विजय धिमाल
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारी, मोरङले गत वर्षझै याे वर्ष पनि दुईदिने आदिवासी जनजाति फुडफेष्टिबल तथा सांगीतिक/सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
महासंघकाे जानकारी अनुसार जेठ १५ र १६ गते उर्लाबारीमा सांस्कृतिक तथा सामुदायिक कार्यक्रम उर्लाबारी पार्टिप्यालेसमा सञ्चालन हुने जनाएको छ । कार्यक्रममा विभिन्न जातीय समुदायका प्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ ।
जेठ १५ गते शुक्रबार बिहान ११ बजेदेखि उर्लाबारी–६ हाटखाेलाबाट भेला भई बृहत र्यालि, उर्लाबारी चाेक, चिउरामिल, बरगाछी हुदै उर्लाबारी पाटि प्यालेस उर्लाबारी–७ स्थित कार्यक्रम हुनेछ । सो कार्यक्रममा जातीय पहिचान झल्काउने १३ जातिको खाद्य परिकारका स्टल रहने तथा प्रत्येक जातीय संस्थाले आफ्ना मौलिक नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
पहिलाे दिन उद्घाटन, विविध जातिकाे झाकि प्रदर्शन रहेको छ भने दाेश्राे दिन जेठ १६ गते बिहान ११ बजेदेखि उर्लाबारी क्षेत्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थीबीच जातीय पहिचान झल्कने भेषभूषासहित नृत्य प्रतियोगिता आयोजना गरिनेछ ।
साे प्रतियोगितामा प्रथम, दितिय र त्रितियलाई पुरस्कृत गरिने साथै, जातीय भेषभूषासहितको फेसन शो तथा विभिन्न जातीय समुदायका परिकारका स्टलसमेत रहने जनाइएको छ । उर्लाबारीका अध्यक्ष प्रेमबहादुर याख्खाका अनुसार कार्यक्रमले आदिवासी जनजातिको भाषा, संस्कृति, भेषभूषा र पहिचान संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


