दमक ।

फिफा विश्वकप फुटबलको सेमिफाइनलमा इङ्ल्यान्डलाई पाखा लगाएको अजेन्र्टिनाले फिफानियमविपरीत राजनीतिक प्रदर्शन गरेपछि विविद उत्पन्न भएको छ । इङ्ल्याण्डविरुद्ध अनितम समयमा कठिन जित हासिल गरेपछि अर्जेन्टिनी खेलाडीले मैदानबाटै फकल्यान्ड टापुमाथिको अर्जेन्टिनाको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेका थिए ।

अर्जेन्टिनी टोली यसै प्रदर्शनका कारण फिफाको अनुशासनात्मक कारबाहीमा पर्न सक्ने बताइएको छ ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अमेरिकाको एटलान्टामा भएको सेमिफाइनलमा खेलको अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेर फाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ । जितका लागि अर्जेन्टिनाले इन्जुरी समयमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमार्फत २–१ को रोमाञ्चक जित निकालेको थियो ।

तर, खेल समाप्तिलगत्तै अर्जेन्टिनाका खेलाडीहरूले ‘फकल्यान्ड (माल्भिनास) अर्जेन्टिनाकै हो’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै उत्सव मनाएका थिए । दक्षिण–पश्चिम अटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापु बेलायतको विदेशी भू–भाग (ओभरसिज टेरिटोरी) भए पनि त्यसमाथिको सार्वभौमिकताको विषयमा बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ । उनीहरुबीच सन् १९८२ को अप्रिलदेखि जुन (७४ दिन) सम्म फकल्यान्ड टापुलाई लिएर युद्ध हुँदा ९१३ जनाको ज्यान गएको थियो । तीमध्ये ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको थिए भने ३ जना टापुका स्थानीय रहेका थिए ।

यसअघि सन् २०१४ मा पनि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनाले यस्तै सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गराएको थियो । त्यसबेला फिफाले सो कार्य राजनीतिक सन्देश तथा टोलीको आचरणसम्बन्धी नियमको उल्लंघन भएको जनाएको थियो ।

सेमिफाइनल जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले सामाजिक सञ्जाल एक्समा अर्जेन्टिनी सैनिक देखिएको भिडियो साझा गर्दै ‘यो सामान्य खेल मात्र थिएन’ भन्दै ‘फकल्यान्ड अर्जेन्टिनाकै हो । उनीहरूले स्टेडियममा यो सन्देश लैजान रोक लगाए, तर हामी यसलाई हाम्रो रगत र हृदयमा बोकेर हिँड्छौँ’ लेखेकी थिइन् । खेलअघि उनले सेमिफाइनललाई ‘आक्रमणकारीलाई उनीहरूको स्थान देखाउने अवसर’समेत भएको बताएकी थिइन् ।

खेलाडीलाई यस विषयमा उत्तेजित पार्न उनै उपराष्ट्रपति भिल्लारुएलले भूमिका खेलेको पनि टिप्पणी हुन थालेको छ ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको ऐतिहासिक संवेदनशीलतालाई ध्यानमा राख्दै सेमिफाइनल खेल कडा सुरक्षा व्यवस्थाका बीच सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्