तीन वर्षमा ५६ ले गुमाए ज्यान, ८०६ घाइते

कमन देवान

दमक ।

बर्खा लागेसँगै तराई मधेशको ग्रामीण भेगका लागि सर्पदंश एउटा उच्च जोखिमका रूपमा निम्तने खतरा हो । गर्मीयाम सर्प र मानिस दुवैका लागि बढी जोखिमको याम हुने गर्दछ । शितल खोज्दै रातको समयमा ठहलिन घर बाहिर निस्केका बेला मानिस सर्पदंशको शिकार हुन पुग्छ । सर्प पनि रातको समयमा आहारा खोज्न बासस्थानबाट बाहिर निस्किएका बेला मानिससँगको अप्रत्यासित जम्काभेटमा दुर्घटना हुन पुग्छ । कतिपय अवस्थामा समयमै उपचार नपाउँदा वा ढिलो गरी उपचार केन्द्रमा पु¥याउँदा बिरामीको अकालमै मृत्यु हुने गर्दछ ।

कोशी प्रदेशको पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकले सर्पदंशको जोखिमलाई असामान्य देखाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकलाई केलाउँदा सर्पदंशबाट अघिल्ला २ आर्थिक वर्षसहित आर्थिक वर्ष ०८२/८३ को २६ असारसम्मको तथ्यांकअनुसार कुल ५६ जनाको मृत्यु भएको र ८०६ जना घाइते भएको देखाउँछ ।

पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष ०८१/०८२ कोशी प्रदेशको लागि सर्पदंशको उच्च जोखिमको वर्ष रहन पुग्यो । किनकि यस आर्थिक वर्षमा मात्रै सर्पदंशका कारण ३१ जनाले ज्यान गुमाउनु परेको थियो । घाइतेको संख्या भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेर १ सय ८५ मा झरेको थियो । त्यस आर्थिक वर्षमा मोरङ जिल्लामा सर्वाधिक १३ र सुनरी जिल्लामा ११ जनाले शर्पदंशकै कारण ज्यान गुमाएका थिए भने उदयपुरमा ५ जना, झापा र भोजपुरमा १/१ जनाले ज्यान गुमाउनु परेको थियो ।

आर्थिक वर्ष ०८०/८१ मा भने कोशी प्रदेशको मोरङ जिल्लामा सर्वाधिक ३ जनाको सर्पदंशका कारण मृत्यु भयो थियो भने ५४ जना घाइते भएका थिए । त्यस्तै, झापामा २ जनाको मृत्यु भएको थियो भने सुनसरीमा २ को मृत्यु र सबैभन्दा धेरै ३४१ जना घाइते भएका थिए । सो आर्थिक वर्षमा ७ जनाको सर्पदंशबाट मृत्यु भएको थियो भने कुल ४ सय ५४ जना घाइते भएका थिए ।

सर्पदंशको आर्थिक वर्ष ०८२/०८३ को २६ असारसम्मको तथ्यांकले विगत वर्षको भन्दा मृत्यु संख्या घटेको देखाएको छ । जसमा मोरङमा ७, झापामा ४, उदयपुरमा ३, सुनसरीमा २, संखुवासभा र भोजपुरमा क्रमशः १/१ जनाको सर्पदंशका कारण मृत्यु भएको हो । यस अवधिमा १६७ जना घाइते भएको प्रहरी तथ्यांकले जनाएको छ ।

झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले सञ्चालन गर्दै आएको सर्पदंश उपचार केन्द्र दमकमा मात्रै पछिल्ला दिनहरूमा दैनिक ७–८ देखि १०–११ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रका प्रमुख देवी भण्डारीका अनुसार बर्खा लागेसँगै सर्पदंशका बिरामी बढ्ने गरेका छन् । ‘जति–जति गर्मी बढ्दै जान्छ, सर्पको टोकाई पनि उति–उति बढ्दै जान्छ । दैनिक यकिन यति नै भन्ने त हुँदैन । पछिल्ला दिनहरूमा हामीले दैनिक ७–८ जनादेखि १०–११ जनासम्म बिरामीको उपचार गरिरहेका छौँ’, प्रमुख भण्डारीले भने, ‘दीर्घरोगका बिरामी, साना बालबच्चाको हकमा उपचार गर्दा जोखिम हुन्छ । त्यस्तै, सर्पले डसिसकेपछिको बिरामीले गर्ने क्रियाकलापका कारण पनि उपचारमा समस्या हुन सक्छ ।’

दमकस्थित यस सर्पदंश उपचार केन्द्रमा दमक र आसपासका पालिकाहरू चुलाचुली, कमल, गौरादह, गौरिगञ्जदेखि भारतको बिहारबाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् ।

झापाको कनकाईस्थित कोटीहोममा सञ्चालित कनकाई साहारा सर्पदंश उपचार केन्द्रका प्रमुख अभिषेक पोखरेल सर्पदंशका घटना बढ्नुमा मानवीय लापरवाही मुख्य कारक रहेको बताउँछन् । ‘कतिपय अवस्थामा काम गर्दा, राति हिँडडुल गर्दा पर्याप्त उज्यालो नबोक्दा, जुत्ता नलाउँदा पनि सर्पले डसेका घटना छन्,’ पोखरेल भन्छन्, ‘घटना त अञ्जानमै हुने हो, तर सावधानी अपनाउन सक्दा यो समस्या न्यूनीकरणमा मद्दत पुग्ने थियो भन्ने लाग्छ ।’
यस केन्द्रमा गर्मीयाममा कुनै दिन २–३ जना त कुनै दिन ३–४ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउँछन् भने कुनै दिन बिरामी संख्या शून्य पनि रहन्छ । गत वर्ष यस केन्द्रबाट ३०० जना सर्पदंशका बिरामीले उपचार पाएको पोखरेलले जानकरी दिए । ‘हामीकहाँ कनकाई, झापा, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा र बिहारको डिगलबैंकसम्मका सर्पदंशको बिरामीले उपचार गराएको तथ्यांक छ,’ उनले भने ।

झापाको सबैभन्दा पुरानो र बढी बिरामीको चाप हुने केन्द्र हो, सर्पदंश उपचार केन्द्र चाराली । नेपाली सेनाले प्राविधि सहयोग गरेको यो केन्द्र नेपाली सेनाको चारालीस्थित ब्यारेक नजिकै रहेको छ ।

केन्द्रमा कार्यरत पारामेडिक्स अमृत बोहोराका अनुसार गत बैशाखमा ५५ जना सर्पदंशका बिारमी उपचारका लागि आएका थिए भने जेठ महिनामा बिरामीको संख्या बढेर ८४ जना पुगेको थियो । असार महिनाको २८ गतेसम्मको तथ्यांकमा यो संख्या बढेर १४० पुगेको बोहोराको भनाइ छ । ‘गर्मी बढेसँगै सर्पदंशका बिरामीको चाप बढ्छ ।

बैशाख महिनामा हामीले ५५ जनाको उपचार गरेका थियौँ । जेठमा ८४ जना बिरामी आए । असारको २८ गतेसम्मको डाटा हेर्दा १४० जनाको उपचार भएको देखिन्छ’, उनले भने, ‘पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा हुँदै भारतको पश्चिमबंगालका पानीट्यांकी, नक्सालबाडी, बिहारबाट केही ठाउँबाट पनि सर्पदंशका बिरामी आउँछन् ।’

चारालीस्थित यस उपचार केन्द्रमा तुलनात्मक रूपमा विषालु सर्पले डसेका भन्दा कम विषालु सर्पले डसेका बिरामीको संख्या बढी हुने गरेको बोहोराको अनुभव छ ।

पछिल्लो समय कचनकवल गाउँपालिकाको केन्द्र बनियानीमा समेत गाउँपालिकाकै पहलमा सर्पदंश उपचार सेवा सुरु भएकाले चारालीमा उपचार गर्न आउने बिरामी संख्या घटेको उनी बताउँछन् ।

दमकस्थित सर्पदंश उपचार केन्द्रका प्रमुख भण्डारीका अनुसार केन्द्रको स्रोतसाधनले भ्याएसम्म २४ सै घण्टा बिरामीको उपचार हुँदै आएको छ । ‘सम्भव भएसम्म र साधनस्रोतले भ्याएसम्म २४ सै घण्टा सेवा दिएका छौँ । कहिलेकाहीँ विभिन्न कारणले गर्दा बिरामीको मृत्यु हुन पुग्छ,’ उनले भने, ‘सर्पले डसेका बिरामीको गतिविधिले, उपचार केन्द्रमा ढिलो आएर, बिरामीको भित्री रोगका कारण, बच्चाहरूको केसमा र सर्पले कतिखेर टोकेको हो भन्ने थाहा नपाएका कारणले पनि जटिलता हुन जान्छ ।’

सर्पदंशका बिरामीको उपचारका क्रममा केन्द्रहरूले बिरामीको अवस्था हेरेर ऐन्टीस्नेक भेनम दिने, शरीरमा अक्सिजन आपूर्ति कम भयो भने अक्सिजन दिएर श्वासप्रश्वास कार्यलाई निरन्तरता दिनुपर्ने हुन सक्छ । भण्डारीका अनुसार सर्पले डसिसकेपछि बिरामीले समयलाई साह्रै ख्याल गर्नुपर्ने हुन्छ । ‘बिरामीलाई जतिसक्दो चाँडो नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ । बिरामीलाई केही खानु दिनु हुँदैन र हिँडडुल गर्न पनि दिनु हुँदैन । मन्त्रतन्त्र, धामीझाँक्री, झारमौरीजस्ता विधिमा अल्मलिएर बसेमा उपचार केन्द्रमा पुर्याउन ढिला हुन सक्छ । यस्तो अवस्थामा बिरामीको ज्यान जान सक्ने जोखिम हुन्छ’, उनले भने ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्