गसिपको पात्रदेखि नीति निर्माणसम्मको यात्रा

विराटनगर ।

‘३ दशक अगाडिको विराटनगर अहिलेको जस्तो सरल र फराकिलो कहाँ थियो र ?’ कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ गफैगफमा विगत स्मरण गर्छिन् । ‘त्यो बेला समाजका आँखाहरू प्रोत्साहन दिन होइन, गफको विषय खोज्न तिखारिएका हुन्थे,’ उनी हाँस्दै फेरि सुनाउँछिन् ।

समाजको गफलाई तोड्दै जब उनी कराँतेको पोषाक लगाएर सडकमा पाइला चाल्थिन्, तब चिया पसलदेखि चौतारीसम्म उनी ‘गसिप’को पात्र बन्थिन् । छोरी मान्छेले बाटोमा मुड्की बजार्दै हिँड्नु त्यसबेलाको समाजका लागि एउटा ठूलो खिसिट्युरीको विषय हुन्थ्यो । केटाहरूसँग उफ्रिएर हिँड्ने यो बिग्रिएछ, यस्ता तीखा गफ र कानेखुसीहरू सन्तोषीका लागि दैनिकी जस्तै थिए । तर, मानिसहरूले जेलाई गफको प्रसङ्ग बनाए, सन्तोषीले त्यसैलाई आफ्नो शक्ति बनाइन् । आज उनी त्यही खिसी गर्ने समाज र बेवास्ता गर्ने राज्यको नीति बदल्ने एउटा निर्णायक ठाउँमा उभिएकी छन् ।

३ दशकअघि खेलकुद, त्यसमा पनि कराँते रोज्नु भनेको आफ्नो चरित्रमाथि नै प्रश्न उठाउने बाटो रोज्नुजस्तै थियो । सन्तोषीलाई परिवारको साथ थियो । गाउँछिमेकमा साथ दिनेभन्दा उनको खुट्टा तान्ने र कुरा काट्नेहरूको भीड ठूलै थियो । तर, उनले हार मानिनन् । विद्यालय तहमा सुरु गरेको त्यो विद्रोहले उनलाई कराँतेको म्याटसम्म पु¥यायो । उनी भन्छिन्, ‘मान्छेले के भन्थ्यो, भन्थ्यो नि ! सबै कुरालाई बिर्सिएर अगाडि बढेको हो ।’

विवाह र सन्तानको जन्मपछि धेरैले सोचेका थिए, अब सन्तोषीको खेल जीवनमा पूर्णविराम लाग्यो । तर, उनले समाजको त्यो अदृश्य अवकासलाई स्वीकार गरिनन् ।

आमा भइसकेपछि फेरि डोजो फर्किँदा समाजले फेरि गसिप सुरु ग¥यो । तर, उनले ती सबै कुराहरूलाई नजरअन्दाज गर्दै ‘ब्ल्याक बेल्ट’ लिएरै छाडिन् । ‘मैले त विहेपछि पनि खेलेँ, छोरी जन्माएर पनि पो,’ उनी भन्छिन्, ‘अनि ब्ल्याक बेल्ट पाएपछि विश्राम लिएँ ।’ यसलाई उनी सामाजिक संकिर्णताविरुद्धको विद्रोहको रूपमा पनि लिन्छिन् ।

खेलसँगैको यात्रामा उनले व्यवसाय पनि जोडेकी छन् । सन्तोषीले २४ वर्षअघि विराटनगरमा पार्लर व्यवसाय सुरु गर्दा धेरैले यसलाई निकै हलुका रूपमा लिए । तर, उनले बुझेकी थिइन्, खल्तीमा पैसा नभएसम्म महिला आर्थिक रूपमा समाजमा बलियो बन्न सक्दैन भनेर । यो व्यवसायले उनलाई कसैको समाजिक रूपान्तरणसँगै आत्मविश्वास पनि बलियो बनाएको बताउँछिन् । ‘पार्लरले मलाई आर्थिक रूपमा पनि बलियो बनाएको छ,’ उनी भन्छिन्, ‘आफ्नो अडानमा उभिन मद्दत गरेको छ ।’ त्यसो त विभिन्न सामाजिक संस्थाहरूमार्फत सामाजिक न्याय र नेतृत्वको बाटोमा लाग्नलाई प्रेरित गरेको उनी बताउँछिन् ।

जीवनको आरोह–अवरोहहरुको यात्रालाई तोड्दै उनी अहिले कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षको कुर्सीमा पुगेकी छन् । उनले त्यो क्षत्रमा पुग्दैगर्दा खेलकुदको अर्को नग्न र भद्रगोल रूप पनि महसुस गरेकी छन्् । नेपालमा खेलकुदको बजेट भन्नासाथ रंगशाला, सेड र भवन निर्माणलाई मात्र बुझिन्छ, जहाँ सिमेन्ट र बालुवाको हिसाबमा कमिसनको खेल सजिलो हुन्छ । तर, त्यही रंगशालामा खेल्ने खेलाडीको डाइट, उसको बिमा र उसको पेशागत सुनिश्चितताका लागि बजेट सधैँ शून्य जस्तै हुन्छ ।

राष्ट्रपति रनिङ शिल्डका विजेता खेलाडीहरूसँग सामूहिक तस्वीर लिँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष श्रेष्ठ ।

सन्तोषीको अहिलेको सबैभन्दा ठूलो प्रतिबद्धता नै यही सिमेन्ट बालुवा केन्द्रित बजेट प्रणालीलाई परिवर्तन गर्नु रहेको बताउँछिन् । ‘हामीले करोडौँका भवन त बनायौँ, तर त्यहाँ खेल्ने खेलाडी भोकै छ वा घाइँते हुँदा औषधि पाउँदैन भने त्यो भौतिक संरचनाको के अर्थ ?,’ उनी भन्छिन् ।

श्रेष्ठ अहिले बजेटलाई संरचनाबाट मोडेर खेलाडीको पोषण, बिमा, आधुनिक प्रशिक्षण र खेल विज्ञानतर्फ लैजान नीतिगत संघर्ष गरिरहेकी छिन् । ‘हामी खेलाडी उत्पादन त गर्छौँ, तर उसलाई टिकाउने आधार दिँदैनौँ,’ उनी भन्छिन्, ‘पदक जितेर आउँदा विमानस्थलमा लगाइने मालाले खेलाडीको पेट भरिँदैन । केही महिनापछि त्यही खेलाडी खाडी जाने भिसाको लाइनमा बस्नुपर्ने बाध्यता पनि छ, यसलाई बदल्न आवश्यक छ ।’

नेतृत्व तहमा बसेर यी कुरा गर्दा उनले अझै पनि पितृसत्तात्मक सोचको सामना गर्नुपर्छ । पुरुषहरूको बाहुल्य रहेको निकायमा एउटी महिलाको कुरालाई हलुका रूपमा लिने प्रवृत्ति अझै छ, जसलाई उनले आफ्नो काम र अडानले चुनौती दिइरहेकी छिन् ।

हुन त सन्तोषीको यो यात्रा कुनै ग्ल्यामरले भरिएको कथा होइन । हिजो उनी बाटोमा हिँड्दा गसिप र खिसिट्युरीको पात्र बन्थिन्, आज उनी खेलकुदको भद्रगोल प्रणाली सुधार्ने एउटा नीतिगत विद्रोही बनेकी छन् । कुनै पनि प्रतिभाशाली खेलाडीले अवसर नपाएर वा भोकै परेर खेल छाड्नु नपरोस् भन्ने सोँचले नै खेलाडीको वृत्तिविकासका लागि आफूले वकालत गरिरहेको सन्तोषीको भनाइ छ । हिजो समाजसँग लडेकी उनी आज राज्यको गलत नीतिसँग लडिरहेको अनुभव सुनाउँछिन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्