बिर्तामोड ।
मेची पेट्रोलियम ढुवानी सेवाको चौथो वार्षिक साधारणसभा शनिबार झापाको चन्द्रगढीमा सम्पन्न भएको छ । चन्द्रगढीस्थित एयरपोर्ट होटलमा चौथो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनोजकुमार दासको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, पेट्रोलियम पदार्थको ढुवानी व्यवस्थापन, व्यवसायीका समस्या तथा आगामी कार्ययोजनालगायत विषयमा छलफलसहित कार्यक्रम सम्पन्न गरेको सचिव तोकप्रसाद दुलालले जानकारी दिए ।
मेची पेट्रोलियम ढुवानी सेवाका अध्यक्ष टिकारामबहादुर पिठाकोटे मगरको अध्यक्षतामा सम्पन्न साधारणसभाका सहभागीलाई सदस्य गौरीप्रसाद भण्डारीले स्वागत गरेका थिए ।
कार्यक्रमका वक्ताले पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न ढुवानी सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्थाले जनाएको छ ।
साधारणसभाले अध्यक्ष पिठाकोटेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष विनोद चापागाईंले आर्थिक प्रतिवेदन तथा सचिव दुलालको प्रशासनिक प्रतिवेदन पारित गरेको हो ।
मेची पेट्रोलियम ढुवानी सेवाले भारतको सिलिगुडीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङसम्म ५३ वटा ट्यांकरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको कार्यक्रममा जानकारी दिइएको थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।