गौरादह ।

प्रथम गौरादह महिला फुटबल प्रतियोगितामा भारतकाे रथखाेला र राङ्चा केराबारी सेमीफाइनल प्रवेश गरेका छन् ।

शनिबारको खेलमा धरान लेडिज एफसिलाई २–१ गोलअन्तरले पराजित गर्दै राङ्चा केराबारी सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको प्लेयर अफ दि म्याच विजेता टिमकी समिक्षा पौडेल घोषित भइन् ।

यसअघि, शुक्रबार भएको उद्घाटन खेलमा भारतको रथखोला एफसीले फेयर एफसी धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तथ गरिसकेको छ ।

जितका लागि व्यक्तिगत २ गोलको योगदान गरेकी रथखोलाकी कप्तान प्रतिज्ञा क्षेत्री प्लेयर अफ द म्याच घोषित भएकी थिइन् । उनी प्रतियोगिताको हालसम्मकै सर्वाधिक गोलकर्ता पनि हुन् ।

प्रतियोगिताअन्तर्गत आज आइतबार तेस्रो दिनको खेल क्लब ओसिस इलाम र काँकरभिट्टा वुमन्स एफसीबीच केहीबेरा हुँदैछ ।

‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागुऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्देश्य महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै युवालाई लागुऔषधविरुद्ध सचेत गराउनु रहेको क्लबका अध्यक्ष उज्वल दहालको भनाइ छ ।

विभिन्न ८ टीमा सहभागी यस प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, प्लेयर अफ द टुर्नामेन्टलगायतका विधामा खेलाडी पुरस्कृत हुने खेल संयोजक युवराज खड्काले बताएका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्