दमक ।

नेपालको कमजोर सुरक्षा निगरानीको फाइदा उठाउँदै ५०० बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको तथ्य बाहिरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार खुला सीमाना र प्रविधियुक्त सुरक्षा निगरानीको चुस्त व्यवस्था नहुँदा ५ सय २६ जना रोहिङ्ग्या शरणार्थी नेपाल छिरेका हुन् ।

‘खुला सीमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ,’ शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले भने, ‘विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ ।’

उनीहरू विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।
यसरी प्रवेश गरेका मध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका रहेका छन् ।

हाल उनीहरू काठमाडौंको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीको भनाइ छ ।

सीमा क्षेत्रका प्रहरीलाई रोहिङ्ग्या शरणार्थीको अवैध प्रवेश रोक्न आवश्यक निर्देशन दिइएको प्रवक्ता काफ्लेको भनाइ छ ।

को हुन् रोहिङ्ग्या ?

रोहिङ्ग्या शरणार्थी मुख्यतः म्यानमारको राखिन राज्य (पुरानो अराकान) मा पुस्तौंदेखि बसोबास गर्दै आएका पृथक भाषा, संस्कृति र पहिचान बोकेका मुस्लिम धर्म मान्ने मानव समुदाय हुन् । तर उनीहरूलाई म्यानमार राज्य र सरकारले राष्ट्रिय जातीय समुदायका रूपमा स्वीकार गरेको छैन ।

जसका कारण उनीहरूमाथि हिंसा र उत्पीडन छ । यो समुदायले सन् १९८२ पछि बनेको नागरिकता कानुनका कारण म्यानमारको नागरिकता पाएका छैनन् । उनीहरूमाथि आवागमन, शिक्षा, स्वास्थ्य, विवाह लगायतका क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाइएको छ ।

सन् २०१७ मा म्यानमार सेनाको सैन्य कारबाहीपछि लाखौं रोहिङ्ग्या आफ्नो घर छोडेर भाग्न बाध्य भए ।
शरणार्थीका रूपमा म्यानमारदेखि बंगलादेशको कक्स बजार क्षेत्रका शरणार्थी शिविरमा बसिरहेका रोहिङ्ग्या शरणार्थी लुकिछिपी नेपाल प्रवेश गर्दै आएका हुन् ।

उनीहरूमध्ये केही भारत, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र अन्य मुलुकहरूमा पुगेका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्