एक वर्षमा ४ वटा लाइसेन्स निलम्बन, ४ वटा प्रक्रियामा

 विर्तामोड ।

लापरवाहीपूर्वक सवारी साधन चलाउने र गम्भीर ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापा निर्मम बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिससहितको कडा कारवाही प्रक्रिया अघि बढाएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै सवारी नियमको गम्भीर अवहेलना र लापरवाही गर्ने ८ जना चालकको लाइसेन्स निलम्बनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएका मध्ये विभिन्न यातायात कार्यालयबाट ४ जना चालकको सवारी चालक अनुमतिपत्र निलम्बन भइसकेको र ४ जनाको निलम्बन प्रक्रियामा रहेको उनले बताए । ‘ट्राफिक नियमको गम्भीर उल्लंघन गर्ने मात्र नभई धेरै पटकसम्म नियम उल्लंघन गर्ने चालकको हकमासमेत लाइसेन्स निलम्बनका लागि सिफारिस गरेका हौँ । यसरी निलम्बन पर्नेमा १० देखि २० पटकसम्म ट्राफिक नियम उल्लंघन गर्नेहरू छन्,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट दुर्घटना खतरा छ । दुर्घटना न्यूनीकरणका लागि हामीले यो कदम चालेका हौँ । यो कारबाहीलाई हामी निरन्तरता दिँदै जान्छौँ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्था छ । ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम चालकले पालन गर्नुपर्ने शर्तहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र छ महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ,’ ऐनको दफा ६० मा भनिएको छ ।

ट्राफिक प्रहरीले कारबाहीमा देखाएको यो निर्ममता, निगरानी र कारवाहीको डरका कारण झापाका सडकहरूमा चालकहरूको व्यवहार र अनुशासनमा उल्लेख्य सुधार आएको ट्राफिक प्रहरीको दाबी छ ।

दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको २ आर्थिक वर्षको तुलनात्मक विवरण अनुसार जिल्लामा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिमा उल्लेख्य कमी आएको छ । सवारी दुर्घटना र सडकमा गुडेका सवारी साधनको संख्यामा केही वृद्धि भए तापनि सडक दुर्घटनामा ज्यान गुमाउने र गम्भीर घाइते हुनेहरूको संख्या केही घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकले पुष्टि गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा झापामा कुल १ हजार २९६ वटा सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष २०८२/०८३ मा आइपुग्दा दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या करिब १९ प्रतिशतले घटेर ७७ जनामा सीमित भएको छ । यस्तै, सडक दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूको संख्यामा पनि २० प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १३९ जना गम्भीर घाइते भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा त्यो संख्या घटेर १११ जनामा झरेको छ । सो अवधिमा सामान्य घाइते हुनेको संख्या भने १ हजार ९३५ बाट बढेर २ हजार ४६४ पुगेको छ । यस्तै, चालु आर्थिक वर्षको साउन महिना र २२ भदौसम्म झापामा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जना गम्भीर र १३१ जना सामान्य घाइते भएको झापा ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी कारवाही र राजस्व संकलनको पाटोले सडकमा सवारी चालकहरू पहिलेभन्दा बढी अनुशासित बन्दै गएको देखाउँछ । आर्थिक वर्ष २०८१/०८२ मा ५५ हजार ८७५ वटा सवारी कारवाहीबाट ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा कारवाही संख्या ५५ प्रतिशतले घटेर २४ हजार ६८० मा झरेको छ । सो वर्ष २ करोड ४३ लाख ७४ हजार ३४ रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक प्रहरीले जरिवना संकलनभन्दा पनि सडक नियम सचेतनामा ध्यान दिएका कारण राजश्व केही घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षको २२ भदौसम्म २ हजार ४९० सवारी साधन कारबाहीमा पर्दा २६ लाख १३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ‘दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम, सम्भावित क्षेत्रमा जनप्रतिनिधि र स्थानीयसँग सहकार्य गरेर ट्राफिक चिह्न राख्ने काम पनि गरेका छौँ । हाम्रो पहिलो प्राथमिकता कारबाही नभई सचेतना जगाउनु हो । तर, सँगसँगै कारबाही पनि गरिरहेका छौँ,’ झापा ट्राफिक प्रहरी प्रमुख राईले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङलाई तीव्रता दिएका छौँ । जिल्लाको विभिन्न ५ स्थानमा सधैँ मापसे चेकिङ गरिरहेका छौँ । यस्तै, सरप्राइज चेकिङ पनि गरिरहेका छौँ ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्