कमन देवान
माङसेबुङ ६ मा स्थानीयले ८ वर्षअघि वनतरुलको व्यवसायिक खेती सुरु गर्दा आजको जस्तो अवस्था थिएन । वन तरुल बजारमा बिक्छ भन्ने त थाहा थियो, तर यसलाई व्यवसायिक रूपले कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने अन्यायोलता नै थियो । माङसुबुङ ६ गैरीटारस्थित अलैंची कृषक समूह हात्तेढुङ्गाले एउटा आँट गर्यो, भिरालो जमिनको सदुपयोग गर्दै ‘वनतरुल’ खेतीको व्यवसायिक थालनी गर्ने ।
बाँझै रहेको भिरालो १४ रोपनी जमिन लिजमा लिएर समूहले वनतरुल खेती थाल्यो । २ वर्षअघि माङसेबुङ गाउँपालिकाले पनि यो प्रयासलाई प्रोत्साहन गर्दै २ लाख रुपैयाँ अनुदान उपलब्ध गरायो । १३ घर परिवार आबद्ध समूहले वन तरुल खेती संरक्षणका लागि पालिकाको अनुदानसहित रकम थपेर फलामे तारजालीले घेराबारा गरेर बाली हुर्काउने काम गरिरहेको छ । जसले गर्दा यतिबेला रैथाने कन्दमुल खेतीको सूचीमा वनतरुलको व्यवसायिक उत्पादन प्रयास सार्थकता उन्मुख छ ।
समूहका अध्यक्ष रामप्रसाद राईका अनुसार कोरोनाको समयमा लकडाउन भयो । बजार जाने, उपभोग्य वस्तु खरिद गरेर ल्याउने आदि अवस्था पनि रहेन । त्यसपछि गाउँलेहरु पोषणका लागि पनि वनमा जाने वनतरुल, गिठ्ठा, भ्याकुर खोजेर ल्याउने, खाने गर्न थाले । यसरी वन तरुल खोजी कार्यले नै अचानक यसको संरक्षणसहितको व्यवसायिक वनतरुले खेती गर्ने जुक्ति फुरेको सम्झन्छन् । ‘कोरोनामा सबै गाउँमा केन्द्रित भैयो । वनबाट तरुल खोजी ल्याउने खाने गर्दैगर्दा यसको बीउ संरक्षण गर्ने र व्यवसायिक खेतीको सम्भावना खोजी गर्ने भन्नेमा पुग्यौँ । त्यसैको प्रतिफल अहिले यो खेती भएको हो,’ राई सम्झन्छन् ।

अबको हिउँदोमा पहिलो छलीको ६ सय बोट वन तरुल खनेर स्थानीय बजार र दमकसम्म पुर्याएर बिक्री गरिने छ । ‘हामीले लगाएको तरुल आउँदो वर्ष हिउँदोमा खन्ने तयारी छ । पहिलो खण्डको करिब ६ हजार बेलो तरुल खन्नेछौँ । एउटा बेलोबाट कम्तिमा ३ केजीका दरले फल्दा मात्रै पनि कम्तिमा १८ सय केजी वन तरुल तयार हुन्छ होला,’ राईले भने । अरु २ छलीका वनतरुल पनि क्रमशः आगामी हिउँदमा खनेर बेच्ने तयारीमा समूहका सदस्यहरु छन् । समूहले यहाँ कान्ला नै विभाजन गरेर वन तरुलको उत्पादनलाई व्यवस्थित गरेको छ । तरुलले गहिरो जरा नलाओस् भनेर माटोमुनि प्लाष्टिक राखिएको छ भने तरुलेको बेलोलाई बढ्न मद्दत पुगोस् भनेर बाँसको थाँग्रा दिइएको छ । हाल छहारी निर्माण गर्ने कार्य गरिएको छ ।
वनमा कुनै स्याहार बिना नै उम्रने र फल्ने वनतरुललाई यसरी व्यवसायिक उद्देश्यले रोपिएको भए पनि यसमा रोपिसकेपछि अन्य बालीलाई जस्तो स्याहार आवश्यक नहुने कृषकहरुको भनाइ छ । वनतरुल रोपको ३ वर्षपछिमात्रै खनिने हुनाले वर्षेनी बाली उठाउन भने नमिल्ने उनीहरु बताउँछन् । त्यसैले समूहले वर्षेनी क्रमशः १, २, ३ गर्दै वनतरुलको छली (ड्याङ बनाएर विस्तार) थप्दै लगेको हो ।
वनमै उम्रने वन तरुल विरुवा आवस्थादेखि ५ वर्षमा बल्ल फल लिन उपुयुक्त हुन्छ । किनकि व्यवुसायिक खेतीमा जस्तो मल, स्याहार पुग्दैन । अर्कोकुरा मानिसले र जंगली जनावरले बोट खाने र खन्ने समस्या हुन्छ । ‘तरुल पाताल नभासियोस् भनेर जमिनमुनि प्लाष्टिक लगाएका छौँ, त्यसैले उत्पादन बढ्ने र धेरै गहिरो नभासिने हुनाले उत्पादन बढी हुन्छ । तरुल जोगाउन बलियो घेराबारा गरियो । नत्र त बेलो मृगले खाइदिने अनि तरुल बँदेलले खाइदिने हुन्छ,’ अध्यक्ष राई भन्छन् ।
वार्षिक २५ हजार भाडा तिर्ने गरी भिरालो जग्गा लिजमा लिएर खेती सुरु गर्दा आफूहरुको समूहबाट ४० हजार लगानी गरेको समूहका सदस्य सुरजकुमार राईको भनाइ छ । वनबाट तरुलको बीउ खोजिल्याउने र अन्य काममा भने गैरीटारका १३ घर आबद्ध समूहले जनसहभागिता जुटाइएको हो । तरुल खेती सुरु गरिएको हो । समूहलाई गत आर्थिक वर्षमा माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूल खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान दिएपछि आफूहरु उत्साहित भएको राईको भनाइ छ । ‘हामीले गरिरहेको कन्दमुल खेतीलाई पालिकाले पनि परम्परागत रैथाने बालीको प्रवद्र्धनका लागि भनेर योजना दिएपछि समूहमा उत्साह थपिएको छ’, राईले भने ।

रोपिएका वन तरुलको प्रकारमा मन्दने, फूलदानी, रानीवन तरुलसँगै गिठा र भ्याकुर छन् । हाल बगानमा १६ हजार बोट वन तरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काइएको समूहकी सदस्य राधिका नेपालीको भनाइ छ । ‘तरुल खेतीको काम भइरहेको छ । हामीले आउँदो हिउँदोमात्रै बजारमा लान्छौँ । तर, सबै मिलेर काम गर्दा उत्साहित छौँ । यसले कस्तो फल देला र कति आम्दानी गर्ला भन्ने चाहिँ उत्पादन भएको वन तरुल बजारमा पु¥याएपछि नै थाहा होला,’ नेपालीले भनिन् ‘अस्ति जेठमा हस्टेमा साकेला कार्यक्रम हुँदा हामीले थोरै बोटको वन तरुल खनेर परीक्षणको लागि बिक्रीमा पनि राख्यौँ । वन तरुलको चप पनि बनाएर बेच्यौँ । अरु बेला कम्तिमा केजीको १०० रुपैयाँ र माघे संक्रान्तिको बेलामा यसको मूल्य होलसेलमै १५० रुपैयाँ प्रतिकेजी हुन्छ भन्ने सुनेका छौँ ।’
गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बिउ रोपेपछि पटक–पटक बीउको लागि चिन्ता गर्नु नपर्ने र घेराबारा गरिदिएपछि थप रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको समूहको भनाइ छ ।
रैथाने कन्दमुलको संरक्षणका लागि पालिकाको तर्फबाट थोरै सहयोग गरिएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईको भनाइ छ । ‘वनमा पनि संरक्षण अभावले मासिन लागेको वन तरुललाई संरक्षण पनि, बीउ उत्पादनमा बल पुग्ने र व्यवसायिक खेतीमा रूपान्तरण हुन सके आयआर्जनमा टेवा पुग्नेछ भन्ने लाग्छ’, पालिका अध्यक्ष राईले भने, ‘हामी पालिकाको तर्फबाट रैथाने बालीहरुको संरक्षणका लागि ठोस कार्यक्रम बनाउने पक्षमा छौँ । त्यसको लागि के के कार्य गर्न सकिन्छ, कृषि विकास शाखामार्फत अध्ययन गरेर आउँदो आर्थिक वर्षको बजेटमा कार्यक्रम राख्ने पक्षमा छौँ ।’
माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायव प्राविधिक सहायक निरुपा राईले वन तरुले पालिकाका सबै वडाका वनमा पाइने भए पनि यसको खेती नै हुन थालेको चाहिँ माङसेबुङ ६ को गैरीटारमा हो । ‘यो नै पहिलो पटक व्यवसायिक रूपले थालनी गरिएको वनतरुल खेती हो । त्यसैेले यति नै उत्पादन हुन्छ भनेर यकिनका साथ भन्न सकिने अभिलेख हामीसँग छैन,’ राईले भनिन् ।

वनतरुल ‘कन्दमुल’ प्रजातिको जराबाली हो । नेपालको रैथाने बाली मध्येको एक वनतरुल परापूर्व कालको महत्वपूर्ण खान्की मात्रै नभएर अनिकाल पर्दाको भोक मेट्ने र जीवन धान्ने आहारा पनि हो । तर, हाल यसको प्रयोग मानिसले सीमित अवसरहरुमा मात्रै गर्न थालेको पोषणविद्हरुको भनाइ छ । माधेसंक्रान्तिलगायत केही पर्व विशेषमा मात्रै हाल वनतरुल र समग्रमा तरुलजन्य वस्तुको खपत बढी हुनेगरेको छ ।
तरुलमा रोगसँग लड्न सक्ने तत्व पाइने पोषणविद् डा. अरुणा उप्रेतीको भनाइ छ । उप्रतीका अनुसार तरुल श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या भएकाहरुका लागि राम्रो खान्की हो । यसमा भरपूरमात्रामा प्रोटिन, खनिज र विभिन्न किसिमका भिटामिन हुन्छन् । साथै कार्बाेहाइड्रेड र फाइबर पाइने हुँदा यसको सेवनले पाचन प्रक्रियाको समस्याबाट समेत बच्न सकिन्छ ।
नेपालमा तरुल र वनतरुलको उपयोगिता र फाइदाबारे ठोस अध्ययन अनुसन्धान नभएपनि अन्य देशमा भएका थुप्रै अनुसन्धानले यसलाई स्वास्थ्यका लागि फाइदाजनक प्रमाणित गरेको छ । तरुल बिना कुनै विषादी जमिनमुनि फल्ने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।