माङसेबुङ ।

इलामको माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिकाबीचमा रहेको देउमाई खोलाको पुलमा बढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ । माङसेबुङ १ र देउमाई ५ लाई जोड्दै सदरमुकाम जोड्ने सडकको सो पुलको पश्चिमतिर बाढीले क्षति गर्दा यातायात अवरुद्ध भएको हो ।

गत वर्षको असोज १८ गते परेको आरीघोप्टे वर्षापछि आएको बाढीले पुलको पश्चिमतर्फको भाग नै बगाउँदा माङसेबुङ हुँदै इलाम सदरमुकाम जोड्ने सडक केही दिन पूर्ण अवरोध भएको थियो । गएराति देउमाई खोलामा आएको बाढीले पुलको पुरानै भागमा कटान गरेपछि यातायात अबरुद्ध भएको हो ।

गत असोजको घटनापछि यातायात सञ्चालनका लागि अस्थायी ड्याम्प बाँधेर पुलबाट वारिपारि गर्ने व्यवस्था मिलाइएको थियो । तर, वर्षायाम सुरु भइसक्दा पनि त्यहाँस्थित अस्थायी ड्याम्प जोगाउने कुनै उपाय नगर्दा हाल बाढीले क्षति गरेपछि पुनः यातायात अवरुद्ध हुन पुगेको हो ।

कोशी प्रदेश पूर्वाधार कार्यालयबाट सो अस्थायी ड्याम्प जोगाउन ग्याबिन जालीसहितको अस्थायी तटबन्धन निर्माण गर्ने सम्बन्धमा ठेक्का लागिसकेको छ । तर, ठेक्का लागेको महिनादिन पुग्नै लाग्दा पनि निर्माण व्यवसायीले काम नथाल्दा यो समस्या उत्पन्न भएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले जानकारी दिए ।

‘बिहीबार बिहानबाटै देउमाई खोलामा बाढी अवरोधका कारण यातायात सञ्चालन हुन नसकेकाले इलाम सदरमुकामसँगको सम्पर्क विच्छेद भएको अवस्था छ । हामीले कन्ट्र्याक्टरलाई खोजी गरिरहेका छौँ । तर, उसले राम्रो रेस्पोन्स गरिरहेको छैन । तुरुन्त काम सुरु नगर्ने हो भने पुललाई थप क्षति हुन सक्ने अवस्था छ । त्यसो भयो भने यातायात अवरोध लम्बिन सक्छ,’ नेम्बाङले भने, ‘म आफैंले पनि निर्माण व्यवसायीलाई पटक पटक सम्पर्क गरेको हुँ । उहाँहरुबाट पोजिटिभ रेस्पोन्स पाएका छैनौँ । सडक अवरोध हुन नदिनेगरी तुरुन्त काम थाल्ने सम्बन्धमा हामी पालिकाको तर्फबाट सक्दो सहयोग गर्न तयार छौँ । तर, कामको जिम्मा पाएको पक्षले जिम्मेवारी पूरा गर्नुपर्यो भन्ने हाम्रो कुरा हो ।’

पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जय सिंहले भने भूमिका कन्स्ट्रकसन्स एण्ड सप्लार्यस्ले ठेक्का पारेको जानकारी दिएका छन् । ठेक्का पर्ने पक्षले समयमै काम सुरु नगरेको भन्दै सिंहले तुरुन्त काम थाल्न निर्देशन दिएको स्पष्ट पारे । ‘ठेक्का सम्झौता गरेको नै १५÷२० दिन भइसक्यो । जोखिमयुक्त अवस्था भएकाले समयमै काम थाल्न निर्देशन दिएका हौँ । तर, निर्माण पक्षले ध्यान दिएको छैन,’ उनले भने ।

देउमाई खोलाको सो अस्थायी ड्याम्प जोगाउन प्रदेश पूर्वाधार विकास कार्यालयले ४१ लाख ५३ हजार ७ सय ७४ रुयाँयामा ग्याबिन जारी हाल्ने ठेक्का स्वीकृत भइ सम्झौता भइसकेको छ ।

वर्षा लागेसँगै माङसेबुङलाई सदरमुकामसँग जोड्ने अन्य कुनै वैकल्पिक सडक नरहेको माङसेबुङ गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख एवम् विपत फोकल पर्सन युवराज दाहालले बताए । ‘समयमै ठेक्का सम्झौताअनुसारको ग्याबिन जालीको काम सुरु गरिएको भए अहिलेको अवस्था आउने थिएन । उच्च जोखिमको क्षेत्रमा यो तहको लापर्बाही ठीक होइन । यसले सर्वसाधारण यात्रुलाई समस्यामा पर्ने सम्भावना बढाएको छ,’ दाहालले भने ।

माङसेबुङ १ का वडाअध्यक्ष भूपाल योङहाङले बिहीबार बिहानैदेखि बाढीले क्षति गरेका कारण देउमाई खोलाको पुलबाट यातायात सञ्चालन हुन नसकेको जानकारी दिए । ‘बिहानैबाट अस्थायी ड्याम्पमा क्षति पुगेपछि सार्वजनिक यातायात अवरुद्ध भएको छ, यसबाट यात्रुलाई सास्ती भएको हामीले महसुस गरेका छौँ । जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरेर समस्या समाधानमा निर्माण पक्षले ध्यान दिनुपर्छ ।’ योङहाङले भने ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्