कक्रोच जनता पार्टी भाजपाका लागि भारी बन्दै
दमक ।
सोनम वाङ्चुक प्रख्यात शिक्षाविद् र पर्यावरण अभियन्ता हुन् । विश्वभर उनी चिनिएका छन् । यी भारतीय शिक्षाविद् र पर्यावरण अभियन्ता १८ दिनअघिदेखि आमरण अनसनमा बसेका छन् ।
भारतको राजधानी दिल्लीस्थित जन्तर–मन्तरमा आसन बसिरहेका वाङ्चुकको मुख्य माग भारतमा लिइएको नीट (युजी) परीक्षा २०२६ (चिकित्सा अध्ययनको लागि प्रवेश परीक्षा) मा भएको सरकारी लापरबाही र सोका कारण कयौँ भारतीय विद्यार्थीले आत्महत्या गरेको विषयसँग सम्बन्धि छ । जुन माग हालसालै भारतमा मजाकबाट जन्मिएको कक्रोच जनता पार्टी (सिजेपी) ले मुख्य चासोका साथ उठाइरहेको छ । सिजेपीको आरोप यो छ कि, नीट (युजी) परीक्षा २०२६ मा सरकारी पक्षले व्यापक अनियमितता गरेको छ । र, त्यस घोटालाको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा गर्नुपर्दछ । उसले यही माग राखेर जन्तर–मन्तरमा सुरु गरेको आन्दोलन २६ दिन पुगेको छ । सिजेपीले शिक्षा मन्त्रीको राजीनामासँगै परीक्षा अनियमिततासँग सम्बन्धित घटनाका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ । सत्तासीन भारतीय जनता पार्टी (भाजपा) का लागि यो दुवै माग अराधारण बनेको छ ।
केन्द्रीय शिक्षामन्त्री प्रधानले राजीनामा दिने कुनै काँटछाँट नदेखिएपछि सिजेपीको पक्षमा खुलेर लागेका वाङ्चुक सरकारमाथि दबाब बढाउने उद्देश्यले आमरण अनसनमा बसेका हुन् । १८औँ दिनमा आइपुग्दा उनको स्वास्थ्य निक्कै बिग्रिएको विभिन्न अन्तर्राष्ट्रिय र भारतीय सञ्चार माध्यमहरुले बताइरहेका छन् । सिजेपीको यो आन्दोलनमा सहभागी हुन वाङ्चुक जुन २८ मा जन्तर–मन्तर पुगेका थिए । उनले सोही दिनबाट आमरण अनसन सुरु गरेका हुन् ।
सिजेपीका संस्थापक अभिजीत दिपकेले वाङ्चुकको स्वास्थ्यस्थिति बारे बढी नै चासो राख्दै आएका छन् । उनले हरेक दिनको स्वास्थ्य स्थिति बारे मिडियाहरुलाई जानकारी उपलब्ध गराउने गरेका छन् । दिपकेले उपलब्ध गराएकै जानकारीका आधारमा भारतीय मिडियाले वाङ्चुकको स्वास्थ्य अवस्थाबारे समाचार बनाइरहेका छन् । जसमा उनको मांसपेशी क्षय हुन थालेको र तीव्र पीडामा रहेको भन्ने जस्ता विषय बाहिर आएका हुन् । तर, सिजेपीको माग पूरा नभएसम्म वाङ्चुक अनसन तोड्ने पक्षमा देखिएका छैनन् ।
उनका अनुसार अनसन सुरु भएदेखि वाङ्चुकको तौल ८.४ किलोग्रामभन्दा बढी घटेको र रक्तचाप पनि घटेको छ । मंगलबार सिजेपीका संस्थापक दिपकेले सामाजिक सञ्जाल एक्समा यस बारे लेखेका छन् । अनसन तोड्न गरिएको आग्रहमा वाङ्चुकले त्यसलाई इन्कार गरेको बताइएको छ । दिपकेलाई उद्धृत गर्दै मिडियाहरुमा आएको छ, ‘मलाई अनशन अन्त्य गर्न नभन्नुस् । सरकार किन संवाद गर्न तयार छैन भनेर सोध्नुस् ।’
सिजेपीले भाजपा सरकारविरुद्ध दबाब बढाउन संसद्को मनसुन अधिवेशनलाई लक्षित गरेर ‘चलो संसद्’ मार्च आयोजनासमेत गर्ने घोषणा गरिसकेको छ । २० जुलाईमा सुरु हुने भारतीय संसद्को मनसुन अधिवेशनलाई लक्षित गरेर सिजेपी बढी सक्रिय बनेको हो ।
यता आमरण अनसनमा बसेका वाङ्चुकको स्वास्थ्य स्थितिलाई लिएर राजनीतिक दलका नेता, चलचित्रकर्मीलगायतले चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरुले स्वास्थ्य सुधारका लागि केही दिन अनसन स्थगन गर्न सुझावसमेत दिएका हुन् । तर, वाङ्चुक यो पक्षमा देखिँदैनन् । उनीसँगै केही विद्यार्थी नेता पनि अनसनमा सहभागी छन् ।
मजाक–मजाकमै सुरु भएको कक्रोच जनता पार्टीको यो आन्दोलन बिस्तारै भारतीय जनतामाझ फैलिँदो छ भने कालान्तरमा सिजेपी सत्तासिन भाजपाका लागि गतिलो प्रतिस्पर्धी बन्न सक्ने देखिन्छ ।
एजेन्सीहरुको सहयोगमा ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।