कमल ।

झापाको कमल गाउँपालिकामातहतको कमल नगर अस्पतालले सोमबारबाट भिडियो एक्स–रे (युएसजी) सेवाको औपचारिक सुरुवात गरेको छ ।

कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईज्यूले रिबन काटेर भिडियो एक्स–रे सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा पालिकाबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो अध्यक्ष राईले बताए ।

स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुरूप कमल नगर अस्पतालका सेवा, सुविधा क्रमशः विस्तार गर्दै लगिएको राईको भनाइ थियो । ‘आवश्यक विशेषज्ञ सेवाहरू थप गर्दै नागरिकलाई सहज, सरल, भरपर्दाे र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हाम्रो प्रतिबद्धता हो,’ उनले भने, ‘गर्भवती महिला र भिडियो एक्स–रे आवश्यक पर्ने सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा लिएका छौँ ।’

सेवा शुभारम्भ कार्यक्रममा अध्यक्ष राईसहित प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपकप्रसाद दहाल, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलकचन्द्र लावती, अस्पताल प्रशासन प्रमुख कुशल श्रेष्ठ, रेडियोलोजिस्ट डा. देव कृष्ण यादवलगायत पालिका, अस्पताल तथा स्वास्थ्य शाखाका कर्मचारीहरू, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरू र सेवाग्राही सहभागी थिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्