमनसमेत गरेको थियो । यी स्थानहरुमा खोप केन्द्र सञ्चालन गर्ने पालिकाले तयारी गरेको हो ।
अध्यक्ष राईले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच समन्वय गरी जेई खोपको लक्ष्यमा रहेका कुनै पनि नागरिक नछुट्ने गरी योजना बनाउन निर्देशन दिएका छन् । ‘लक्षित समूहका कुनै पनि नागरिक खोपबाट वञ्चित हुन नहुने’ भन्दै उनले जिम्मेवारीपूर्वक खोप अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् ।
झापामा मनसुनपछि १२ जनामा जेई पुष्टि भएकामा ६ जनाको मृत्यु भइसकेको छ । यो रोग क्युलेक्स प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।