नविन ‘गुरु’ले दमकलाई बनाए तेक्वान्दोको ‘कारखाना’
दमक ।
कुनै समय काठमाडौंका ठूला घरका भित्तामा प्रतिस्क्वायर फुट डेढ रुपैयाँका दरले रङ पोत्ने एउटा सानो केटो, आज पूर्वको मार्सल आर्ट र कला जगतमा सम्मानजनक परिचय बनेर उभिएको छ । जीवनको अनेकौँ उतारचढाव, आर्थिक अभाव र संघर्षका मोडहरू पार गर्दै ‘हाफ ब्रुस्ली’को उपनाम पाएका दमकका नविन तामाङ (चन्द्रबहादुर)को जीवन–कथा कुनै रोमाञ्चक चलचित्रको कथाभन्दा कम छैन ।
१ माघ ०३७ मा दमक–६ पशुपति मार्गमा जन्मिएका नविनको बाल्यकाल चित्रकला र खेलकुदप्रतिको भित्री मोहबाट सुरु भएको थियो । पृथ्वी निमावि(हाल मावि) र हिमालय मावि पढेका नविनले कक्षा ५ मा पढ्दा पहिलो पटक राजा–रानीको चित्र बनाएर पहिलो स्थान हासिल गरेका थिए । पुरस्कारस्वरूप पाएको एउटा कापी र कलमले उनमा कलाप्रतिको भोक अझै जगाइदियो ।
साथीहरू विशाल राई, मजुन राई र एलबी तामाङसँगै स्कूल र घरका भित्ताहरूमा चित्र कोर्ने उनीहरूमध्ये अरूले पछि अर्कै बाटो समाते, तर नविन भने कलामै रमाइरहे । तर, जीवन सोचेजस्तो सरल रेखामा कहाँ घुम्छ र ? कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएपछि बुबाको कुटाइ खाने डरले उनी घरबाट भागेर काठमाडौं पुगे । बुद्धि परिपक्व भइसकेको थिएन, घर फर्कने हिम्मत थिएन । काठमाडौंमा ठेक्कामा हाजिरी काम गर्दै ठूला घरका भित्ताहरूमा विज्ञापन लेख्ने टोलीमा जोडिए । भित्ता पोत्नेले डेढ रुपैयाँ र लेख्नेले दुई रुपैयाँ प्रतिस्क्वायर फुट पाउने त्यो समयमा उनी पोत्ने काम गर्थे । चार जना साथीहरूसँग एउटै कोठामा बसेर पसिना बगाउँदै जिउनुको अर्थ बुझे । ‘त्यो बेला बुद्धि नै थिएन । परीक्षामा फेल भएपछि घर जान एकदमै डर लाग्यो र काठमाडौं भागियो । त्यहाँ अरूको ठेक्कामा हाजिरी काम गर्न थालेँ,’ उनी भन्छन्, ‘ठूला घरका भित्तामा विज्ञापन लेख्न पोत्नेले डेढ रुपैयाँ र लेख्नेले २ रुपैयाँ पाउँथे, म पोत्ने काम गर्थेँ । चार जना पेन्टिङ गर्ने साथीहरूसँग एउटै कोठामा बसेर पसिना बगाउँदा खान–लाउन भने पुगेकै थियो ।’
‘पूजा कला केन्द्र’देखि ‘नविन आर्टस्’सम्म
काठमाडौंको दुई वर्षे बसाइपछि दमक फर्किएका नविनले दमक फार्मेसी रहेको ठाउँमा ‘पूजा कला केन्द्र’मा आर्ट सिक्न थाले । न सिकेको शुल्क तिर्नुपर्ने, न काम गरेको ज्याला पाइने ! चार वर्षसम्म यसरी नै निःशुल्क श्रम र सीप साटासाट गरेपछि उनले संजोक आर्टमा स्क्वायर फुटको आधारमा काम पाए ।
पछि सञ्चालक संजोग राई विदेश जाने भएपछि ७–८ हजार रुपैयाँमा पसल जिम्मा पाएका नविनले २०५४ सालमा आफ्नै नामबाट ‘नविन आट्र्स’ सुरु गरे । ‘संजोक आर्टका प्रोपाइटर संजोग राई वैदेशिक रोजगारीमा जाने हुनुभयो । उहाँले मलाई ‘अब ल पसल तिमी नै गरिखाऊ’ भनेर ७–८ हजार रुपैयाँमा पसल मेरो जिम्मा लगाइदिनुभयो,’ नविन भन्छन्, ‘त्यसको एक वर्षपछि २०५४ सालमा मैले आफ्नै नाममा नविन आर्टस् दर्ता गरेर सञ्चालन गरेँ ।’
वैदेशिक रोजगारीको सिलसिलामा दुई पटक (२०५७ र २०६७) मा साउदी अरब पुगेर ३६/३६ महिना डिजाइनिङ र पेन्टिङको काम गरेका नविन बुबाको निधनपछि भने स्थायी रूपमै नेपाल फर्किएर आफ्नै पुरानै व्यवसाय र मार्सल आर्टलाई निरन्तरता दिइरहेका छन् ।
५० रुपैयाँ अभावको खेल मोह र ‘हाफ ब्रुस्ली’को उपाधि
कराँते सिक्ने सानैदेखिको सोख भए पनि महिनाको ५० रुपैयाँ शुल्क बुझाउन नसक्दा उनले लामो समय प्रतीक्षा गर्नुप¥यो । २०५४ सालमा जब आफ्नै कमाई हुन थाल्यो, देवकोटा चोकको भाटा र चित्राले बारेको ग्लोबल स्कूलको आँगनबाट उनको कराँते यात्रा सुरु भयो । विष्णु नेम्बाङ, राम चाम्लिङ, धनबहादुर लकान्द्री र हरिमाया राईजस्ता गुरुहरूबाट दीक्षीत नविन गुरुहरूको अनुपस्थितिमा ब्राउन्ड बेल्ट हुँदादेखि नै डोजाङ हेर्न र सिकाउन थालिसकेका थिए ।
०६२ सालदेखि चन्द्र राई र उनी मिलेर प्रशिक्षण दिन थाले । मेहनत यस्तो थियो कि करातेमा ३ डन हासिल गरेका नविनले २०६३ मा चारआलीमा भएको इन्टरनेसनल इन्भिसनल कराँतेमा दोस्रो, २०६४ को प्रथम झापा जिल्ला खेलकुद महोत्सवमा प्रथम र २०६६ मा भारतको गुहाटीमा भएको अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरे ।
नेपाल सितेरियो कराँतेका संस्थापक जन्मदाता थानेश्वर राईले उनको खेल, फुर्ती र कला देखेर ‘हाफ ब्रुस्ली’ को नामकरण नै गरिदिएका थिए । कराँतेको पोशाक (गी) मा ब्रुस्लीको चित्र बनाएर रिङमा उत्रने नबिनको नाम सुनेर नै कतिपय प्रतिद्वन्द्वीहरू डराएर मैदान छाड्थे । ‘नेपाल सितेरियो कराँतेका संस्थापक जन्मदाता थानेश्वर राई गुरुले मेरो फुर्ती र खेल्ने शैली देखेर ‘हाफ ब्रुस्ली’ भनेर नामकरण नै गरिदिनुभएको थियो,’ नविन भन्छन्, ‘मैले मेरो कराते ड्रेस (गी) मा ब्रुस्लीको नक्सा नै बनाएको थिएँ । रिङमा नाम सुनेर मात्रै पनि कतिपय प्रतिद्वन्द्वीहरू डराएर प्रतिस्पर्धामा उत्रिन खोज्दैनथे ।’
पर्दापछाडिको नायकः फिल्मदेखि द्वन्द्व निर्देशनसम्म
कराँतेमा नाम कमाएका नविन र उनको ‘ब्लाक बेल्ट’ टोलीलाई चलचित्रबाट अभिनयको अफर आयो । उनले ‘दुई रुपैयाँ’, ‘अग्नि’, ‘रातो गलबन्दी’ लगायतका ७–८ वटा फिल्महरूमा फाइटरको भूमिका निभाए । अभिनयमा मात्र सीमित नरही उनी द्वन्द्व निर्देशक बने । ‘भूमि रक्षक’, ‘काजल’, ‘काजल २’ र ‘परदेशी’ जस्ता हिट फिल्महरूमा द्वन्द्व निर्देशन गरेका नविन कोशी प्रदेशबाट उत्कृष्ट द्वन्द्व निर्देशकका रूपमा सम्मानितसमेत भइसकेका छन् ।
कराँतेदेखि तेक्वान्दोमा फड्को
०७२ सालको मध्यतिर तत्कालीन नेपाली सेनाका मेजर मन्दिप राई र एड्भान्स मार्सल आर्टको आवश्यकतालाई ध्यानमा राख्दै नविनले मार्सल आर्टको अर्को विधा आइटिएफ तेक्वान्दोमा फड्को मारे ।
कराँतेका स्थापित खेलाडी र गुरु भइसकेका व्यक्ति अर्कै विधामा जाँदा केही विरोध र अप्ठ्यारा परिस्थितिहरू नआएका होइनन् । तर, प्रविणकुमार कार्की, दोर्ण मगर, राजन धिमाल, रमेश चौधरी, सन्तोषकुमार श्रेष्ठ र ओम श्रेष्ठजस्ता गुरुहरूबाट धरान र दमकमा निरन्तर प्रशिक्षण लिएर उनले तेक्वान्दोको भाषा, किक र प्याटर्न÷काता आत्मसात् गरे । करातेमा ३ डन रहेका उनले ‘आइटिएफ तेक्वान्दो डु’ मा पनि ३ डन हासिल गरे, जुन पछि दक्षिण कोरियास्थित केन्द्रीय कार्यालयबाट प्रमाणित भयो । हाल उनी ५ डनका लागि आवेदन दिने तयारीमा छन् ।
तेक्वान्दोमा लागेपछि उनले सन् २०२० मा मलेसियामा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दोमा भाग लिए । सन् २०२४ मा बैंगलोर (भारत) मा भएको ‘१०औँ एसियन तेक्वान्दो च्याम्पियनसिप’मा दोस्रो स्थान हासिल गरे । सन् २०१८ (हैदराबाद) र २०२३ मा आयोजित ‘साउथ एसियन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप’मा अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गरे । उनको योगदानकै कदर गर्दै २४औँ नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघले उनलाई ‘बेस्ट प्रशिक्षक’ र ९ औँ राष्ट्रिय खेलकुद २०७९ मा दमकका रोशन मगरले स्वर्ण जितेपछि झापा जिल्ला खेलकुद विकास समितिले ‘बेस्ट कोच’ बाट सम्मान गर्यो ।
५० भन्दा बढी राष्ट्रिय खेलाडी र १९१ ब्लाक बेल्टका ‘कारखाना’

नविन तामाङ केवल आफैँ पदक जित्ने खेलाडी मात्र रहेनन्, उनी खेलाडी उत्पादन गर्ने कुशल ‘कारखाना’ बनेका छन् । कराँतेतर्फ सुनिल ताजपुरिया, रतन राजवंशी, बिक्की शंखर, रेशा लिम्बू, पुनम गौतम, सरु लिम्बू, जीवन बराइलीजस्ता ५० भन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी जन्माएका नबिनले दमक डोजाङमार्फत ‘आइटिएफ तेक्वान्दो डु’ मा मात्रै १९१ जना ब्लाक बेल्ट उत्पादन गरिसकेका छन् ।
रोशन मगर, अभय राई, अभिशेक राई, दिक्षा लिम्बू, विक्रम श्रेष्ठ, अनुप श्रेष्ठ, जानुका तामाङ, सोफिया केरुङ जस्ता दर्जनौँ खेलाडीहरू अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा दमक र नेपालको नाम उच्च पारिरहेका छन् । ०७२ पछि कोशी प्रदेशमा हुने अधिकांश खेलमा दमकका खेलाडीहरूको वर्चस्व हुनुको श्रेय नविनको निरन्तरको प्रशिक्षण र समर्पणलाई जान्छ । ‘अप्ठ्यारो परिस्थितिका बाबजुद पनि दमकमा तेक्वान्दोलाई स्थापित गराउन सकेकोमा मलाई साह्रै खुसी लाग्छ । अहिले दमक डोजाङबाट १९१ जना ब्लाक बेल्ट उत्पादन भइसकेका छन्,’ नविन भन्छन्, ‘०७२ पछि कोशी प्रदेशभित्र हुने प्रतियोगितामा प्रथम हुने प्रायः दमककै खेलाडी हुन्छन्, यो नै मेरो जीवनको सबैभन्दा ठूलो कमाई हो ।’
हाल नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका केन्द्रीय सदस्य, आइटिइफ तेक्वान्दो संघ कोशी प्रदेशका महासचिव तथा झापा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका नविनको पारिवारिक यात्रा पनि उत्तिकै सुखद् छ । ०५९ सालमा मनिका तामाङसँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई सन्तान—छोरी डोल्मा तामाङ र छोरा पासाङ तामाङ दुवै ब्लाक बेल्ट तेक्वान्दो खेलाडी हुन् । भाइ रविन तामाङ (दमक डान्स सेन्टरका प्रोपाइटर) र परिवारको बलियो साथले उनलाई सधैँ अघि बढ्न ऊर्जा दिएको छ ।
दमक–६ पशुपति मार्गबाट सुरु भएको एउटा सानो बालकको सपना, काठमाडौंको भित्ता पोत्ने रङको बास्ना, वैदेशिक रोजगारीको पसिना हुँदै आज पूर्वको मार्सल आर्टलाई हाँक्ने एउटा दह्रो खम्बा बनेर उभिएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।