अहिले पनि आफ्नै लोकतान्त्रिक जनजातीय सरकार छ । राज्यपाल, उप–राज्यपाल एवम्  १३ जनाको विधायिका हुन्छ । ३ जना सर्वोच्च अदालतमा न्यायाधीश निर्वाचित गरिन्छ । चिकासा राष्ट्र अमेरिकी राज्य होइन, तर अमेरिकी सङ्घीय सरकारले मान्यता दिएको स्वशासित जनजातीय राष्ट्र (Sovereign Tribal Nation) हो ।

भवानी बराल

अमेरिकाको संघीय सरकारले ५७५ वटा अर्थात् सङ्घीय रूपमा मान्यता प्राप्त (federally recognized tribes) आदिवासी राष्ट्र/जनजाति/गाउँलाई मान्यता दिएको छ । चिकासा राष्ट्र अमेरिकाका धेरै मूल निवासी/नेटिभ अमेरिकी (Native American) समुदायमध्ये एउटा हो । यो आलेखमा त्यही चिकासा राष्ट्रको मात्र चर्चा गरिनेछ । यसअर्थमा कि मेरो स्थलगत अध्ययनको मेलो यसै समुदायमा मात्र सम्भव भयो ।

तर अन्य प्रमुख नेटिभ अमेरिकी समुदायहरु पनि छन् : चिकासा (Chickasaw)  मूख्यतः ओक्लोहोमा, चेरोकी (Cherokee) ओक्लोहोमा र नर्थ क्यारोलेना, चोक्टो (Choctaw) ओक्लोहोमा र मिसिसिपी, मस्कोगी/क्रीक (Muscogee/Creek) ओक्लोहोमा,  सेमिनोल (Seminole) ओक्लोहोमा र फ्लोरिडा, नाभाजो राष्ट्र (Navajo Nation) एरिजोना र न्यु मेक्सिको, अपाचे (Apache)  एरिजोना, न्यु मेक्सिको र ओक्लोहोमा आदि स्थानमा बसोबास गर्छन् । यसरी नै सिउ/लाकोटा/डाकोटा (Ioux/Lakota/Dakota) साउथ डाकोटा र नर्थ डाकोटा, कोमान्चे (Comanche) ओक्लोहोमा, इरोक्वोइस/हाउडेनोसाउनी (Iroquois/Haudenosaunee) न्युयोर्क असपास, ब्लाकफिट (Blackfeet) मोन्टानामा बस्छन् । यस्तै शोशोनी (Shoshone) नभादा वाओमिङ्, प्युबोलो समुदायहरु (Pueblo) न्यु मेक्सिको,  अलास्काका मूलनिवासी समुदाय (Inuit, Yupik, laeut) र मूल हवाइयन (Hawaiian Native) हवाई आदि क्षेत्रमा बस्छन् ।

तर यी सबै समुदायलाई सोलोडोलो एउटै जाति वा एउटै संस्कृति सभ्यता भएको मान्न मिल्दैन । भाषा, इतिहास, परम्परा, धर्म, भूगोल र राजनीतिक संरचना फरकफरक छन् । ती विषयमा छुट्टै चर्चा हुनेछ । अमेरिकी कानुनमा सङ्घीय रूपमा मान्यता प्राप्त जनजातिहरुलाई केही हदसम्म स्वशासन -Tribal Sovereignty_ को अधिकार पनि छ र उनीहरूको सम्बन्ध अमेरिकी सरकारसँग सरकारदेखि सरकारसम्म -government-to-government_ रूपमा हुन्छ ।

चिकासा राष्ट्र (Chickasaw Nation) जनजातीय समुदायलाई आधिकारिक भाषामा नेशन नै भनिन्छ । नेपाली चल्तीको भाषामा राष्ट्र भनेको देशलाई बुझ्ने गरिन्छ । तर अंग्रेजी भाषामा नेशनको अर्थ कुनै समुदाय विशेषलाई सम्बोधन गर्ने शब्दावली हो । अर्को शब्दमा चिकासा राष्ट्र अमेरिकाको मूलनिवासी (Native American) हो । अर्थात् अमेरिकी जनजातीय राष्ट्रमध्ये एक हो । तर खुदै चिकासा समुदायले आफुलाई ओरिजिनल अमेरिकन वा मूलभूत निवासी भन्न रुचाउँछन् । दोस्रो उनीहरु अंग्रेजी शब्दको ‘इण्डिजिनियस’ भनेको रुचाउँदा रहेछन् । तर अमेरिकी आधिकारिक सरकारी भाषामा ‘अमेरिकी नेटिभ’ भनिदो रहेछ । यी समुदायको मूख्य भू–भाग दक्षिण–मध्य ओक्लाहोमा (Oklahoma) मा पर्छ र यसको ऐतिहासिक क्षेत्र अहिले (Oklahoma) का १३ वटा काउन्टीमा फैलिएको छ ।

विश्व इतिहासमा रेड इण्डियनको नामबाट यी नेटिभ समुदाय परिचित छन् । कोलोम्बस भारत पत्ता लगाउन हिँडेका थिए । तर झुक्किएर अमेरिका पुगेपछि कोलोम्बसले भारतीय नै ठानी ‘रेड इण्डियन’ नाम यी समुदायलाई दिएको भनाइ छ । कतिपय इतिहासकारहरूले करिव (८०००–१००००) वर्ष पहिलेदेखि यी समुदाय अमेरिका बसोबास गर्दै आएको बताएका छन् । जुन समयमा यहाँ अरु समुदाय थिएन । यसर्थ अमेरिकाको आदिवासी समुदाय यिनै रेड इण्डियन हुन ती मध्येका चिकासा एउटा समुदाय हो । प्रकृतिसँग अन्तरङ्ग सम्बन्ध भएका यिनै समुदायले अनेकौं खाद्य पदार्थ यही जङ्गलबाट परिचित गराएर मानव समुदायमा पुर्याएका थिए । मौखिक मुन्धुम अनुसार ब्रह्माण्ड उत्पत्तिसँगै मानव  उत्पत्तिको कथा यिनको रोचक छ । अमेरिकी विश्वविद्यालयमा इतिहासको प्रोफेसर रही आएकी भारतीय मूलकी अर्चना ओझाले नेटिभ अमेरिकनको खोज अनुसन्धानपछि धेरै सम्बन्धहरु बाहिर ल्याएकी छन् । 

उनका अनुसार कोलम्बसले भारत पत्ता लगाएको भए उनीहरुको शोषण भारतीयहरुले खप्नुपर्ने थियो । तर कोलम्बस झुक्किएर अमेरिका आइपुगेकोले हामी पीडित भयौं भन्ने विचार चिकासा राष्ट्र (जाति)को रहेछ । उनीहरू अमेरिकी स्वतन्त्रता गोरा नश्लको मुक्तिसँग मात्र सम्बन्धित रहेको मान्दछन् । सन् १८९० सम्ममा अमेरिकी नेटिभलाई गोरा नश्लको सरकारले जेनोसाइड गर्न कुनै बाँकी नराखेको कुरा पनि ओझाको अध्ययनको विषय रहेछ ।

यो समुदायको ऐतिहासिक थातथलो मिसिसिपी (Mississippi), अलाबामा (Alabama), केन्टकी (Kentucky) र टेनेसी अमेरिका र आदिवासी चिकासा को दक्षिण–पूर्वी क्षेत्र हो । तर यो समुदायलाई पुर्ख्यौली थातथलोबाट जबर्जस्ती ओक्लाहोमा राज्यको दक्षिण–मध्य भूभागमा सारियो । सन् १८३७ पछि उनीहरुलाई जबर्जस्ती इण्डियन क्षेत्र (Indian Territory)  हालको ओक्लाहोमा सारिएको हो । सन् १८५६ मा उनीहरुलाई सम्बोधन गरिएको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको संविधान बनाइयो । र त्यसै अनुरूप अलग्गै सरकार गठन गरियो । अहिले पनि आफ्नै लोकतान्त्रिक जनजातीय सरकार छ । राज्यपाल, उप–राज्यपाल एवम्  १३ जनाको विधायिका हुन्छ । ३ जना सर्वोच्च अदालतमा न्यायाधीश निर्वाचित गरिन्छ । चिकासा राष्ट्र अमेरिकी राज्य होइन, तर अमेरिकी सङ्घीय सरकारले मान्यता दिएको स्वशासित जनजातीय राष्ट्र (Sovereign Tribal Nation) हो । यसको आफ्नै संविधान, सरकार, अदालत र कानून छ । आधिकारिक रूपमा यो सार्वभौम क्षेत्रमा अमेरिकी संघ ओक्लाहोमा राज्य र चिकासा राष्ट्रको झण्डा फहराइन्छ । तर यो अमेरिकी सङ्घीय संरचनाभित्रको विशेष कानुनी हैसियत भएको राष्ट्र हो । एक अभिलेख अनुसार विश्वभर ८१ हजार ५०० भन्दा बढी चिकासा राष्ट्र (जनसंख्या) रहेको बताइन्छ । यो संख्या सन् २०२४ को प्रगति विवरणले अभिलेख गरेको छ । तर २०२६ जुलाई १ सम्म दर्ता भएका तथ्याङ्कमा चिकासाको मतदाता संख्या ४५ हजार ९३३ मात्र छ । यी नागरिकहरु सबै ओक्लोहोमामै बस्दैनन् ।

अमेरिकाका विभिन्न राज्यमा पनि बसोबास गर्छन् । २०२५ को आधिकारिक विवरणअनुसार ४१ राज्यमा ४३ जना नागरिकहरुको सक्रिय बसोबास थियो । त्यसैले चिकासा जाति÷राष्ट्रको जनसंख्या भन्नाले नागरिकता प्राप्त चिकासा मानिसको संख्या करिब ८१ हजार ५०० भन्न मिल्छ ।

चिकासा राष्ट्रको ओक्लोहोमामा रहेको संग्रहालय हेर्ने मौका मिल्यो । संग्रहालयको आँखोदेखा अनुभूतिले यसको अद्वितीय सभ्यतालाई उजार गर्छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्