दमक ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्य शक्तिलाई केन्द्रिकृत गर्ने वर्तमान सरकारको कार्यले सर्वसत्तावाद र अधिनायकवाद मौलाएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भने, ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो। यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्यमान्यतालाई नै समाप्त पार्छ ।’

विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारुलगायतका आन्दोलनबाट प्राप्त सङ्घीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको आरोप लगाउँदै यादवले ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि अग्रगामी मोर्चा बनाउनुपरेको स्पष्ट पारे ।

‘मोर्चा संघर्षका लागि । संघर्ष स्वतन्त्रता, समानता, सामाजिक न्यायका लागि हो,’ यादवले भने, ‘अग्रगामी आन्दोलनको अर्थ– नेपाली समाजमा युगैदेाि कायम रहेको सामाजिक, आर्थिक असमानता, विभेद, शोषण, उत्पीडिनलाई अन्त्य गर्ने ।’

हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताए । पूर्वमन्त्रीसमेत रहेका ठाकुरले सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने जिकिर गरे । उनले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै सत्ताप्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढामेढा बाटो’ पार गर्नुपर्ने दावी गरे ।

‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा डर्टी गेम हो,’ ठाकुरले भने, ‘यसमा अष्टावक्रझैँ टेढामेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको दावी गरे । अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रस्ट पारेका थिए ।

सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि यो मोर्चा गतिशील रहने दावी गर्दै उनले समाजमा विद्यमान सबै प्रकारका भेदभाव र छुवाछूत अन्त्य गर्दै सामाजिक न्याय कायम गर्ने लक्ष्य मोर्चाले लिएको जिकिर गरे ।

मोर्चाले स्थानीय तहलाई प्रदेशमातहत ल्याउनका लागि सङ्घर्ष गर्ने रणनीति बनाएको बताउँदै शर्माले त्यसका निम्ति संविधान संशोधन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गरी उनीहरूका समस्या स्थायी रूपमा समाधान गर्न अग्रगामी मोर्चाले पहल गर्ने दावी गरे ।

मोर्चाको साङ्गठनिक संरचना जिल्ला र प्रदेश तहसम्म विस्तार गरिने तथा आवश्यकताअनुसार भातृसङ्गठनहरू समेत गठन गरिने प्रस्तुत अवधारणा पत्रमा उल्लेख छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको जिकर गरे । मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष राउतले देश सङ्कटमा परेकोले यो कदम चालिएको बताए ।

जबजब देशमा सङ्कट आएको छ, तबतब राजनीतिक शक्तिहरू एकीकृत भएको स्मरण गराउँदै उनले ०७ सालअघि वा पछि पनि यसरी नै सङ्गठित भएर अगाडि बढेको जिकिर गरे ।

मोर्चाको उद्देश्यबारे प्रष्ट पार्दै राउतले भने, ‘मोर्चा सङ्घर्षका लागि बनेको हो, सत्ताका लागि होइन । अधिकारका लागि यो मोर्चा गठन भएको हो, यसले जनताको अभिभावक भएर काम गर्नेछ ।’

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन सङ्कटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता परेकाले अग्रगामी मोर्चा गठन भएको दावी गरे । अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै साहले तिनलाई तोड्न मोर्चा गठन भएको स्पष्ट पारे । ‘सत्ता प्राप्ति वा पदको भागबन्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु यो मोर्चाको उद्देश्य हो,’ उनले भने, ‘यो मोर्चा हिमाल, पहाड र मधेसको साझा प्लेटफर्मका रूपमा रहनेछ ।

सरकार र सत्ता फेरिए पनि काम गर्ने संस्कार र प्रवृत्ति नफेरिएको भन्दै साहले वर्तमान सरकारले जनतालाई ढाँटेको आरोपसमेत लगाए । उनले भने, ‘देश निरन्तर सङ्कटको यात्रामा छ । ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो । तर जनताले अपेक्षा गरेको सुखद दिन अझै आउन सकेको छैन ।’
नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाए ।

निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढङ्गले सञ्चालन गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको उल्टो देखिएको चौधरीको आरोप थियो ।

नागरिकमाथि करको भार थोपरेको आरोप लगाउँदै उनले सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्न सरकारलाई नसहाउने जिकिर गरेका थिए ।

गाउँका किसान धान न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको भन्दै चौधरीले चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गरे पनि बिचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको आरोप लगाए ।
देशमा सुशासन हुन्छ, अनलाइनबाट देश चल्छ भने पनि अहिले देश ग्यासको लाइनबाट चल्ने अवस्थामा पुगेको उनले बताए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरे ।
अध्यक्ष परियारले वर्तमान सरकार जनभावनाविपरीत र विचारविहीन भएकोसमेत टिप्पणी गरे । युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको उनले स्पष्ट पारे ।

सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उनले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्ने जिकिर गरे । मधेस र पहाडबीचसद्भाव मात्र नभई ‘समभाव’को आवश्यकता रहेको औँल्याँदै परियारले गरिब, सुकुम्बासी, मजदुर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए । समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्त्वपूर्ण हुने भन्दै उनले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरीलगायतका नेताहरूले गरेको सङ्घर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने जिकिर गरे ।

सत्ताको बलमा रहेको वर्तमान सरकारले बिगतमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै परियारले भने, ‘सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन । आवधिक निर्वाचनबाट आएको ५ वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्थाहरू र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन ।’

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिनका लागि अग्रगामी मोर्चा गठन गरिएको बताए ।

अन्सारीले उत्पीडित समुदायको हकअधिकार रक्षाका लागि मोर्चा बनेको स्पष्ट पार्दै विगतमा भएका गल्ती र कमीकमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नयाँ शक्तिहरूतर्फ लक्षित गर्दै उनले भने, ‘पुरानो दलले केही गरेको छैन भनेर जसले भनिरहेका छन्, तिनलाई म भन्न चाहन्छु कि आज जनताको छोरा राष्ट्रपति बन्नुभएको छ, त्यो पुरानै दलका कारणले भएको हो ।’ देशमा आएको राजनीतिक परिवर्तन र उपलब्धिहरू पुरानै दलहरूको सङ्घर्षको परिणाम भएको अन्सारीको भनाइ थियो ।

विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा वक्ताहरुले देशको बिग्रँदो राजनीतिक परिस्थितिका कारण निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट बनाउन मोर्चाको अपरिहार्यता रहेको जिकिर गरेका थिए । सत्तास्वार्थलगायतबाट मुक्त रहने र नेपाली राजनीतिको विकृति अन्त्य गर्ने ऐतिहासिक अभिभाराका साथ मोर्चा गठन भएको र यसलाई लामो समय टिकाइने उनीहरुको प्रतिबद्धता थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्