बर्खा लागेयता मात्रै १३ जना संक्रमित, आधा बढीको मृत्यु
दमक ।
झापा जिल्ला पछिल्लो २ महिनायता जापानी ईन्सेफ्लाइटिस (जेई) को इपिसेन्टर बनेको छ । जेई संक्रमण पुष्टि भएका १३ जना मध्ये ७ जनाको ज्यानगएसँगै झापा जेई संक्रमणको इपिसेन्टरका रूपमा देखापरेको हो । जेई संक्रमण ह्वात्तै बढेको र मानिसको मृत्युसमेत हुन थालेपछि जोखिम न्यूनीकरणका लागि जिल्लामै विशेष खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बर्खायाम सुरुभएसँगै जिल्लाका ९५ जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम (एइएस) देखिएकोमा १३ जनामा जेई पुष्टि हुँदा तीमध्ये ७ जनाको मृत्यु भएको छ ।
जेई संक्रमण पुष्टि भएका मध्ये मेचीनगरका २ जनाको ज्यान गएको छ । अर्जुनधाराका १ जना, बिर्तामोडका १ जना, बाह्रदशीका १ जना, हल्दीबारीका १ जना र भद्रपुरका १ जना गरी ७ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले पुष्टि गरेका छन् । ‘सबै भन्दा बढी संक्रमण देखिएका पालिकामा मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका देखिएको छ । अन्यमा पालिकाहरूमा पनि संक्रमणको जोखिम छ,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दासले भने, ‘संक्रमण पुष्टि र मृत्यु हुनेको संख्या उच्च रहेकाले जेईविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।’
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १५ वटा पालिकाका स्वास्थ्य प्रमुख, १३१ वडाका सबै स्वास्थ्य इन्चार्ज, भ्याक्सिनेटर, चिकित्सक, फोकल पर्सनलगायत प्रदेश र सङ्घबाटसमेत यस कार्यका लागि खटिने छन् । ‘हामीले ५ असोजमा मेचीनगरबाट खोप अभियान सुरु गर्ने तयारी गरेका छौँ । त्यसै दिनबाट पालिकाहरूसँगको सहकार्यमा ८ देखि १० वटा पालिकाबाट खोप अभियान सुरु हुन्छ । ६ असोजबाट सबै पालिकाहरूमा खोप अभियान अगाडि बढ्छ,’ स्वास्थ्य प्रमुख दासले भने, ‘खोप अभियानमा वडाका स्वास्थ्यकर्मीदेखि निर्देशनालय र मन्त्रालयबाटसमेत निर्देशन र अनुगमन कार्य हुन्छ । त्यसकारण जनशक्ति पर्याप्त हुन्छ ।’
स्वास्थ्य कार्यालय झापाका जेई फोकल पर्सन बालकृष्ण भण्डारीका अनुसार जिल्लामा जेई संक्रमणबाट प्रभावित हुने क्रम बढिरहेको अवस्थामा जोखिम न्यूनीकरणका लागि ठूलो संख्यामा नागरिकलाई खोप दिने तयारी गरिएको हो । ५ असोजबाट सुरु भएर १९ असोजसम्म चल्ने खोप अभियानमा ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जनालाई जेईविरुद्धको खोप दिने लक्ष्य राखिएको फोकल पर्सन भण्डारीले बताए । बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत जेईविरुद्धको खोप दिइँदै आए पनि पछिल्लो समय वयस्कमा समेत संक्रमण र मृत्यु देखिएपछि ३० वर्षमाथिको उमेर समूहलाई लक्षित गरी अभियान अघि बढाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।
कोशी प्रदेशमा ११ जनाको गयो ज्यान
कोशी प्रदेशभर बर्खायताको २ महिनामा २६ जनामा जेईको संक्रमण पुष्टि भएको छ । मुख्यतः कोशीको तराईका ३ जिल्ला र १ पहाडी जिल्लामा जेईको संक्रमण बढेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । लक्षण देखिएका ३१३ जनामा गरिएको परीक्षण २६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थीले जानकारी दिइन् ।
मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी र पहाडी जिल्ला इलाममासमेत जेई संक्रमण फेला परेको हो । प्रदेशभरको तथ्यांकअनुसार पछिल्लो पटक जेई संक्रमितमध्ये ११ जनाको ज्यान गइसकेको छ ।
झापामा ७ बाहेक सुनसरीमा ५ जनामा जेई पुष्टि भएकोमा २ जनाले ज्यान गुमाएका छन् भने मोरङमा ९ जनामा संक्रमण देखिएका मध्ये १ जनाको ज्यान गएको हो । मन्त्रालयका अनुसार इलाममा २ जनामा संक्रमण देखिएकोमा १ जनाको ज्यान गएको पुष्टि भएको छ ।
जेई संक्रमण बढ्दो क्रममा छ भने मृत्युका घटना पनि बढेका छन् । तर, लक्षण देखिएका बिरामीको हकमा परीक्षण भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै हुनेगरेको मन्त्रालयकी प्रवक्ता पन्थीको भनाइ छ ।
कमलमा खोपको तयारी तीव्र
आगामी ५ असोजदेखि १९ असोजसम्म सञ्चालन हुने जेई खोप अभियानअन्तर्गत कमल गाउँपालिकामा ३० वर्षमाथिका २६ हजार ४६८ नागरिकलाई खोप लगाउने लक्ष्य राखिए कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहालले जानकारी दिएका छन् ।
यसैबीच अभियानको तयारी तथा व्यवस्थापनको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राई नेतृत्वको उच्चस्तरीय टोलीले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयको स्थलगत निरीक्षण गरिसकेको छ ।
अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालसहितको टोलीले खोप केन्द्रको तयारी, जनशक्ति व्यवस्थापन, खोप तथा आवश्यक सामग्रीको अवस्था र लक्षित नागरिकसम्म सूचना पु¥याउने विषयमा अनुगमन गरेको हो ।
जेईबाट बच्ने उपाय

ईन्सेफ्लाइटिस भाइरसबाट हुने लामखुट्टेबाट सर्ने भाइरल रोग हो । यसले मुख्यतः मस्तिष्कमा सुजन गराउँछ र गम्भीर अवस्थामा मृत्यु वा दीर्घकालीन स्नायुजन्य अपाङ्गता निम्त्याउन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एसियाका धेरै देशमा यो भाइरल ईन्सेफ्लाइटिसको प्रमुख कारण हो । यो संक्रमण प्राय गरी १५ वर्षमुनिका बालबालिकामा देखिन्छ । तर, झापा जिल्लामा १३ जना संक्रमित मध्ये ७ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका अधिकांश मानिस ५० वर्ष माथिका र खोप नलगाएको भेटिएको छ ।
कसरी सर्छ ?
जापानी ईन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । भाइरसको प्राकृतिक चक्रमा सुँगुर तथा पानीमा बस्ने चराहरूजस्ता जनावर र लामखुट्टेबीच संक्रमण कायम रहन्छ ।
संक्रमित जनावरलाई टोकेपछि लामखुट्टे संक्रमित हुन्छ र अर्को मानिसलाई टोक्दा भाइरस सर्न सक्छ । मानिसबाट मानिसमा प्रत्यक्ष संक्रमण हुँदैन र संक्रमित मानिसले लामखुट्टेलाई संक्रमण फैलाउन पर्याप्त भाइरसको मात्रा सामान्यतया उत्पादन गर्दैन । ग्रामीण तथा कृषियोग्य क्षेत्रमा, विशेषगरी धानखेती र सुँगुरपालन हुने स्थानमा जोखिम बढी हुन सक्छ ।
संक्रमणपछि के हुन्छ ?
धेरैजसो जेई संक्रमणमा कुनै लक्षण देखिँदैन वा हल्का ज्वरो र टाउको दुखाइ मात्र हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार करिब २५० संक्रमितमध्ये एक जनामा मात्र गम्भीर संक्रमण विकसित हुन्छ । तर एकपटक ईन्सेफ्लाइटिस् विकसित भएपछि रोग निकै गम्भीर हुन सक्छ । संक्रमित लामखुट्टेले टोकेको समयदेखि रोगको लक्ष्ण ५–१५ दिन लाग्न सक्छ ।
लक्षणहरू
सुरुवाती अवस्थामा अन्य भाइरल ज्वरोजस्तै ज्वरो आउने, टाउको दुख्ने तथा शरीर गल्ने समस्या हुन्छ । त्यसपछि उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी तथा वान्ता, बालबालिकामा पेट दुख्ने वा वान्ता प्रमुख हुन सक्ने हुन्छ । रोग गम्भीर अवस्थामा चेतनाको स्तर घट्नु वा होस कम हुनु, घाँटी कडा हुनु, झट्का, असामान्य व्यवहार, कमजोरी वा पक्षाघात, बेहोस हुने हुन्छ ।
गम्भीर ईन्सेफ्लाइटिस भएका बिरामीमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ । बाँचेकामध्ये करिब ३०–५० प्रतिशतमा दीर्घकालीन स्नायु, संज्ञानात्मक वा व्यवहारसम्बन्धी समस्या रहन सक्छ– जस्तै स्मरणशक्ति तथा बोलीसम्बन्धी समस्या, कमजोरी, सुनुवाई र दृष्टिमा समस्या वा मृगी हुन सक्छ ।
निदान कसरी गरिन्छ ?
ज्वरोसँगै चेतनामा परिवर्तन, झट्का, घाँटी कडा हुने वा अन्य ईन्सेफ्लाइटिसका लक्षण भएका र जेई जोखिम क्षेत्रमा बसोबास वा यात्रा गरेका व्यक्तिमा यसकोे शंका गर्नुपर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार लक्षणअनुसार रोग पहिचान गरेपछि आवश्यक अवस्थामा lumbar puncture गरी सिएसएफ परीक्षण गरिन्छ । JEV–specific IgM antibody,CSF मा IgM–capture ELISA, प्रयोग गरी डाइग्नोसिस पुष्टि गर्न सकिन्छ । अन्य कारणका ईन्सेफ्लाइटिसलाई पनि छुट्याउन आवश्यक हुन्छ ।
उपचार :
विशेष एन्टी भाइरल औषधि छैन । हालसम्म जापानिज ईन्सेफ्लाइटिसका लागि प्रभावकारी specific antiviral treatment उपलब्ध छैन । त्यसैले उपचारको मुख्य आधार specific antiviral treatment हो । गम्भीर बिरामी भएमा तत्काल अस्पताल भर्ना तथा निगरानी र श्वासप्रश्वासको व्यवस्थापन, ज्वरो नियन्त्रण, मृगीको उपचार हुन्छ ।
विश्व स्वास्थ्य संगठनले ईन्सेफ्लाइटिसलाई आपतकालीन अवस्थाका रूपमा लिन्छ । बाँचेकाहरूमा cognitive, motor, speech तथा behavioural समस्या रहन सक्ने भएकाले लामो समयको पुनस्थापना र मनोसामाजिक सहायता पनि महत्वपूर्ण हुन्छ ।
रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय
जापानिज ईन्सेफ्लाइटिसविरुद्ध खोप नै मानवमा रोगको भार घटाउने सबैभन्दा महत्वपूर्ण प्रमाणित उपाय हो । विश्वस्वास्थ्य संगठनले जेई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा पहिचान भएका क्षेत्रमा राष्ट्रिय खोप कार्यक्रममा JE vaccination समावेश गर्न सिफारिस गरेको छ । नेपालमा पनि जेईविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमको महत्वपूर्ण हिस्सा हो ।
लामखुट्टेको टोकाइबाट कसरी बच्ने ?
खोपसँगै व्यक्तिगत सुरक्षाका उपाय पनि अपनाउनुपर्छ । साँझ तथा राति लामखुट्टेको टोकाइबाट बच्ने, झुलको प्रयोग गर्ने, लामो बाहुला भएको कपडा लगाउने, घर वरपर लामखुट्टे वृद्धि रोक्ने र व्यवस्थित रूपमा सुँगुर, बङ्गुर, हांस पालन गर्ने ।
जेईको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा समयमै उपचार गराउन जाने ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।