एआई प्रयोग गरेर निर्मित काल्पनिक तस्वीर ।

उपभोक्ताले सहज रूपमा पाउँदैन ग्यास, डिलरमा छैन भण्डारण

दमक ।

बजारमा ग्यास अभाव भइरहेको बेला चालु आर्थिक वर्षको साउन महिनामा मात्रै पूर्वीनाका काँकडभिट्टाबाट २७ लाख ९ हजार २ सय केजी एलपी ग्यास आयत भएको छ ।

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार ४० करोड २० हजार मूल्य बरारबरको ग्यास आयत भएको हो । यो बजारमा ग्यास अभाव नहुँदाको समान्य अवस्थाभन्दा ४० दशमलव १५ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्ष ०८२/८३ को साउनमा बजारमा ग्यास समान्य अवस्थामा हुँदा २० करोड ३ लाख ६ हजार मूल्य बराबरको १९ लाख ३३ हजार १२० केजी एलपी ग्यास पूर्वीनाका हुँदै नेपाल भित्रिएकोे थियो । जबकि गत असारमा पनि ३५ करोड ९ लाख ५३ हजार ९०९ रुपैयाँ मूल्य बराबरको १९ लाख ३९ हजार ६८३ केजी एलपी ग्यास आयत भएको थियो । असार महिनामा भन्दा साउन महिनामा ३९ दशमलव ६७ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । पूर्वीनाका काँकडभिट्टाबाट भित्रिएको यो ग्यास झापाका चार उद्योग मेची, कन्काई, पराजुली र पथिभरा ग्यास उद्योगले खपत गर्दै आएको नेपाल आयल निगम चारआली डिपोले जनाएको छ ।

यी उद्योगले झापासँगै कोशीका अधिकांश जिल्लामा डिलरमार्फत ग्यास वितरण गर्दै आएका छन् । तर, ग्यासको आयत वृद्धि भए पनि उपभोक्ताले भने सहज रूपमा अहिले पनि ग्यास पाउन सकेका छैनन् । डिलरमा ग्यास भण्डारण नभएका कारण उपभोक्ताले चाहेको समयमा ग्यास पाउन सक्दैनन् । उद्योगबाट डिलरमा सको गाडी आएको समयमा उपभोक्ता पुगे भने मात्रै ग्यास पाउने समस्या अहिले पनि कायमै छ ।

दमक ५ का विशाल राईले केही दिनअघि जसोतसो एक सिलिन्डर ग्यास जोहो गरे । घरमा खाना पकाउन नै ग्यास अभाव भएपछि उनले बजार मूल्यभन्दा २ सय बढी तिरेर ग्यास ल्याएको बताउँछन् । ‘घरमा ग्यास नै भएन । खाना खान नै नपाउने भएपछि बाध्य भएर ब्ल्याकको ग्यास ल्याएको हुँ,’ उनी भन्छन्, ‘सधैँभन्दा धेरै ग्यास आएको समाचार हामी पनि सुन्छौँ । सरकार पनि ग्यास अभाव छैन भन्छ । तर, ग्यास कहाँ गयो ? हामी उपभोक्ताले त भनेको समयमा ग्यास पाएका छैनौँ । सरकारले यसको अनुगमन गर्नुपर्दैन ?’

ग्यासकोे आयत वृद्धि भए पनि बजारी क्षेत्रका ग्यास डिलर उपभोक्ताले जति बेलै ग्यास पाउने अवस्था अझै नरहेको ग्यास विक्रेता संघ झापाका उपाध्यक्ष तथा दमकस्थित मेची ग्यासको डिलर सिवानी टे«डर्सका सञ्चालक टंक ढकाल बताउँछन् । ‘पहिलाको भन्दा सहज चाहिँ भएको छ । ग्यासको माग पनि छ । तर, पूरै अभाव चाहिँ छैन । तर, उपभोक्ताले पहिलाको जस्तो जतिबेला आएर लैजान्छु भन्ने अवस्था पनि छैन । हामीले ग्यास भण्डारण गरेर राख्ने सक्ने अवस्था अझै बनेको छैन,’ उनले भने, ‘ग्यास आउने बितिकै सकिन्छ । अब केही हप्तामा नै सहज हुने उद्योगले बताउँदै आएका छन् ।’

झापाको गौरादहस्थित कन्काई ग्यास उद्योगका सञ्चालक जेबी कार्कीले कोशी प्रदेशमा विगतभन्दा ग्यासको अवस्था सहज हुँदै गएको बताए । अहिले नागरिकले ग्यास पाइँदैन कि भन्ने त्रासले घरमा भण्डारण गरेर राख्दा केही लाइन देखिए पनि ग्यास अभाव नभएको बताए । ‘ग्यास पाइँदैन कि भनेर उपभोक्ता आतिए । उपभोक्ताले ग्यास जोहो गरेर धेरैवटा सिलिन्डर घरमा राख्दा माग बढेको छ । अनेपिक्षत रूपमा ग्यासको माग बढ्यो । अहिले ग्यास आयत पनि बढेका कारण अभाव छैन,’ उनले भने, ‘डिलरहरूले स्टक गरेर राख्ने अवस्था चाहिँ आएको छैन । अहिले कोशी प्रदेशमा ग्यासको समस्या आधा हल भएको छ । असोज पहिलो हप्तासम्म सहज हुने अनुमान गरेका छौँ ।’

नेपाल आयल निगम चारआली, झापाका प्रमुख उमेश पोखरेलले झापामा अहिले ग्यासको अभाव नरहेको बताए । ग्यास आयत पनि बढेका कारण झापासहितका पहाडी जिल्लामा बिस्तारै ग्यास सहज बन्दै गएको उनको भनाइ छ । ‘झापामा विगतको जस्तो ग्यास अभाव छैन । हामी अनुगमनमा जाँदा पनि सहज हुँदै गएको पाएका छौँ,’ उनले भने, ‘बिगतमा हामीले दिएको हटलाइन नम्बरमा दिनमा २/३ सय फोन आउँथे । अहिले हप्तामा १/२ वटा आउँछ । यसले गर्दा पनि ग्यास सहज हुँदै गएको अनुमान लगाउन सकिन्छ ।’ सर्वसाधरणले ग्यास पाइँदैन कि भन्ने त्रासमा घरमा भण्डार गरेर ग्यास राख्न खोज्दा झापमा ग्यासका लागि डिलरहरूमा भिड देखिएको उनको दाबी छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्