नाङ्लोको आवाजमा गाउँको झल्को, अनिकाल खेद्ने मुन्धुमी आस्था
सुजता लिम्बू
विराटनगर ।
तेह्रथुमका डम्बर हुक्पाचोङबाङको मानसपटलमा साउन १ गते मनाइने पर्वको सम्झना अझै ताजै छ । झरीले भिजेको बिहान, ‘माना खाएर मुरी फलाउने’ असारे मैझारोका क्षणहरू साउने संक्रान्तिको रौनक अब त सहरको जीवन बाँच्दैगर्दा उनको लागि एकादेशको कथा जस्तै बनेको छ ।
दिनभर खेती गरेर थाकेको शरीर, अनि संक्रान्तिको साँझ अर्थात् सिसेक्वा तङ्नाम मनाउने (दुःख÷अनिकाल खेद्ने) तयारी उबेला उमेरले पनि होला, उनकै भाषामा ‘कम्ता मज्जा’ हुँदैन थियो । ‘सानोमा रमाइलो हुन्थ्यो नि ! गाउँमा भनेको बेला राँगा, सुँगुर काटिँदैन थियो,’ उनी भन्छन्, ‘साउने संक्रान्तिमा काटिन्थ्यो, लिम्बूहरूको पर्व हो, त्यो बेला रौनक नै अर्कै हुन्थ्यो ।’
घरको दैलोमा टाँसिएको सिउँडी, कागभलायो, कुकरडाइनो अनि साँझपख गाउँभरि गुञ्जने नाङ्लो ठटाएको आवाजले दिने त्यो आत्मिक शान्ति अहिले उनले सहरमा ‘मिस’ गरिरहेका छन् । शनिबार विराटनगरको रानीस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा अलि फरक दृश्य थियो । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आइरहेका लिम्बू समुदाय सामूहिक रूपमा सिसेक्वा तङ्नाम मनाउन भेला भएका थिए । त्यहाँ पुराना पुस्ताले गाउँका दिनहरू याद गर्न भ्याए भने नयाँ पुस्ताले सिक्ने अवसर पाए ।
पाँचथरबाट आएर बुढीगंगा बाँसबारीमा बस्दैआएका सुमन लिम्बूका अनुसार यस्ता पर्वहरू नयाँ पुस्ताले पनि सिक्नु आवश्यक छ । उनी नयाँ पुस्ताको हुलमा चुम्लुङ महानगर समितिको कोषाध्यक्ष पद सम्हाल्दै नेतृत्व गरिरहेका छन् । ‘कति कुरा हाम्रो लागि नयाँ नै छ, अग्रजहरूले देखाउनुभएको र सिकाउनुभएको बाटोमा हिँड्नु आवश्यक छ, ताकि भोलि हाम्रो पुस्ता र आउने पुस्तालाई पनि संस्कृति र परम्परा सिकाउन सकौँ,’ उनी भन्छन् ।
लिम्बू समुदायमा सिसेक्वा तङ्नाम अर्थात् साउने संक्रान्ति असारको हिलोमैलो र रोगव्याधिलाई घरबाहिर पठाउने उत्सवको रूपमा मनाइन्छ । तर, समय फेरिएको छ । चुम्लुङ महानगर समितिका सहसचिव मिलन नेम्बाङले जागिरको सिलसिलामा गाउँ छोडेको दशकौँ भयो । हिजो गाउँमा मनाइने चाडवाडहरू अब सम्झनाको ग्यालरीमा कैद गरेर राख्नुको विकल्प नभएको उनी सुनाउँछन् । गाउँघरको जस्तो कृषि र माटो अब सहरमा पाउन मुस्किल पर्छ । आँगन अब कङ्क्रिटको बार्दलीमा खुम्चिएको छ । ‘गाउँको जस्तो राँको बालेर दुःख खेद्ने ठाउँ त यहाँ छैन,’ उनी भन्छन्, ‘तर, मुन्धुमप्रतिको आस्था र पुर्खाले कायम गरेको संस्कृति र सिकाएको संस्कार भने छोड्दैनौँ ।’
सिसेक्वा तङ्नामको अर्को अभिन्न अङ्ग खानपान हो । असारको हिलोमैलोमा काम गर्दा लाग्ने रोगव्याधिबाट बच्न र शरीरमा ऊर्जा भर्न यो दिन सिस्नु, नयाँ मकै र कन्दमूल खाने गरिन्छ । चुम्लुङका सचिव लक्ष्मी मेन्याङबोका अनुसार सुँगुरको आन्द्रामा याङ्बेन मिसाएर बनाइएको परिकारमा मौलिक स्वाद भेट्न अब त मुस्किल हुन थालेको छ । ‘मुस्किल भए पनि चुम्लुङले मौलिक परिकारको स्वाद भने खोजेर ल्याउँछौँ,’ उनी भन्छन् । अचम्मको कुरा त के छ भने, सहरका आधुनिक भान्सामा पनि पिज्जा र पास्तालाई विस्थापित गर्दै संक्रान्तिका दिन सिस्नुको झोल र उसिनेको तरुल पाक्न थालेको छ । यो स्वाद मात्र नभएर पुर्खाको जीवनशैली र प्रकृतिसँगको साइनो पनि रहेको उनको बुझाइ छ ।
यो चाडको दार्शनिक र मुन्धुमी पक्ष अझ गहिरो छ । मुन्धुमी लेखक एवं किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नारायण यक्सो यसलाई ऋतु परिवर्तन र प्रकृतिको चक्रसँग जोडेर ब्याख्या गर्छन् । ‘कक्फेक्वा तङ्नाम माघमा मनाइन्छ, जतिबेला बाँसको तामा पलाउँछ,’ उनी भन्छन्, ‘तर साउनमा निगुरो उम्रने समय भएकाले यसलाई सिसेक्वा तङ्नाम भनिएको हो ।’
यक्सोका अनुसार यो पर्व राई, लिम्बू, याक्खा जातिले मात्रै नमनाएर आर्य समुदायले हरियालीको पर्व भनेर हरियो चुरा र मेहन्दी लगाएर मनाउने गरेका छन् भने तराईमा बसोबास गर्ने थारु जातिले पनि यो पर्व मनाउने गर्छन् । ‘काम गरेर थाकेर मैझारो गरेपछि रमाइलो पर्वको रूपमा दिउँसोभर सुँगुर, राँगा, भैँसी काटेर बिहानदेखि नै मनाउने गरिन्छ,’ उनी भन्छन्, ‘राई, लिम्बू, सुनुवार, याक्खा जहाँ बसे पनि पहिचान र भेषभूषा बिर्सन हुँदैन ।’
नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलहादुर थेबे बसाइसराइको समस्याले खेतीपाती नरहेकाले सामूहिक पूजा गर्ने भएकाले चासोक तङ्नाम पर्वको प्रचार भएको बताउँछन् । उनका अनुसार चार सिजनमध्ये सिसेक्वा तङ्नाम एक हो । ‘आदिमकालदेखि विकास भएपछि कृषि युग आयो, त्यसपछि आफ्नो खेती गर्ने चलन र सभ्यताको सुरुवात भयो,’ उनी भन्छन्, ‘त्यही सभ्याताको सुरुवात नै सिसेक्वा तङ्नाम हो ।’ असार सकिएपछि महाअनिकाल खेद्नको लागि लिम्बूले सिसेक्वा तङ्नाम बनाउने गरेको उनी बताउँछन् । ‘काम गर्दा लागेका चोटपटक र फोहोरलाई सफा गर्दै अनिकाल खेद्ने राँको बालेर फाल्नुपर्ने चलन याक्थुङ समुदायले बनाएर ल्याएका हुन्,’ उनी भन्छन्, ‘यसलाई कतिपयले लुतो फाल्ने पनि भन्छन्, जुन लिम्बूहरूको टिपिकल संस्कार हो ।’
लेखक तथा पत्रकार देवेन्द्र खापुङका अनुसार वर्षभरिलाई याक्थुङ (लिम्बू) जातिले चार याममा बाँडेका छन्, जुन सबै कृषिसँग सम्बन्धित रहेको छ । उनको अनुसार कक्फेक्वा (पुस, माघ, फागुन) अत्यन्त जाडो हुने र अन्न जोगाउन तरुल लभ्याकुर खाएर ज्यान जोगाउनुपर्छ भन्ने मान्यताको याम । यसमा तरुलको टीका लगाएर छिमेकीलाई बाँडेर खाइन्छ । यक्वा तङनाम (चैत, वैशाख, जेठ) गर्मी र सुक्खा मौसम हुने भएकाले बीउबिजनका लागि पानी माग्ने पूजा गरिन्छ । छेलो हानेर पहरा थर्काई पानी पार्ने विश्वास गरिन्छ । सिसेक्वा तङनाम (असार, साउन, भदौ) बीउबिजन उम्रेर फल्न फुल्न थालेपछि अब बाँचियो भनेर फल र फूलको माला ढोकामा टाँसी मनाइने चाड रहेको उनको भनाइ छ । हिलोमा काम गर्दा लागेको चिसो हटाउन सिस्नु र पोषणयुक्त खाना खाने याम पनि यही हो । ‘यो अलि बढी नेवार जातिबाट नेपालभर फैलियो । अनिकाल भगाउने, सहकाल ल्याउने र साउन २ गते खेतबारीमा पसे डढ्ने (राँके लाग्ने) विश्वास याक्थुङ समुदायमा छ,’ उनले भने ।
चासोक तङनाम (असोज, कात्तिक, मंसिर) पाकेको अन्न भित्र्याई पहिले प्रकृतिलाई चढाएर खाने पर्वको रूपमा लिइन्छ । पछिल्लो समय गरिखाने भन्दा किनेर खाने भएपछि यो सामूहिक रूपमा मनाउन थालिएको खापुङको बुझाइ छ ।
भौगोलिक दूरी र आधुनिक जीवनशैलीले लिम्बू समुदायलाई गाउँको खुला आँगनबाट सहरको साँघुरो फ्लाटसम्म पुर्याएको छ । तर, वर्षभर मनाइने सिसेक्वा तङ्नामलगायत अन्य चाडहरूको सुगन्ध भने हराएको छैन ।
विराटनगरको सामूहिक उत्सवमा मुन्धुमी पाराले राँको बाल्दा र नाङ्लो ठटाउँदा सहभागीहरूले क्षणभरका लागि भए पनि गाउँकै झल्को पाए । त्यसो त साउनको झरीसँगै भान्सामा पाक्ने सिस्नु र मनमा गुञ्जने मुन्धुमी शव्दले यो समुदायलाई जहाँ भए पनि आफ्नो माटो र संस्कृतिसँग अटुट रूपमा जोडिइरहेको छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।