परम्परागत र भरपर्दो उपचार पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्साप्रति पछिल्लो समय नागरिकको आकर्षण र विश्वास बढेको छ । विशेष गरी नसर्ने तथा जीवनशैलीजन्य रोगहरूको जरैदेखि उपचार हुने भएकाले पनि कोशी प्रदेश सरकारले झापाको कमल गाउँपालिकामा सञ्चालन गरेको प्रादेशिक आयुर्वेद अस्पतालमा बिरामीको चाप दिनानुदिन बढ्दो छ । १५ भदौ ०७९ देखि ओपिडी सेवाबाट सुरु भएको यस अस्पतालले हाल आकस्मिक (इमेरजेन्सी), काय, शल्य चिकित्सक, पञ्चकर्म र फिजियोथेरापीजस्ता महत्वपूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । जनशक्ति नहुँदा ५० शैय्याको यो अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न भइरहेको सास्ती, अनेक चुनौती, निःशुल्क तथा सहुलियतपूर्ण औषधि वितरणको अवस्था, र अस्पताललाई आगामी दिनमा शैक्षिक शिक्षालयका रूपमा विकास गर्ने सरकारको भावी योजनालगायत सन्दर्भमा अस्पतालका निर्देशक डा. रवीन्द्र निरौलासँग सप्ताहिक बहसले गरेको कुराकानी –
आयुर्वेद अस्पतालको अवस्था कस्तो छ ?
आयुर्वेद अस्पताल प्रदेश सरकारले सञ्चालन गरेको हो । यो बिगत ४ वर्षदेखि सञ्चालनमा छ । १५ भदौ ०७९ मा सञ्चालनमा आएको हो । सुरुवाती चरणमा ओपिडीबाट सेवा सुरु गरेका थियौँ । अहिले इमेरजेन्सी सेवा पनि सुरु भएको छ । विशेषतः काय र शल्य चिकित्सक्य सेवा छ । ५ वटा विषेशज्ञ सेवा दिनुपर्ने हाम्रो मापदण्डले भने पनि विशेषज्ञ चिकित्सकको अभावले सम्भव भएको छैन । शल्य चिकित्सकको अभाव भए पनि मासिक रूपमा अन्य ठाउँबाट विशेष चिकित्सकलाई बोलाएर पनि सेवा दिइरहेका छौँ । अस्पतालमा नियमित आउने बिरामीका लागि हामीले पूर्वकर्म, पञ्चकर्मच र फिजियो थेरापी, ल्याब, इसिजीलगायत सेवा दिइरहेका छौँ । सशुल्क तथा निःशुल्क फार्मेसी सेवा पनि दिइरहेका छौँ । ३५ थरीका औषधि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ । सशुल्क पनि सहुलियत दरमा औषधि दिइरहेका छौँ ।
अस्पतालमा बिरामीको चाप कस्तो छ ?
हाम्रो अस्पतालमा दीर्घ प्रकृतिको रोगको उपचार गर्न आउनेको संख्या धेरै छ । नसर्ने रोगहरू तथा जीवनशैलीजन्य रोगहरूमा आयुर्वेद पद्धति उत्कृष्ट उपचार पद्धति भएकाले यसमा सेवाग्राहीको आकर्षण छ । नसर्ने र जीवनशैलीजन्य रोगहरू अहिले कसै न कसैलाई छ । व्यस्त जीवनशैलीका कारण पनि रोग देखिएका छन् । यसका लागि आयुर्वेद पद्धति नै उपयुक्त हो । यसलाई जरैबाट निराकरण गर्न सकिन्छ । नियमित रूपमा दैनिक ५० देखि ६० जना बिरामी आउनु हुँदैछ । सेवाहरू दिनदिनै बढ्ने अवस्था छ । कुनै विशेष कार्यक्रमका दिन त २५ सयदेखि ३ हजारसम्म सेवाग्राही आउनु हुने गरेको छ ।
आयुर्वेद सेवाप्रति नागरिकको विश्वास कस्तो पाउनुभएको छ ?
आयुर्वेद सेवाप्रति नागरिक विश्वासको अकर्षण बढ्दो छ । यो चिकित्सा प्राणलीबाट उपचार गराउँदा आफूमा देखिएको समास्याको स्थायी समाधान हुन्छ । रोगको जरैदेखि उपचार हुन्छ भन्ने विश्वास नागरिकले गरेको पाएको छु ।
कस्ता प्रकारको रोगका बिरामी अस्पतालमा धेरै आइरहनुभएको छ ?
पाचन प्रणाली सम्बन्धिका समस्याहरू लिएर धेरै बिरामी आउनुहुन्छ । यस्तै, हाड र नसा सम्बन्धिका बिरामीहरू धेरै आउनुहुन्छ । फिजियोथेरापी सेवा भएकाले अन्य अस्पतालबाट रेफर लिएर आइरहनुभएको छ ।
प्रादेशिक अस्पताल हो । यो अस्पताल २४ घण्टा चल्ने गरी स्थापना भएको हो । अहिले २४ घण्टा चल्न सकेको छ कि छैन ?
५० शैय्याको अस्पताल पूर्ण क्षमतामा चलाउन मापदण्डले १५० जना जनशक्ति आवश्यक पर्छ । पूर्णरूपमा चलाउन अहिले भएको जनशक्ति पर्याप्त छैन । त्यति हुँदाहुँदै पनि भइरहेको जनशक्ति परिचालन गरेका छौँ । अहिले बिरामी भर्ना हुनुपर्दा भर्ना पनि गरेका छौँ । मासिक रूपमा दिने विशेषज्ञ सेवामा बिरामीलाई भर्ना गरेर २४ घण्टा नै सेवा दिइरहेका छौँ । ५० वटै बेडमा बिरामी राखेर उपचार गर्न चाहिँ हामीलाई चुनौती छ । पर्याप्त जनशक्ति पाएको खण्डमा अस्पतालले एकै पटक ५० बेडमै बिरामी राखेर उपचार गर्न सक्छ ।
यो अस्पताल प्रदेश सरकारको उपेक्षामा प¥यो भन्ने जनगुनासो छ नि ?
प्रदेश सरकारको उपेक्षामा पर्योभन्दा पनि गर्न त खोजी नै रहेको छ । विभिन्न कार्यक्रममार्फत, अस्थायी दरबन्दीमार्फत जनशक्ति दिइरहेको छ । तर, त्यो पर्याप्त छैन । हामीले अपेक्षा गरेअनुसार जनशक्ति चाहिँ पठाउन सकेको छैन कि भन्ने हामीलाई लागेको छ । तर, उपकरण र सामग्रीका हिसाबले प्रदेश सरकारले नियमित नै सहयोग गरिरहेको छ ।
अस्पतालको फार्मेसीमा औषधिहरू कति पर्याप्त छन् ?
सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधि दिइरहेका छौँ । यसपटक औषधिको अभाव छैन । सशुल्क पाउने औषधि पनि अस्पतालको फर्मेसीमा सहुलियतमा बिरामीलाई उपलब्ध भइरहेको छ । सबै औषधि हामीले फार्मेसीमा राख्न सकेका छैनौँ । केही औषधि बाहिरबाट ल्याउनुपर्ने अवस्था पनि छ ।
प्रदेशिक अस्पताललाई अयुर्वेदिक शिक्षालयका रूपमा सञ्चालन गर्ने भनिएको थियो नि ?
यसपालिको नीति तथा कार्यक्रममा यसमा शैक्षिक कार्यक्रमको तयारी गर्ने भनेर भनिएको छ । सहकार्यको मोडलमा अघि बढ्ने सरकारको नीति भएकाले त्यहीअनुसार अघि बढ्ने योजना छ ।
सङ्घीय सरकारले चाहिँ कस्तो सहयोग गरेको छ ?
सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अस्पताल हो । तर, पनि सङ्घीय सरकारले सशर्त अनुदानमार्फत सहयोग गरिरहेको छ । अस्पतालको सुदृढीकरणका लागि सङ्घीय सशर्तअनुदानमार्फत बजेट प्राप्त हुने गर्दछ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।