दमक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई एमालेको अध्यक्षबाट हटाउन खोज्नेहरु ‘आवारा’हरु भएको टिप्पणी गरेका छन् ।
दलबलसहित पार्टी कार्यक्रममा इलाम पुगेका अध्यक्ष ओलीले शनिबार कार्यकर्तामाझ यस्तो टिप्पणी गरेका हुन् ।
पार्टी रूपान्तरण र नेतृत्व परिवर्तनका लागि एमालेभित्र हस्ताक्षर अभियान नै चलिरहेका बेला ओलीले आफूविरुद्ध लागेकाहरुलाई चुनौती दिँदै भने, ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’
उनले आफ्नो राजीनामा माग्नेहरुलाई लक्षित गर्दे भने, ‘पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको छ ।’
पार्टीको क्यान्टिनमा बसेर आवारा गफमा अध्यक्ष हटाउने कुरा गरेको भन्दै ओलीले कटाक्ष गर्दै भने, ‘चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’
पार्टीबाट ओलीलाई हटाउनुपर्छ भनेर गफ गर्नेहरुसँग पार्टी सदस्यता नै नभएको भन्दै ओलीले चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने जिकिर गरे ।
२१ फागुनको निर्वाचनपछि कम्जोर बनेको एमालेमाथि विरोधी शक्ति को प्रहार तिव्र बनेको ओलीको भनाइ छ । तर, उनले विरोधी शक्ति को हो ? भन्ने चाहिँ खुलाएनन् । ‘हामीलाई झेल्नु मुस्किल भइरहेको छ । त्यतिबेला सिङ्गै पार्टी एकजुट भएर एकताबद्ध भएर सामना गर्नुपर्ने, मुकाबला गर्नु पर्ने ठाउँमा यति बेला पार्टीभित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ । अहिले यी सबै कुरा हरु बेकार छन्,’ ओलीले भने ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।