साप्ताहिक बहस ।
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा, जसलाई ‘निम्स दाइ’ उपनामले पनि चिनिन्थ्यो । खासगरी हिमाल आरोहणको कीर्तिमानीका लागि विश्वले चिनेको उनै निम्स दाइलाई हिमालले नै लुकायो, सदा सदाका लागि । गत बिहीबार पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका लागि आधार शिविर नजिकै रहेका उनीसहितको १० जनाको आरोहरण दललाई भयानक हिमपहिरोले खर्लप्पै निल्यो ।
ब्रोड पिक चढ्न १० सदस्यीय आरोहण टोलीसहित गएका उनी भीषण हिमपहिरोमा परी अस्ताएका हुन् । बेलायती सेनाको स्पेशल बोट सर्भिसका पूर्वसैनिकसमेत रहेका पुर्जाले २३ अप्रिल ०१९ मा अन्नपूर्ण हिमालबाट आफ्नो अभियान सुरु गरेका थिए । त्यसपछि २९ अक्टुबरमा शिशापाङ्मा हिमाल चढेर उनले १ सय ८९ दिन (६ महिना ६ दिन) मै विश्वभर अवस्थित सबै १४ वटा ८ हजार मिटरमाथिका हिमाल चढेर विश्व कीर्तिमान बनाएका थिए ।
हिमाल आरोहणमा कीर्तिमानी बनाएका पुर्जाका लागि छैंठीले हिमालमै अनन्त बासको नियति लेखेकोले होला, पिक हिमालको हिमपहिरो नै उनको ४३ वर्षे जीवनयात्रालाई सदाका लागि विराम दियो ।

पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पाको हिमपहिरोमा परेर दुःखद् निधन भयो । उनीहरुसँगै ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङ पनि थिए ।
२५ जुलाईसम्ममा विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहण गर्ने योजनामा रहेको पुर्जाको टिम बाहेक बेस क्याम्पमा रहेका अधिकांश आरोहण टोली मौसम प्रतिकुलताका कारण फर्किसकेका थिए । निम्स दाइ र उनको कम्पनी एलिट एक्स्पेडको टोली आधार शिविर नजिकै थियो । अरु टोली आधार शिविर छोडेर फर्किए, तर पुर्जाको टोलीले त्यहीँ बस्ने निर्णय किन गरे ? सायद जीवनको अन्तिम क्षणमा उनीहरुलाई हिमालले मोहित पारेको थियो । तर, त्यसको परिणाम अत्यन्त दुःखद बन्न पुग्यो ।
३० जुलाई अर्थात् गत बिहीबार बिहान पाकिस्तानी समयअनुसार करिब ९ बजे ब्रोड पिकको पश्चिमी मुख्य कुलो क्षेत्रमा भीषण हिमपहिरो आयो । यसमा १० जना पर्वतारोही बगे । केही स्थानमा उनीहरू झण्डै १.६ किलोमिटर ठाडो दूरीसम्म तल खसेको बताइएको छ ।
घटनालगत्तै उद्धार तथा खोजी अभियान सुरु गरियो । सुरुमा उद्धार टोलीले केहीलाई जीवित भेटिने आशा गरेको थियो । हिमपहिरोमा परेका केही आरोहीको अवस्था सुरुवाती चरणमा अझै स्पष्ट हुन सकेको थिएन । तर पाकिस्तानको अल्पाइन क्लबले शुक्रबार ओमानकी पर्वतारोही नधिरा अल–हार्थी र नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’को शव फेला परेको पुष्टि गरेको थियो ।
त्यसको भोलिपल्ट शनिबार एलिट एक्स्पेडले निर्मल पुर्जा र अर्का पर्वतारोही एवं गाइड निमा शेर्पाको पनि हिमपहिरोमा निधन भएको पुष्टि गरेको थियो । टोलीमा निर्मल पुर्जाको नेतृत्वमा रहेका ५ जना नेपाली पर्वतारोही, मुभिङ माउन्टेन्सका पाकिस्तानी माउन्टेन गाइड सोहेल साखी, ओमानकी पर्वतारोही नधिरा अल–हार्थी, अमेरिकी पर्वतारोही म्यालोरी गाइस, वाङ नामले चिनिएका एक चिनियाँ पर्वतारोही र अर्का एक विदेशी सदस्य थिए ।
ब्रोड पिक आरोहणअघि इन्स्टाग्राममा सार्वजनिक गरेको सन्देशमा पुर्जाले ब्रोड पिक आफ्नो अभियानमा अन्तिम समयमा थपिएको हिमाल भएको बताएका थिए । अर्थात्, ब्रोड पिक उनको सुरुवाती योजनामा थिएन । तर, अन्तिम समयमा यो हिमाल पनि थपे । आफ्नो सन्देशमा उनले लेखेका थिए, ‘ब्रोड पिक, म तिमीसँग सुरक्षित रूपमा माथि पुग्न र सुरक्षित रूपमा फर्किन पाऊँ भन्नेबाहेक अरु केही माग्दिनँ ।’
उनले आफ्नो अभियानलाई ‘प्रोजेक्ट पसिबल’ नाम दिएका थिए ।
पछि यही अभियानमाथि आधारित नेटफ्लिक्सले ‘१४ पिक्स नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र नै बनायो । त्यसपछि निर्मल पुर्जा स्ट्रिमिङ युगका पहिलो विश्वव्यापी चर्चित पर्वतारोही बने । उनले हिमाली व्यवसायिक पर्वतारोहणको स्वरूपमै ठूलो परिवर्तन ल्याएका थिए ।
योभन्दा अगाडि अधिकांश आरोहीले एक सिजनमा एउटा मात्र हिमाल चढ्ने चलन थियो । तर, पुर्जापछि धेरै व्यावसायिक आरोहण टोलीले एउटै सिजनमा लगातार धेरै हिमाल आरोहण गर्ने, गराउने अभ्यास सुरु गरे, जसमा पुर्जा र उनको शेर्पा टोलीले महत्त्वपूर्ण भूमिका खेले ।
उनको जन्म ९ साउन ०४० मा म्याग्दीको धौलागिरी क्षेत्रमा पर्ने दाना गाउँमा भएको थियो । हाल सो ठाउँ अन्नपूर्ण गाउँपालिकामा पर्छ । निम्स दाइको निधन पुष्टि भएपछि गाउँपालिकाले शोक बिदा घोषणा गरेको थियो । ४ वर्षको उमेरमा परिवारसँगै चितवन सरेका पुर्जाको बाल्यकाल चितवनमै बित्यो । उनीआफैँले विभिन्न अन्तर्वार्ता र आफ्नो पुस्तक ‘बियोन्ड पोसिबल’ मा आफ्नो परिवार निकै गरिब रहेको उल्लेख गरेका छन् । उनका बुबा पूर्वगोरखा सैनिक थिए । आमा खेतीपाती गर्ने सामान्य परिवारकी थिइन् । बुबा–आमाको अन्तर्जातीय विवाह भएको थियो । यही कारण दुवै परिवारबाट सामाजिक, आर्थिक सहयोग नपाएको र निकै कठिन अवस्थामा हुर्किनुपरेको उनले बताएका थिए ।
किशोरावस्थामा उनी ब्रिटिस गोर्खामा भर्ती भएर बेलायत पुगे । पछि बेलायती सेनाको स्पेसल बोट सर्भिसमा काम गर्ने अवसर पाएका थिए । जहाँ छानिने उनी पहिलो गोर्खाली थिए । बेलायतमा लामो सैनिक सेवापछि उनले बेलायती नागरिकता पाएका थिए । भने ९ नोभेम्बर ०२३ देखि उनले नेपालको गैरआवासीय नेपाली नागरिकता पनि पाएका थिए ।
उनका तीनै जना दाजु गोरखा सैनिक बनेका थिए र उनीहरूले निर्मललाई अंग्रेजी माध्यमको बोर्डिङ स्कूलमा पढाएका थिए ।पुर्जाकी श्रीमती सुची पुर्जा निर्मलको अभियानमा सक्रिय थिइन् । उनीहरूकी एक छोरी हिमानी पुर्जा छिन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।