अध्यक्ष राईको पहलमा रेडियोलोजिष्टसँग सम्झौता

कमल ।

झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पतालले साउन २५ गतेदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा उपलब्ध गराउने भएको छ ।

बुधबार सो सम्बन्धि सेवाप्रदायक पक्षसँग गाउँपालिकाले लिखित सम्झौता गरेको हो । विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे सेवा सञ्चालनका लागि आम्दा मेची अस्पतालका रेडियोलोजिष्ट डा. देवकृष्ण यादव र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईबीच सम्झौता भएको हो ।

कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका राईको सक्रियतामा थपिएको स्वास्थ्य सुविधाअनुसार अब कमल अस्पतालबाट हरेक सोमबार र बिहीबार भिडियो एक्स–रे सेवा उपलब्ध हुनेछ ।
विशेषज्ञ रेडियोलोजिष्टबाट नियमित सेवा उपलब्ध भएपछि गर्भवती महिला तथा अन्य बिरामीलाई भिडियो एक्स–रेका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुनुका साथै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर मिल्ने अध्यक्ष राईले बताए ।

बुधबार पालिका र अस्पताल पक्षबीच भएको सम्झौताका क्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलकचन्द्र लावती, प्रशासन प्रमुख कुशल श्रेष्ठलगायत सहभागी थिए ।

स्वास्थ्य सेवामा निरन्तर विस्तार

अध्यक्ष राईको पहलमा कमल नगर अस्पतालले पछिल्लो समय विभिन्न विशेषज्ञ तथा विशिष्ट स्वास्थ्य सेवाहरू विस्तार गर्दै लगेको अस्पतालले जनाएको छ ।

अस्पतालमा यसअघि दमक अस्पताल एण्ड रिसर्च सेन्टरबाट दन्त सेवा, मेची आँखा अस्पतालबाट दैनिक आँखा सेवा र विराट टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबाट मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन हुँदै आएको छ ।
यससँगै अब विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे सेवा पनि थपिएपछि अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा अझ फराकिलो भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्