‘द्रुत सम्झौता’ अमेरिका, ‘योजना छैन’ इरान

गत फेब्रुअरी महिनाको अन्त्यदेखि सुरु भएको अमेरिका–इरान युद्धले अनेक उतार–चढाव पार गर्दै आएको छ । खसगरी इरानलाई आणविक निशस्त्रीकरणमा पु¥याउने अमेरिकी दबाबमा कुटनीतिक आक्रमणले काम नगरेपछि ऊ इरानविरुद्ध भौतिक आक्रमणमै उत्रन पुग्यो । तर, प्रतिउत्तरमा इरानले अमेरिकी साझेदार मध्यपूर्वी एसियाका विभिन्न मुलुक (जहाँ अमेरिकी सेनाको अखडा छ)हरुमा आक्रमण गरेर हायलकायल पारिदिएपछि युद्धले लम्बेदान फेहरिस्त काटिसकेको छ ।

त्यसो त यी दुई मुलुकबीच गत अप्रिलमा युद्धविराम पनि भयो । तर, तत् समयमा गरिएको सम्झौता जुन महिनामा नै भङ्ग भएपछि वाशिङ्टन र तेहरानबीच पुनः आक्रमण र प्रत्याक्रमणको सिलसिलाले तीव्र गति लिएको थियो । तथापि अघिल्लो हप्ता अचानक दुवै मुलुकले एक–अर्कालाई आक्रमण नगरेर विश्वलाई नै चकित पारेका थिए । तर, त्यो मौनताले पनि खासै सकारात्मक परिणाम निकालेन ।

यस साताको सुरुमा अमेरिकाले इरानी आक्रमण तुहाउन ऊविरुद्ध बमबारी तीव्र पारिएको जनाएको थियो । प्रतिउत्तरमा इरानले अ‍ेमेरिकी साझेदार मुलुकहरुमाथि आक्रमणलाई तीव्र पारेको थियो । तथापि इरानले हर्मुज जलमार्गको एकल आधिपत्यलाई कायमै राखेको छ भने अमेरिकाले इरानी बन्दरगाहहरू विरुद्ध गरेको सामुद्रिक नाकाबन्दी कायमै छ ।

अमेरिकी आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि रहेका अमेरिकी केन्द्रहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमला जारी राखेको छ । आक्रमणमा परेर एक नेपाली सवारी चालक ४४ वर्षीय सोमकुमार तामाङको समेत कुवेतमा मृत्यु भएको थियो । यी घटनाक्रमले दुई देशबीचको युद्ध यसै समाप्त हुन्छ भन्न सकिने अवस्था छैन । तथापि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको ‘ठूलो आक्रमण’ रोकिएको भन्दै सोमबारबाट आपसी वार्ताको चरण सुरु गरिने दावीसहित अन्तर्राष्ट्रिय मिडियाहरुमा समाचार र रिपोर्टहरु सार्वजनिक भएका थिए ।

ट्रम्पले दावी गरेअनुसार दुई देशबीच हुने सम्झौतामा इरानले हर्मुज जलमार्ग तत्काल खोल्नेदेखि परमाणु हतियार निशस्त्रीकरणसम्मको एजेण्डामा सहमति जनाउने दावी गरिएको थियो । अमेरिकी दावीमा उसले इजरायललाई पनि यस सम्झौतामा सामेल गराइने भनिएको थियो ।

आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि हुने ‘धेरै ठूलो’ आक्रमणलाई तत्कालका लागि रोकिएको जिकिर गरेका थिए । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा इरान तथा पश्चिम एसियामा रहेका अमेरिकाका सहयोगी राष्ट्रहरूले आफूसँग आक्रमण रोक्न आग्रह गरेको बताएका थिए ।

इरानले भने अमेरिकाको दावीलाई आधिकारिक मानेको छैन । त्यहाँस्थित विदेश मन्त्रालयले द्वन्द्व अन्त्यका निम्ति सोमबारबाट नयाँ वार्ता सुरु हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई उसले मान्यता नदिएको हो । इरानी विदेश मन्त्रालयले अमेरिकासँग कुनै वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नभएको स्पष्ट पारेको छ । यसको अर्थ उसले अमेरिकालाई अझै चुनौतीका रूपमा ठानेकै छैन । युद्धलाई नै निरन्तरता दिने मनसाय उसको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ओमानसँग होर्मुजबाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने उपायबारे भने छलफल भएको बताएका छन् ।

सम्भावित सम्झौताको रूपरेखामा सहमति जुटिसकेको ट्रम्पको दावी थियो । उनले होर्मुज र इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा समेत सम्झौताको सम्भावना रहेको बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्