छतको ट्रेनिङदेखि नेसनल च्याम्पियनसम्म

दमक ।

झापाको दमक–६ शंखधर चोककी ओसिस श्रेष्ठको परिचय केवल एक होनाहार विद्यार्थीमा मात्र सीमित छैन । दमक बहुमुखी क्याम्पसमा बिबिए आठौँ सेमेस्टरमा अध्ययनरत उनी पूर्वकै एक प्रतिभाशाली र सफल महिला कराँते खेलाडी हुन् । सानै उमेरदेखि खेलकुद र शैक्षिक अनुशासनलाई सँगसँगै अगाडि बढाएकी ओसिसले खेल मैदानमा जुन छाप छाडेकी छन्, त्यसले स्थानीयस्तरदेखि राष्ट्रियस्तरको खेलकुदमा अझै पनि बेग्लै तरङ्ग पैदा गर्छ ।
ओसिसको खेलयात्राको जग आफ्नै घर र परिवारबाट सुरु भएको हो । कराँते खेलाडी कपिल श्रेष्ठ (दिवङ्गत काका)को खेल र प्रेरणाले गर्दा सिङ्गो परिवारमै खेलकुदप्रतिको अनुराग बसेको थियो ।

०७० सालमा दमक–६ स्थित सब्जी मण्डीको हलमा भाइ ओस्कारमान श्रेष्ठलाई कराँते क्लास पुर्याउन जाँदा ओसिसको जीवनले नयाँ मोड लियो । भाइलाई हलसम्म पुर्याउन जाँदा उनको मनमा पनि कराँते सिक्ने तीब्र इच्छा जाग्यो । भोलिपल्टैदेखि उनी पनि प्रशिक्षणमा सहभागी हुन थालिन् । सुरुवाती गुरु विक्रम शंकर (विक्की) को प्रशिक्षणबाट सुरु भएको यो यात्रामा बुबा कौशलमान र आमा मनिषा श्रेष्ठको साथ अतुलनीय रह्यो ।

कराँतेको छुट्टीको समयमा बुबाले घरको छतमा नै ओसिस र भाइ ओस्कारलाई ट्रेनिङ गराउँथे । कहिलेकाहीँ खेल्न जाने मन नहुँदा बुबाले उत्प्रेरणा दिएका कारण उनलाई निरन्तर अगाडि बढ्न मद्दत पुर्यायो । बिराटनगर, धरान, इटहरीदेखि स्थानीय प्रतियोगिताहरूसम्म बुबा आफैँ बाइकमा पुर्याउन जान्थे । ‘सुरुमा त भाइलाई दमक सब्जी मण्डीको हलमा कराँते क्लास पुर्याउन मात्र गएकी थिएँ । तर, त्यहाँको माहोल देखेर मलाई पनि खेलप्रति अद्भूत आकर्षण भयो र भोलिपल्टैदेखि मैले पनि ट्रेनिङ सुरु गरेँ,’ उनी भन्छिन्, ‘खेलमा निरन्तरता दिनुमा मेरो बुबाको सबैभन्दा ठूलो हात छ । कुनै बेला अल्छी लाग्दा वा खेल्न मन नलाग्दा बुबाले जानैपर्छ भनेर कराउनुहुन्थ्यो र मोटिभेट गर्नुहुन्थ्यो । बिराटनगर, धरान र इटहरीसम्मका हाम्रा गेम हेर्न बुबा पुग्नुहुन्थ्यो भने दमक आसपास त सधैँ बाइकमा हामीलाई ओसारपसार गर्नुहुन्थ्यो ।’

दिदी–भाइको चर्चित जोडी

कुनै समय झापा र वरपरको क्षेत्रमा ओसिस र ओस्कार दिदी–भाइको जोडी ‘डोमिनेन्ट’ मानिन्थ्यो । दुवै जना खेलकुदमा उत्तिकै प्रतिभावान् थिए । ओसिसका भाइ ओस्कारमान श्रेष्ठ जुनियर उप–राष्ट्रपति रनिङ शिल्डका राष्ट्रिय च्याम्पियन तथा ब्ल्याक बेल्ट हुन्, जो हाल बेंग्लोरमा उच्च शिक्षा अध्ययनरत छन् । गुरुहरूका प्रिय यी दिदी–भाइको नाम सुन्नेबित्तिकै विरोधी टोलीहरू मैदानमा सचेत हुन्थे । दमक डोजोलाई जिल्लाको उत्कृष्ट टोली बनाउन यो जोडीको ठूलो योगदान थियो । ‘एक समय यस्तो थियो, कराँतेको दुनियाँमा दिदी–भाइ ओसिस र ओस्कारको नाम धेरै चर्चित थियो,’ उनी भन्छिन्, ‘खेलकुद मैदानमा हामी पुग्दा दमकको टिम भन्नेबित्तिकै विपक्षीहरू दमक त खत्रा छ है भन्थे । गुरुहरूले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो । हाम्रो डोजो जिल्लाकै उत्कृष्ट मानिन्थ्यो ।’

ब्राउन बेल्ट पुगेपछि ओसिसको जीवनमा एउटा यस्तो मोड आयो, जहाँ प्रतियोगिताहरूको कमीले गर्दा उनमा केही निराशा छायो । निरन्तर प्रशिक्षण मात्र गरिरहनुपर्ने तर गेम नहुने अवस्थाले अल्छी लाग्ने परिस्थिति बने पनि उनले हिम्मत हारिनन् । त्यति मात्र होइन, राष्ट्रिय प्रतियोगिता खेल्न जाँदाका पुराना सम्झनाहरू निकै कष्टकर छन् । ०७४ को ५०औँ नेशनल कराँते च्याम्पियनसिपका लागि जाँदा सिन्धुलीमा बाढीले बाटो भत्काएपछि ३ दिनसम्म बसमै बस्नुपरेको थियो । त्यस्तै, ११औँ राष्ट्रपति रनिङ शिल्ड खेल्न जाँदा सिरहा–सप्तरीको बाढी र सिन्धुलीको पहिरोका कारण मुग्लिनको घुमाउरो बाटो हुँदै ३ दिनको कठिन यात्रापछि मात्र काठमाडौँ पुगेको सम्झना उनीसँग छ । ‘ब्राउन बेल्ट पुगेपछि मलाई एक समय निकै निराशा र अल्छी लागेको थियो किनभने उबेला खासै गेम नै हुँदैनथ्यो । खाली ट्रेनिङ मात्र गर्दा गर्दा फ्रस्ट्रेट भइने,’ उनी भन्छिन्, ‘गेम नै हुँदैन, के ट्रेनिङ जानु ? जस्तो लाग्थ्यो । तर, पनि मैले खेल्न छाडिनँ । राष्ट्रिय प्रतियोगिताहरू खेल्न जाँदाका दुःखेसोहरू अझै ताजा छन् । ११औँ राष्ट्रपति रनिङ शिल्ड जाँदा त बाटोभरि बाढी र पहिरोले बाटो छेकेपछि मुग्लिनको घुमाउरो बाटो हुँदै ३ दिन लगाएर बल्ल काठमाडौँ पुगेका थियौँ । धन्न प्रतियोगिताभन्दा ३–४ दिन अघि हिँडेकाले मात्र समयमा पुग्न पायौँ, नत्र त उपाधि नै जाने थियो ।’

ओसिसको पदक यात्रा ०७० भदौमा झापा जिल्लास्तरीय कराँते च्याम्पियनसिपमा २५ केजी तौल समूहमा स्वर्ण पदक जितेर सुरु भएको थियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । उनले ०७१ मा पहिलो दमक नगरपालिका बाल कराते कप (उपाधिसँगै उत्कृष्ट खेलाडी), पहिलो इन्टरनेशनल कराँते डो च्याम्पियनसिपमा स्वर्ण (२५ केजी), २२औँ झापा जिल्लास्तरीय (स्वर्ण), पहिलो इन्भिटेसन कराँते (स्वर्ण), इन्टर डोजो कराँते (स्वर्ण), प्रथम इटाभट्टा अन्तरनगर (स्वर्ण) र भुटानबाट सहभागी भई तेस्रो माउन्ट एभरेष्ट इन्टरनेसनल कराँतेमा दोस्रो स्थान हासिल गरेकी छिन् ।

यस्तै, ०७४ मा पहिलो र दोस्रो बाह्रघरे जिल्लास्तरीय (स्वर्ण), १२औँ मेचिनगर ओपन (स्वर्ण), तेस्रो टि. एस. राई कप इन्टरनेसनल (स्वर्ण – ४० केजी), पहिलो प्रदेशस्तरीय ओपन (स्वर्ण) पदक जितेकी छन् । यस्तै, ०७५ मा प्रथम आमन्त्रित डोजो (स्वर्ण), पहिलो बिआरसी इन्टरनेसनल सितेरियो (स्वर्ण), पहिलो चीफ मिनिस्टर कराँते प्रदेश १ (स्वर्ण) पदक जितेर उनले आफ्ने खेल इतिहासमा पदकको थपेकी हुन् ।

राष्ट्रपति रनिङ शिल्डको ऐतिहासिक यात्रा

१०औँ राष्ट्रपति रनिङ शिल्डमा नगर, जिल्ला र प्रदेश जित्दै राष्ट्रियस्तरमा दोस्रो भएकी ओसिसले आफ्नो कमजोरी सुधार्दै ११ औँ राष्ट्रपति रनिङ शिल्डमा भने नगर, जिल्ला, प्रदेश हुँदै नेसनल च्याम्पियन (स्वर्ण) बन्न सफल भइन् । प्रदेश १ बाट उनी ‘उत्कृष्ट महिला खेलाडी’ समेत घोषित भइन् । यस सफलता पछाडि रेशा लिम्बू, आशिष राई, डम्बर मुखिया, जीवन गुरु र मिलनराज प्रसाईंजस्ता प्रशिक्षकहरूको कठोर मिहिनेत र बन्द प्रशिक्षण (क्लोज क्याम्प) को ठूलो भूमिका थियो । सफलतापछि उनलाई झापा जिल्ला खेलकुद, दमक सितेरियो कराते संघ र सूर्योदय अंग्रेजी माविले नगदसहित भव्य सम्मान गरेका थिए ।

जब कराँते यात्रा रोकियो

एसईईको तयारीका लागि होस्टल बस्नुपरेकाले र त्यसलगत्तै आएको कोरोना महामारीका कारण खेल जीवनमा केही ग्याप आयो । हाल उनी वाणिज्य बैंकमा इन्टर्नसिप गरिरहेकी छन् र पढाइ सकिएलगत्तै पुनः कराँते हलमा फर्किने योजनामा छिन् । ‘पढाइ बिग्रिने डरले खेलमा पूर्ण फोकस गर्न सकिएन, अनि खेलमा फोकस गर्दा पढाइ छुट्ने चिन्ता सधैँ रह्यो । पहिला–पहिला पनि ट्युसन जाउँ कि कराँते जाउँ भन्ने दोधार हुन्थ्यो,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ त आधा घण्टा कराँते खेलेर दगुर्दै ट्युसन पुग्थेँ । तर, मेरो लक्ष्य अझै सकिएको छैन । नेपालमा भएका अन्तर्राष्ट्रिय गेम त धेरै खेलेँ, अब नेपालको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा राष्ट्रिय झण्डा फहराउने र मेडल जितेर ल्याउने मुख्य सपना छ ।’ तर, खेलकुद क्षेत्रमा देखिएको राजनीतिले उनी चिन्तित छिन् । खेलकुद क्षेत्रमा कुनै प्रकारको हस्तक्षेप नभए मात्र खेलाडीले न्याय पाउने उनको भनाइ छ । ‘खेलकुद क्षेत्र एकदमै स्वच्छ हुनुपर्छ । कतिपय गेममा पक्षपात हुँदा हाम्रा गुरुहरूले आवाज पनि उठाउनुभयो,’ ओसिस भन्छिन्, ‘म चाहन्छु- खेलकुदमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप र पक्षपात नहोस्, खेलाडीले आफ्नो क्षमताका आधारमा न्याय पाओस् ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्