ठेकेदारका अनेक बहाना, समय सकिन लाग्दा भएन आधा काम

दमक ।

राष्ट्रिय गौरव तथा क्षेत्रीय राष्ट्रहरूसँगको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्डलाई चार लेनमा विस्तार गर्ने काममा निर्माण कम्पनीहरूको चरम ढिलासुस्ती देखिएको छ । काँकडभिट्टादेखि सुनसरीको लबीपुरसम्मको ९५ किलोमिटर सडक र सो खण्डमा पर्ने ठूला नदीका पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो ।

एसियाली विकास बैंक (एडिबी)को ३०० मिलियन अमेरिकी डलर ऋण सहायता र नेपाल सरकारको संयुक्त लगानीमा एसियन राजमार्गको मापदण्डअनुसार विस्तार भइरहेको यस सडकको दुर्गतिले पूर्वको यातायात व्यवस्थामात्र प्रभावित भएको छैन, सडक आसपासका बासिन्दा र यात्रुलेले दैनिक रूपमा सास्ती व्यहोर्नुपरेको छ । धुलो, हिलो र अस्तव्यस्त भौतिक पूर्वाधारका कारण दुर्घटनाको जोखिम अत्यधिक बढेको छ ।

राजमार्ग निर्माणको काम सुस्त हुँदा र राजमार्ग भत्काएर अलपत्र छाडिँदा सर्वसाधारण, यात्रु र सवारी चालकहरूले सास्ती भोगिरहेका छन् । घाम लाग्दा सडकभरि उठ्ने धुलोका कारण बाटै नदेखिने भएका कारण सवारी साधन आपसमा ठोक्किने जोखिम बढेको छ भने बर्खामा हिलो र खाल्डाखुल्डीले गर्दा सडक ‘माछापोखरी’ मा परिणत हुने गरेको छ । ‘बाटो समयमा नबन्दा घाम लागेको बेला धुलोले हिँड्नै नसकिने हुन्छ, बर्खामा हिलोले सवारी साधन चलाउनै सकिँदैन,’ चालक लक्ष्मण राजवंशी भन्छन्, धुलोका कारण अगाडिको बाटो देखिँदैन, जसले गर्दा जुनसुकै बेला दुर्घटना हुन सक्छ । सडकका ठूला खाल्डाखुल्डीले हामी चालक र यात्रु दुवैलाई हैरानी बनाएको छ । सरकारले यो बाटो छिटो सक्ने वातावरण बनाइदिनुपर्यो।’

त्यस्तै, स्थानीय अटोचालक प्रेम तामाङ सडकको नाजुक अवस्थाले यात्रु र सर्वसाधरणलाई समेत हैरान पारेको बताउँछन् । सडकमा उड्ने धुलोले स्थानीय व्यवसायीलाई समेत बस्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । ‘राजमार्ग जताततै भत्काएर अलपत्र पारिएको छ । सडक अहिले एकदमै अस्तव्यस्त छ, कतै खाल्डो त कतै हिलोले गर्दा अटो चलाउनै गाह्रो हुन्छ । दुर्घटनाको जोखिम उच्च छ,’ उनी भन्छन्, ‘सडक माछापोखरी जस्तो बनेको छ । सरकार र सम्बन्धित निकायले निर्माण कम्पनीलाई दबाब दिएर समयमै काम गराउनेतर्फ ध्यान दिनुपर्छ ।’

समय सकिन ६ महिनामात्रै बाँकी हुँदा पनि पूर्वपश्चिम राजमार्गलाई एसियन राजमार्गसँग जोड्न चार लेनमा विस्तार गर्ने योजनाको काम आधा पनि सकिएको छैन । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको खण्डमा ठेक्काको म्याद सकिन ६ महिनामात्रै हुँदा आधा पनि काम नभएपछि समयमा नसकिने निश्चित भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक विस्तारमा ढिलाइ भएको छ । जसका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको हो ।

पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको यो सडकको काम सुस्त गतिमा भइरहेको छ । पूर्वी र पश्चिमी खण्डको ९५ किलोमिटरको सडक र यसमा पर्ने ठूला पुललाई विभिन्न प्याकेज बनाएर काम गरिँदै आएको छ । तर, कुनै पनि प्याकेजको काम ५० प्रतिशत भन्दा माथि हुन सकेको छैन । यी सबै प्याकेज ३ वर्षमा सक्ने गरी ठेक्का लगाइएको सडक विस्तारको ठेक्का म्याद १९ माघ ०८३ मा सकिन्छ ।

एसियाली विकास बैंकको ३०० मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा चार लेनमा विस्तार हुँदै गरेकोे काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । काँकडभिट्टदेखि लौकहीसम्मको १२० किलोमिटर सडक ठेक्कामा लगाउने योजना भए पनि सुनसरीको लबीपुरसम्मको ९५ किलोमिटर मात्रै ठेक्का लागेको छ ।

९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कात्तिक ०८० मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सम्पन्न मिति भने १९ माघ ०८३ छ । ठेक्का २ कात्तिक ०८० मा लागेको भए पनि सम्झौता मितिले काम माघदेखि सुरु भएको हो । ९५ किलोमिटर सडकमा ६ वटा ठूला नदीका पुल पर्दछन् ।

पूर्वीखण्डअर्थात झापा काँकडभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर सडक पर्दछ । यो खण्डमा ३० महिनामा सडकको काम जम्मा ४७ प्रतिशतमात्रै भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । यो काम अपेक्षाकृत होइन । काँकडभिट्टादेखि कमल गाउँपालिकास्थित सितापुरीसम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको हो । यस्तै, पुल निर्माणको काम भने जम्मा २९ प्रतिशतमा सीमित रहेको उनी बताउँछन् । यो खण्डमा कन्काई, निन्दा र बिरिङ नदीको पुल पर्दछ । यी ३ वटा पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ५ अर्ब ९७ करोडमा ठेक्का लिएका छन् । यही गतिले निर्धारित म्यादमा काम सकिने सम्भावना नरहेको उनी बताउँछन् । आउँदो वर्षको असार मसान्तसम्म कम्तिमा ९० प्रतिशत काम सम्पन्न गर्ने गरी अघि बढिएको प्रमुख पन्तको भनाइ छ । यो बर्खाको समयमा पनि गर्न मिल्ने काम निरन्तर भइरहेको उनले बताए । पन्तका अनुसार सडकमा ५ सिएमका दुई तहको कालोपत्रे हुन्छ । यो खण्डमा करिब १७ किलोमिटर पहिलो तहको कालोपत्रे सकिएको छ । समय अवधिभरिमा ४५ किलोमिटरमै पहिलो तहको कालोपत्रे सक्ने गरी अघि बढ्ने योजना रहेको उनी बताउँछन् । जसले गर्दा सर्वसाधरणलाई यात्रामा सहज हुने उनको भनाइ छ ।

यो खण्डमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बिटुमिन अभावमा पनि काम भएको थियो । तर, काम भने सुस्त हुँदा निर्धारित समयमा काम नसकिने भएको हो । ‘समयको हिसाबले ८० प्रतिशत सकियो । तर, काम ४७ प्रतिशत छ । यो बेलासम्म ६० प्रतिशत काम सकिनुपर्ने हो । काम नसकिनुमा विविध कारण छन्,’ पन्तले भने, ‘निर्माण सामग्री पर्याप्त नहुनु, दक्ष कामदारको अभाव, समयमा बिजुलीका पोललगायत साइट क्लियर नहुनु, निर्माण कम्पनीको व्यवस्थापनको कुरा पनि राम्रो नहुँदा ढिला हुन्छ । आन्तरिक र वाह्य व्यवस्थापनको पक्ष कमजोर हुँदा ढिला भयो । पुलको हकमा स्टिलका पार्टस् आउन ढिला भयो ।’

यस्तै, सितापुरीदेखि पश्चिम सुनसरीको लबीपुरसम्मको ५० दशमलव ७६ किलोमिटर सडक विस्तारका लागि पनि सडकतर्फ दुईवटा प्याकेज बनाएर ठेक्का लगाइएको छ । केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले ९ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि लबीपुरसम्मको १० दशमलव ७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ४ अर्ब ७ करोडमा निर्माणका लागि ठेक्का लिएको छ । यो खण्डमा केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर खण्डको काम ४३ प्रतिशत सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का प्रमुख जगत प्रजापतिले जानकारी दिए । यद्यपि ३० महिनामा यो काम पनि सुस्त हो । गोठगाउँदेखि लबीपुरसम्मको १० दशमलव ७६ किलोमिटरको काम झनै अत्यधिक सुस्त छ । ठेक्का लागेको ३० महिनामा २४ प्रतिशत मात्रै काम भएको प्रमुख प्रजापतिले जानकारी दिए ।

यस्तै, पश्चिम खण्डमा ठूला ३ वटा रतुवा, बक्राह र लोहोन्द्रा नदीमा पुल निर्माण भइरहेका छन् । यी पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ५ अर्ब ६५ करोडमा ठेक्का लिएको छ । यसको काम ४२ प्रतिशतमात्रै सम्पन्न भएको उनले बताए । बिजुलीको पोल समयमा सार्न नसक्दा, मूल्यवृद्धि, बिटुमिन अभावले काममा प्रभाव पारेको उनले बताए । ‘बिजुलीको पोल समयमा नसारिँदा पनि समस्या भएको छ । ऊर्जा मन्त्रालयसँग पनि समन्वय भएको थियो । तर, काम अघि बढेन । विटुमिन र मूल्यवृद्धिलगायत कारणले पनि काम ढिला भयो । निर्माण व्यवसायीले पनि ढिलासुस्ती गरे,’ उनले भने, ‘अहिले बर्खाको समय छ । काम सोचेअनुरूप हुँदैन । लगत्तै चाडपर्व आउँछ । तसर्थ निर्धारित समयमा काम सकिने सम्भावना कम छ ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्