दमक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गर्ने लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ ।
गत भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिअनुसार पार्टीले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी नीति उल्लङ्घन गर्ने ४ जना प्रदेश सभा सदस्यहरूलाई निस्काशित गरेको हो ।
निष्कासनमा पर्ने सांसदहरूमा सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे (के.सी.), भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन् । पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएका उनीहरु कारबाहीमा परेका हुन् ।
त्यस्तै, पार्टी विभाजको समयमा अशोक राई पक्षमा सनाखत गरेकी कोशी प्रदेशकी समानुपातिक सांसद निर्मला लिम्बू निस्काशनमा परेकी छन् । लिम्बू कोशी प्रदेशको पूर्वस्वास्थ्य मन्त्रीसमेत हुन् ।
त्यसैगरी, स्थानीय तहतर्फ खोटाङ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई निस्काशनमा परेका छन् । उनी अशोक राई समूहहुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा छन् ।
बैठकले विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई पार्टी नीति र सिद्धान्तविपरीत काम गरेको अरोपा निस्काशित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
भोटेकोशी बाढी पीडितलाई २१ लाख
जसपा नेपालले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत, उद्धार र पुनः निर्माणका लागि प्रधानमन्त्री विपद् तथा राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकबाट रकम संकलन गरेर पार्टीका तर्फबाट सहयोग गरिने बताइएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।