लागूऔषध न्यूनीकरणका लागि रोकथाम, उपचार, पुनःस्थापना र युवा सहभागिताको नयाँ बाटो
ज्ञानेन्द्र दवाडी/विजय डाँगी / रोशन भण्डारी
कोशी प्रदेशमा लागूऔषधको समस्या अब केवल प्रहरी वा स्वास्थ्य क्षेत्रको विषय रहेन। यो युवा पुस्ताको भविष्य, परिवारको सम्बन्ध, मानसिक स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सद्भाव र समग्र विकाससँग जोडिएको गम्भीर सामाजिक चुनौती बनेको छ। विराटनगर, इटहरी, धरान तथा सीमावर्ती क्षेत्रहरूमा बढ्दो शहरीकरण, युवाको आवतजावत र भारतसँगको खुला सीमाका कारण यसको व्यवस्थापन अझ चुनौतीपूर्ण बनेको छ। गृह मन्त्रालयको लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार तत्कालीन प्रदेश नं. १ मा २७ हजार १३ पुरुष र ५९२ महिला गरी २७ हजार ६०५ जना लागूऔषध प्रयोगकर्ता अनुमान गरिएको थियो। सोही सर्वेक्षणमा २०–२४ वर्ष उमेर समूह ३४.३ प्रतिशत र २५–२९ वर्ष समूह ३५.२ प्रतिशत रहेको देखिन्छ। यसले लागूऔषधको समस्या विशेषगरी युवा उमेरसँग गहिरो रूपमा जोडिएको देखाउँछ। तर विगतको तथ्याङ्क र पछिल्ला वर्षमा पुनःस्थापना सेवामा देखिएको अवस्थालाई सँगै हेर्दा कोशीमा लागूऔषधको समस्या निरन्तर निगरानी, अनुसन्धान र लक्षित हस्तक्षेप आवश्यक पर्ने अवस्थामा पुगेको देखिन्छ।
पछिल्ला वर्षमा कोशी प्रदेशमा लागूऔषधको आपूर्ति र अवैध कारोबार पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। प्रहरीका तथ्याङ्कमा लागूऔषधसम्बन्धी पक्राउ तथा बरामदका घटना निरन्तर देखिन्छन्। तर यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ—पक्राउ परेका व्यक्तिको संख्या लागूऔषध प्रयोगकर्ताको संख्या होइन। यसले मुख्यतः अवैध कारोबार तथा ओसारपसारको अवस्था देखाउँछ। त्यसैले समस्याको गहिराइ बुझ्न प्रहरीको तथ्याङ्कसँगै स्वास्थ्य संस्था, पुनःस्थापना केन्द्र, परिवार, विद्यालय र स्वयं युवाको अनुभवलाई पनि जोड्नुपर्छ।
विराटनगरमा गरिएको पछिल्लो अध्ययनले पनि समस्याको अर्को पाटो उजागर गरेको छ। विराटनगर महानगरपालिकाका सातवटा पुनःस्थापना केन्द्रमा २०२४ अगस्टदेखि २०२५ फेब्रुअरीसम्म १०९ जना लागूऔषध प्रयोगकर्तामाथि गरिएको अध्ययनमा उनीहरूको जीवनस्तर मध्यम रहेको र शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय पक्षमा विभिन्न कठिनाइ रहेको देखिएको छ। परिवार तथा साथीसँग बस्ने व्यक्तिको तुलनामा एक्लै बस्ने व्यक्तिको जीवनस्तर कमजोर देखिनु पुनःस्थापनामा सामाजिक सम्बन्धको महत्वलाई स्पष्ट गर्छ। यसको अर्थ लागूऔषध उपचार केवल पदार्थको प्रयोग बन्द गराउने प्रक्रिया होइन; व्यक्ति, परिवार र समाजबीचको सम्बन्ध पुनःनिर्माण गर्ने प्रक्रिया पनि हो।
नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्रका व्यवस्थापक सुशील रिजालको अनुभवले कोशीमा देखिएको अवस्थालाई अझ नजिकबाट बुझ्न मद्दत गर्छ। उनका अनुसार पुनःस्थापनाका लागि आउने व्यक्तिहरूमध्ये ठूलो हिस्सा १८ देखि ४० वर्ष उमेर समूहका छन्। ४० वर्षभन्दा माथिका व्यक्तिहरूमध्ये लामो समयदेखि नशाजन्य समस्यामा रहेका व्यक्तिहरू पनि आउने गरेका छन्। पुरुषको संख्या महिलाभन्दा केही बढी भए पनि महिलाहरू पनि उपचारमा आउने गरेका छन्। उनका अनुसार केही महिला प्रयोगकर्ताको पृष्ठभूमिमा भोजनालय तथा रात्रीकालीन मनोरञ्जन क्षेत्रमा काम गरेको अवस्था देखिएको छ। अझ चिन्ताजनक पक्षका रूपमा करिब १४ वर्ष उमेरका किशोरसमेत पुनःस्थापनाका लागि आउन थालेका छन्। उनका अनुभवमा साथीको प्रभाव, प्रेमसम्बन्धमा रहेको व्यक्तिको प्रभाव, “एकपटक प्रयोग गरेर हेरौँ” भन्ने जिज्ञासा, पारिवारिक तथा व्यक्तिगत तनाव, खुला सीमाबाट हुने पहुँच र लागूऔषधले यौन क्षमता बढाउँछ वा लामो समयसम्म यौनसम्बन्ध कायम गर्न सकिन्छ भन्ने गलत धारणाले कतिपय युवालाई प्रयोगतर्फ धकेल्ने गरेको देखिन्छ। उनले विगतको तुलनामा विराटनगरमा पुनःस्थापना केन्द्रहरूको संख्या पनि बढेको अनुभव सुनाएका छन्। यी विवरण प्रदेशव्यापी प्रतिनिधिमूलक तथ्याङ्क नभई पुनःस्थापना क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यक्तिको कार्यक्षेत्र अनुभवमा आधारित छन्। त्यसैले यसलाई अन्तिम निष्कर्षका रूपमा नभई थप अनुसन्धान र रोकथामका लागि महत्वपूर्ण संकेतका रूपमा लिन आवश्यक छ।
यस समस्यालाई गहिराइमा बुझ्न हामीले एउटा आधारभूत प्रश्न सोध्नुपर्छ—युवाहरू लागूऔषधतर्फ किन जान्छन्? यसको उत्तर केवल प्रहरीको तथ्याङ्कमा खोजेर पुग्दैन। लागूऔषधको समस्या प्रहरीका लागि अपराध, स्वास्थ्यकर्मीका लागि स्वास्थ्य समस्या, परिवारका लागि पीडा र युवाका लागि साथीको दबाब, जिज्ञासा, तनाव वा सामाजिक स्वीकृतिको खोजी हुन सक्छ। त्यसैले यसको समाधान पनि एउटै संस्थाबाट सम्भव हुँदैन।वास्तविक समस्या बुझ्न युवा, परिवार, शिक्षक, प्रहरी, स्वास्थ्यकर्मी, rehabilitation centre, स्थानीय सरकार र समुदाय सबैको अनुभव सुन्नुपर्छ।
लागूऔषधविरुद्धको समाधान माथिबाट थोपरिने होइन, संवाद र सहभागिताबाट निर्माण हुनुपर्छ। प्रहरी वा विज्ञले मात्र बोल्ने र युवाले सुन्ने परम्परागत शैलीभन्दा युवा, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, पुनःस्थापित युवा, स्थानीय सरकार र समुदायलाई एउटै संवादमा ल्याउनु बढी प्रभावकारी हुन्छ। युवाले आफ्ना समस्या, दबाब, डर, भ्रम र आवश्यकता आफैं व्यक्त गर्न पाउने वातावरण बनाउनुपर्छ। त्यसपछि स्थानीय अवस्थाअनुसार समाधान खोजिनुपर्छ।
संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयले पनि युवालाई लागूऔषध रोकथामका कार्यक्रमका केवल लाभग्राही नभई योजना निर्माण, कार्यान्वयन र मूल्याङ्कनमा सहभागी गराउनुपर्नेमा जोड दिएको छ। युवाको अर्थपूर्ण सहभागिताले रोकथामका कार्यक्रमलाई बलियो बनाउनुका साथै स्वयं युवाको क्षमता, आत्मविश्वास र जिम्मेवारीबोध पनि बढाउने बताइएको छ।
त्यसैले कोशी प्रदेशमा अब “लागूऔषध नखाऊ” भन्ने सन्देश मात्र पर्याप्त हुँदैन। युवालाई साथीको दबाब अस्वीकार गर्ने क्षमता, सही निर्णय गर्ने सीप, तनाव व्यवस्थापन, स्वस्थ सम्बन्ध, मानसिक स्वास्थ्य सहायता र समस्यामा सहयोग खोज्ने व्यवहार सिकाउनुपर्छ। परिवारलाई आफ्ना छोराछोरीसँग खुलेर संवाद गर्न सिकाउनुपर्छ। विद्यालय र कलेजलाई केवल पाठ्यक्रम पूरा गर्ने संस्था नभई युवाको भावनात्मक र सामाजिक विकासका केन्द्रका रूपमा विकास गर्नुपर्छ।
खुला सीमा पनि कोशीको विशेष अवस्था हो। सीमा नेपाल र भारतबीचको सामाजिक तथा आर्थिक सम्बन्धको महत्वपूर्ण हिस्सा भएकाले सामान्य नागरिकको आवतजावतलाई समस्याका रूपमा हेर्नु हुँदैन। तर यही सीमा लागूऔषधको अवैध ओसारपसारका लागि दुरुपयोग हुनसक्ने जोखिमलाई पनि बेवास्ता गर्न मिल्दैन। त्यसैले सीमा बन्द गर्ने होइन, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने नीति आवश्यक छ। सुरक्षा निकायबीच सूचना आदानप्रदान, जोखिममा आधारित निगरानी, सीमावर्ती समुदायको सहभागिता तथा युवामैत्री रोकथाम कार्यक्रमलाई एकसाथ अघि बढाउनुपर्छ।
लागूऔषध नियन्त्रणमा प्रयोगकर्ता र तस्करलाई एउटै दृष्टिले हेर्नु पनि उचित हुँदैन। संगठित रूपमा लागूऔषधको कारोबार तथा ओसारपसार गर्ने समूहविरुद्ध कडा कानुनी कारबाही आवश्यक छ। तर निर्भरता भएका व्यक्तिलाई उपचार, परामर्श, पुनःस्थापना र पुनःसमाजीकरणको आवश्यकता हुन्छ। त्यसैले कोशी प्रदेशको रणनीति तीनवटा आधारमा केन्द्रित हुनुपर्छ—आपूर्ति नियन्त्रण, प्रयोगको रोकथाम तथा उपचार र पुनःस्थापना।
सबैभन्दा महत्वपूर्ण कुरा, पुनःस्थापनापछि युवाको जीवनमा फर्किने बाटो निर्माण गर्नुपर्छ। कुनै युवा पुनःस्थापना केन्द्रबाट बाहिर आएपछि फेरि उही साथी समूह, बेरोजगारी, पारिवारिक तनाव र सामाजिक अपमानको वातावरणमा फर्कियो भने पुनःलतको जोखिम रहन्छ। त्यसैले सीप विकास, रोजगारी, उद्यमशीलता, खेलकुद, कला, स्वयंसेवा र सामाजिक सहभागिताका अवसरसँग युवालाई जोड्न आवश्यक छ। युवालाई उद्देश्य र जिम्मेवारीको भावना दिन सकियो भने उनीहरू आफैं परिवर्तनका संवाहक बन्न सक्छन्।
यही विषयलाई द्वन्द्व, शान्ति र विकासको दृष्टिकोणबाट हेर्दा लागूऔषधको समस्या व्यक्तिको व्यवहारमा मात्र सीमित हुँदैन; यसले परिवार, समुदाय र समाजभित्रको सम्बन्ध तथा शान्तिलाई समेत प्रभावित गर्न सक्छ।लागूऔषध केवल व्यक्तिगत स्वास्थ्य समस्या होइन भन्ने अझ स्पष्ट हुन्छ। बेरोजगारी, अवसरको कमी, सामाजिक बहिष्करण, पारिवारिक तनाव, निराशा र कमजोर सामाजिक सम्बन्धजस्ता जोखिमले युवालाई गलत बाटोतर्फ धकेल्न सक्छन्। त्यसबाट परिवारमा विवाद, आर्थिक समस्या, हिंसा, अपराध र सामाजिक अविश्वास बढ्न सक्छ। यसको विपरीत शिक्षा, सीप, रोजगारी, सामाजिक सहभागिता, खेलकुद र सम्मानजनक पहिचानले युवालाई सकारात्मक जीवनतर्फ लैजान सक्छ। त्यसैले लागूऔषध न्यूनीकरणलाई शान्ति निर्माण र विकाससँग जोड्नु आवश्यक छ। युवालाई नशाबाट टाढा राख्नु मात्र होइन, उनीहरूलाई शान्ति, सामाजिक सद्भाव र विकासका सक्रिय सहभागी बनाउनु दीर्घकालीन समाधान हो।
अब कोशी प्रदेशमा केही ठोस काम तत्काल सुरु गर्न सकिन्छ। विद्यालय तथा कलेजमा नियमित जीवनोपयोगी शिक्षा र परामर्शको व्यवस्था, जोखिममा रहेका युवाको प्रारम्भिक पहिचान, अभिभावकका लागि सचेतना तथा संवाद कार्यक्रम, महिला प्रयोगकर्ताका लागि सुरक्षित र गोपनीय सेवा, पुनःस्थापनापछि नियमित अनुगमन, सीप तथा रोजगारीसँग जोड्ने कार्यक्रम र स्थानीय तहमा युवामैत्री परामर्श सेवा आवश्यक छन्। प्रत्येक स्थानीय तहले आफ्नै अवस्था अनुसार युवा सहभागितामा आधारित लागूऔषध रोकथाम योजना बनाउन सक्छ।
अब के गर्ने?
१. किशोर–किशोरीलाई विशेष प्राथमिकता
विद्यालय तथा कलेजमा लागूऔषधको असर, जीवनोपयोगी सीप, मानसिक स्वास्थ्य र सही निर्णय गर्न सक्ने क्षमताबारे नियमित शिक्षा तथा परामर्श दिनुपर्छ।
२. हरेक स्थानीय तहमा परामर्श सेवा
लागूऔषधको जोखिममा रहेका युवा तथा परिवारले सजिलै सहयोग र आवश्यक उपचार पाउने व्यवस्था स्थानीय तहमै हुनुपर्छ।
३. विद्यालयमा परामर्श तथा सहयोगको व्यवस्था
हरेक विद्यालयमा सम्भव भएसम्म परामर्शदाता राख्ने र सम्भव नभए प्रशिक्षित शिक्षकमार्फत समस्या पहिचान तथा आवश्यक सेवामा पठाउने व्यवस्था गर्नुपर्छ।
४. परिवारलाई पनि उपचारको हिस्सा बनाउने
अभिभावकलाई आफ्ना छोराछोरीमा देखिने व्यवहारगत परिवर्तन पहिचान गर्ने र खुलेर संवाद गर्ने विषयमा अभिमुखीकरण दिनुपर्छ।
५. पुनःस्थापनापछि निरन्तर सहयोग
पुनःस्थापना केन्द्रबाट फर्किएका युवालाई नियमित परामर्श, पारिवारिक सहयोग र आवश्यक अनुगमनको व्यवस्था गर्नुपर्छ।
६. युवालाई सीप र रोजगारीसँग जोड्ने
जोखिममा रहेका तथा पुनःस्थापना भएर फर्किएका युवालाई सीपमूलक तालिम, रोजगारी, स्वरोजगार र उद्यमका अवसरसँग जोड्नुपर्छ।
७. महिलाका लागि सुरक्षित सेवा
महिला लागूऔषध प्रयोगकर्ताका लागि गोपनीय, सुरक्षित र महिलामैत्री उपचार तथा पुनःस्थापना सेवा विस्तार गर्नुपर्छ।
८. सीमावर्ती क्षेत्रमा विशेष कार्यक्रम
सीमा क्षेत्रमा सुरक्षा निगरानीसँगै युवा, परिवार र समुदायको सहभागितामा लागूऔषध रोकथाम तथा परामर्श कार्यक्रम सञ्चालन गर्नुपर्छ।
९. युवालाई अभियानको नेतृत्व दिनुपर्छ
विद्यालय तथा कलेजमा युवाको नेतृत्वमा लागूऔषधविरुद्धका सचेतना तथा सकारात्मक गतिविधि सञ्चालन गर्नुपर्छ।
१०. तथ्यमा आधारित प्रदेशस्तरीय निगरानी
स्वास्थ्य संस्था, प्रहरी, विद्यालय, स्थानीय तह तथा पुनःस्थापना केन्द्रबाट प्राप्त तथ्याङ्कलाई एकीकृत गरी कोशी प्रदेशमा लागूऔषधको अवस्थाको नियमित अध्ययन र अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ।
सबैभन्दा ठूलो परिवर्तन भनेको दृष्टिकोणमा ल्याउनुपर्छ। लागूऔषध प्रयोग गर्ने युवालाई “बिग्रिएको व्यक्ति” भनेर समाजबाट अलग गर्ने होइन, समस्या पहिचान गरी उपचार र पुनःस्थापनाको अवसर दिनुपर्छ। संगठित तस्करीविरुद्ध राज्य कठोर हुनुपर्छ, तर उपचार आवश्यक भएको व्यक्तिप्रति समाज संवेदनशील हुनुपर्छ। परिवारले लुकाउने होइन, समयमै सहयोग खोज्ने वातावरण बनाउनुपर्छ। विद्यालयले डर देखाउने होइन, सही जानकारी र सीप दिने वातावरण बनाउनुपर्छ।
कोशी प्रदेशमा लागूऔषधविरुद्धको अभियानको सफलता कति जना पक्राउ परे भन्ने संख्याले मात्र मापन हुनु हुँदैन। सफलता त तब हुन्छ, जब १४ वर्षको किशोरले पहिलोपटक लागूऔषध प्रयोग गर्नुअघि नै सही जानकारी र सहयोग पाउँछ; जब अभिभावकले आफ्ना सन्तानको व्यवहारमा आएको परिवर्तन समयमै बुझ्छन्; जब समस्यामा परेको युवा उपचार लिन लाज मान्दैन; जब पुनःस्थापना केन्द्रबाट फर्किएको व्यक्ति समाजमा सम्मानपूर्वक पुनःस्थापित हुन्छ; र जब युवाले आफ्नो भविष्य नशामा होइन, शिक्षा, सीप, रोजगारी, सिर्जनशीलता र सामाजिक योगदानमा देख्न थाल्छ।युवालाई दोष दिने होइन, सही समयमा सही दिशा दिने नीति नै कोशीका लागि दीर्घकालीन समाधान बन्न सक्छ।
सन्दर्भ सामग्री
१. गृह मन्त्रालय, नेपाल सरकार। लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६।
२. नेपाल सरकार, गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखा। (२०८३)। सुरक्षित जीवन: लागूऔषध नियन्त्रणसम्बन्धी जर्नल, वर्ष १८, अङ्क २३। काठमाडौं: गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखा।
३. Karn, R. R., Acharya, Y., & Bhattarai, A. (2025). Quality of Life and Associated Factors among Individuals with Substance Use Enrolled in Rehabilitation Centers of Biratnagar Metropolitan City of Nepal. Nepal Medical College Journal, 27(3), 215–221.
४. संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराधसम्बन्धी कार्यालय। लागूऔषध रोकथाम कार्यमा युवा सहभागितासम्बन्धी मार्गदर्शिका।
५. संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराधसम्बन्धी कार्यालय। लागूऔषध प्रयोग रोकथामका अन्तर्राष्ट्रिय मापदण्ड।
६. सुशील रिजाल, व्यवस्थापक, नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्र—कोशी प्रदेशमा पुनःस्थापना सेवामा देखिएको उमेर, लिङ्ग, प्रयोग सुरु हुनुका कारण तथा परिवर्तनसम्बन्धी प्रत्यक्ष कार्यक्षेत्र अनुभव।
(ज्ञानेन्द्र दवाडी विजय डाँगी र रोशन भण्डारी, एमफिल/पीएचडी शोधार्थी — द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्र, त्रिभुवन विश्वविद्यालय ) ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।