दमक ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
जेनजी विद्रोहका क्रममा आफ्नै निवास बुढानिलकण्ठमा आन्दोलनकारीबाट ‘रामधुलाई’ खाएका देउवा दम्पत्ति १३ फागुन राति स्वास्थ्य उपचार गराउने नाउँमा सिंगापुर उडेका थिए ।
२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको बेवास्ता गर्दै पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा सिंगापुर पुगेका थिए ।
थप उपचारको लागि भन्दै उनीहरु ७ चैतमा सिंगापुरबाट हङकङ प्रस्थान गरेका थिए । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए । २६ साउनको राति ९ः४५ बजे देउवा नेपाल आउने तय भएको हो ।
जेनजी विद्रोहका क्रममा देउवा निवासमा लुटपाट र आगजनी भएको थियो । सो समयमा प्राप्त भिडियो फुटेजअनुसार विदेश डलरसमेत देउवा निवासमा भेटिएको थियो । जसका कारण उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पाखा लागेका नेताहरुको समूहले छुट्टै पार्टी गठन गर्ने तयारी गरेसँगै देउवा हङकङ बसाई टुङ्ग्याएर नेपाल आउन लागेका हुन् । उनीसँगै गएकी पत्नी आरजु नेपाल आउने–नआउने बारे भने केही खुलाइएको छैन ।
आरजुमाथि पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान चलिरहेको छ । उनी जेनजी विद्रोहले अपदस्त गरेको केपी ओली नेतृत्वको सरकारमा शक्तिशाली भूमिकासहित परराष्ट्र मन्त्रीको जिम्मेवारीमा थिइन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।