स्ट्रेट अफ हर्मुज (इरानी जलमार्ग) प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारमा तेल निर्यातको विषयलाई लिएर इरान–अमेरिका युद्धविराम नै भङ्ग हुन पुगेको छ । गत जुनमा भएको दुई देशबीचको वार्ताबाट समाधान खोज्ने र युद्ध टुङ्ग्याउने प्रतिबद्धता तोडिएसँगै एकले अर्को मुलुकका सामरिक क्षेत्रमा आक्रमण नै गरागर गरेका छन् । पछिल्ला दिनमा युद्धरत मुलुकहरुका बीचमा पुनः चर्किएको युद्धको प्रभाव फेरि विश्व बजारमा नराम्ररी पर्ने गम्भीर आशंका गरिएको छ ।

स्ट्रेट अफ हर्मुज (इरानी जलमार्ग)बाट पास भइरहेका पानीजहाजमा इरानी पक्षले आक्रमण गरेको विषयले दुई मुलुकबीच फेरि आमने–सामनेको अवस्था सिर्जना भएको हो । इरानले व्यावसायिक जहाजहरूलाई अनधिकृत रुट प्रयोग गरेको अरोपमा जुलाई ६ र ७ तारिकमा आक्रमण गर्दै भनेको छ कि– ‘अनधिकृत रुट प्रयोग नगर्न चेतावनी दिइएको हो ।’ इरानको यसै आक्रमणको जवाफी आक्रमण भन्दै अमेरिकी सेनाले इरानभित्र रहेका विभिन्न सैन्य ठेगानाहरूमा नयाँ चरणको आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले यस अपरेशनका क्रममा इरानका दर्जनौं ठेगानाहरूमा बमबारी गरिएको दावी गरेको छ । सेन्टकमले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति नै जारी गरेर स्ट्रेट अफ हर्मुज भई आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूमाथि इरानले गर्दै आएको आक्रमण गर्ने क्षमतालाई कमजोर बनाउन यो कारबाही गरेको भन्दै आफ्नो कदमलाई सही ठहर्याउने कोसिस गरेको छ । यसले पछिल्लो कारबाही सञ्चालन गर्दा अत्याधुनिक हातहतियार प्रयोग गरेको स्पष्ट पारेको छ । अमेरिकी फाइटर जेट, नौसैनिक जहाज र ड्रोनहरूले इरानको एयर डिफेन्स सिस्टम, तटीय राडार प्रणाली र साना लडाकु डुङ्गाहरूमाथि आक्रमण गरेका बताइएको छ । उसले यो कदमलाई ‘नयाँ चरणको आक्रामक हमला पूरा गरेको’ दावी गरेको हो ।

अमेरिकी दावी अनुसार स्ट्रेट अफ होर्मुजबाट हुने अन्तर्राष्ट्रिय पानीजहाजको आवतजावतमा इरानले गर्दै आएको आक्रमणलाई रोक्न यस्तो कदम चालिएको भनिए तापनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफ दिने क्रममा अमेरिकी सैन्य अखडा रहेका पूर्वी एसियाका मुलुकहरु कुबेत, बहराइन, ओमान, जोर्डनमा मिसाइल र ड्रोन आक्रमण गरेपछिको स्थिति युद्धविराम भङ्ग हुने अवस्थामा पुगेको देखिन्छ ।

आईआरजीसीले पहिलो चरणअन्तर्गत जोर्डनस्थित प्रिन्स हसन हवाई अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । त्यस आक्रमणले हवाई अखडाको इन्धन भण्डार र हतियार गोदाममा आगो लागेको थियो । यसबाट इरानले स्पष्ट संकेत गरेको छ कि सबै अमेरिकी आक्रमणको जवाफ प्रत्याक्रमणबाट इरानले दिनेछ । आईआरजीसीको दोस्रो आक्रमण बहराइनको सेख इसा हवाई अखडाका भयो । जसबाट विभिन्न संरचना ध्वस्त पारिएको दावी उसले विज्ञप्तिमार्फत गरेको छ । विज्ञप्तिमा आईआरजीसीले आफ्नो एयरोस्पेस बलले हेलिकोप्टर मर्मत केन्द्र, पी–८ विमान राखिने ह्याङ्गर र अमेरिकी सेनाको ड्रोन कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा प्रहार गरेको जिकिर गरेको हो । अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीको जवाफमा इरानले यस किसिमको आक्रमण गरेको र यो क्रम जारी रहने इरानी चेतावनी छ ।

इरानको नुर न्युज एजेन्सीले पनि इरानी सेना र आईआरजीसीले ‘क्षेत्रीय रूपमा रहेका सत्रुहरूका अखडामा’ ठुलो परिमाणमा क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको बताइएको छ । इरानी दावीअनुसार अमेरिकी आक्रमणको ४८ घण्टा नबित्दै ‘सत्रुका गतिविधि’ पहिचान गरिएका स्थानहरूलाई लक्षित गर्दै कारबाही अघि बढाइएको भनेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित रिपोर्टहरुमा उल्ल्ेख छ ।

इरानले पछिल्लो अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु भएको र ११५ जना घाइते भएका जानकारी दिएको छ । जसको बदलामा खाडीमा रहेका अमेरिकी साझेदारहरूमाथि कडा आक्रमण जारी राखिने जनाएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा इरानबाट भएको हमलाका कारण युद्धविराम समाप्त भएको घोषणा गरेका थिए । जसको प्रतिक्रिया स्वरूप दुवै मुलुकबाट आपसी आक्रमणका घटना भएका हुन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले भने अमेरिकाले युद्धविरामको सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

अमेरिकी सञ्चारमाध्यममा आएका खबरहरू अनुसार इरानले ट्याङ्करहरूमाथिका आक्रमण गरेर गल्ती गरेको दावी गरेको छ । उसले पुनः वार्ताको लागि मध्यस्थकर्ताहरुबाट प्रयास गरिने जनाइए पनि इरानी पक्षले पछिल्लो यो भनाइको जवाफ दिएको छैन । समग्रमा दुई मुलुक पुनः पुरानै युद्धको स्थितिमा फर्कन लागेको आभाष भएको छ । यसले विश्व बजारमा तेल संकटको पुनः आशंका बढाएको छ ।

एजेन्सीहरुको सहयोगमा ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्