दमक ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण मिति एक महिना पछाडि धकेलिएको छ ।

यसअघि अगष्ट दोस्रो साता सभापति लामिछानेले चीन भ्रमण गर्ने भनिए पनि आन्तरिक तयारीलगायत कारण देखाएर भ्रमण मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको हो ।

नेपालमा रास्वपा सरकार बनेसँगै एक चीन नीतिविरुद्धको ‘स्वतन्त्र तिब्बत’सँग सम्बन्धित गतिविधि बढ्दै गएका बेला प्रमुख दलका सभापतिको चीन भ्रमणलाई लिएर विभिन्न आँकलन गर्न थालिएको छ ।

भ्रमणका क्रममा लामिछानेले तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको समाचार स्रोतको भनाइ छ ।

भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरुसँग भेटघाट गर्ने बताइएको छ । तर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने लामिछानेको भेट नहुने स्रोतले जनाएको छ ।

यसअघि दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेटघाटको प्रबन्ध मिलाउने प्रयास जारी राखेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्