दमक ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।

मङ्गलबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीको कैद सजाय माफीविरूद्ध परेको रिट खारेज गरिदिएको हो ।

चौधरी टीकापुर हत्याकाण्डको मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय काट्न डिल्लीबजार कारागार बसेका बेला १५ जेठ ०७९ (गणतन्त्र दिवसको अवसर) मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आम माफी पाएर रिहा भएका थिए ।

चौधरीलाई कैद छुट दिइएको सरकारी निर्णयविरुद्ध पीडित शारदा बोहरा कडायतले रिट निवेदन दायर गरेकी थिइन् । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रूपमा चौधरीविरुद्ध कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र उच्चकै फैसलालाई सर्वोच्च अदालतले २ जेठ ०७९ मा सदर गरेको थियो । तर, गणतन्त्र दिवसमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद सजाय छुट माफी पाएका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि असन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।

नयाँ संविधान जारी हुन अघि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते १ बालकसहित सात सुरक्षाकर्मीसहित ८ जनाको बीभत्स हत्या भएको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्