असरल्ल
नेपाली माटो, परिवेश र चेतनाको गति सदा अग्रगमनको दिशामा उन्मुख छ र रहन्छ । पश्चगामी चिन्तन र व्यवहारबाट हेरियो भने त्यसले हामीलाई इतिहासको चिहानतर्फ फर्काउँछ ।
जसरी धार्मिक आस्था हरेक व्यक्तिको निजी स्वतन्त्रता हो । ठीक उसैगरी हिंसा, घृणा र विभाजन कुनै पनि धर्मको उद्देश्य होइन ।
तथापि, नेपाली समाजमा कायम रहेको धार्मिक सहिष्णुता किन बारम्बर विथोल्न खोजिन्छ ? कुन तत्वले त्यो काम गर्छ ? के उद्देश्यले यस्ता कुकर्महरू हुन्छन् ? आज समग्र देशले खोजिरहेको जवाफ हुन् यी । यसको जवाफ
राज्यसँग ?
सरकारसँग ? राजनीतिक दलहरूसँग ?
धर्मका अगुवाहरूसँग ?
कि धर्म मान्ने आम आस्थावानहरूसँग ?
कि धर्मको नाउँमा अनाहकमा बहकिने र बहकाइनेहरूसँग ?
कोसँग छ ?
यी गम्भीर प्रश्नको घेराबाट मुलुक चलिरहेको छ ।
अर्को पनि प्रश्न समयले जन्माएको छ –
धर्मको प्राधिकार कोसँग छ ?
धर्मका नाउँमा फरक आस्था राख्ने मानिसका बीच झगडा लगाउने को हो ?
के स्वार्थमा यस्ता गतिविधि हुन्छन् ?
धर्मका नाउँमा कलह उठाएर मानिस मारिने काम धर्म हो कि अपराध ?
यी र यस्ता अन्य तमाम प्रश्नले आम नेपालीको मन भरिएको छ । जवाफ कसले दिने हो ? थाहा छैन ।
अनुत्तरित प्रश्नका बीचबाट गुज्रिरहेको छ मुलुक । यतिबेला धर्मका नाउँमा हुन खोजेका विताण्डबाट कसोकसो मुलुक जोगिएको हो भन्ने बुझाइमा आम मानिस विश्वस्त छन् । तर, यो कसोकसोका पछाडि नेपाली समाजको युगौँ लामो कालखण्डको साझा अन्तरक्रिया, सहकार्य र सौहार्दतासहितको सामाजिक मनोविज्ञान मुख्य कडीका रूपमा रहेको वास्तविकता कसैले भूल्नु हुँदैन । नेपाली माटो, परिवेश र चेतनाको गति सदा अग्रगमनको दिशामा उन्मुख छ र रहन्छ । पश्चगामी चिन्तन र व्यवहारबाट हेरियो भने त्यसले हामीलाई इतिहासको चिहानतर्फ फर्काउँछ ।
बरु हाम्रो सामाजिक संरचनाको एउटा गलत परिपाटी के विकास भएको छ भने जुन विषय बढी पेचिलो र मुखर हुन्छ, त्यस विषयमा बोल्नै नचाहने । कसैको तारो नबन्ने । खासगरी नेपालको धार्मिक सहिष्णुता बारेमा चुइँक्क पनि बोल्न नमान्ने । तर, आ–आफ्नो धर्मको वकालतमा भने इँजार चुट्टिएको पनि थाहा नहुनेगरी भिड्ने । यसबाट के बुझ्न सकिन्छ भने, नेपाली सन्दर्भमा धार्मिक विवाद उठ्ने कारण, त्यसले पार्ने नकारात्मक असर र समाजलाई पु¥याउन सक्ने क्षतिका बारेमा हामीबीच खासै बहस, छलफल भएकै छैनन् । धार्मिक कारणले उत्पन्न हुने विवाद, झैझगडा, द्वन्द्व र हिंसाले मानव समाजलाई अकल्पनीय क्षति गर्दछ भन्ने विषय हाम्रो जानकारी बाहिरका पक्ष होइनन् । तर, हामी भने सौहार्दता जोगाउने नाउँमा यस्ता सम्भावित जोखिमबारे बोल्न डराउँछौँ । जसका कारण समस्या उत्पन्न हुँदा तत्काल समाधान खोज्ने विधि पत्ता लगाउन आफैँ समस्यामा पर्छौं । सुनसरीको कप्तानगञ्जको घटनाको वास्तविकता पनि त्यही हो ।
बोबलम टोलीले बजाएको डिजे बाजाको विषयलाई लिएर उत्पन्न विवादलाई सौहार्दपूर्ण समाधान दिन नसक्दा जनधनको क्षति भएको छ । हिन्दु र मुस्लिम धार्मिक समूहका मानिसहरूबीच हिंसात्मक झडप उत्पन्न हुन निदइएको भए प्रहरीको गोली लागेर ३ जना होनाहार युवाको ज्यान जाने थिएन । राज्य संयन्त्रले आफ्नो असक्षमता र बदनामी कमाएको घटना हो यो । नागरिकमैत्री र सुरक्षा संवेदनशीलतासहितको सरकारी पहलकद्मी पुगेको भए यस किसिमका अप्रिय घटना हुने थिएनन् । न त नेपाल र नेपालीले लज्जाबोध गर्नुपर्ने गरी हिन्दु र मुस्लिम धार्मिक समुदायका बीचमा हिंसात्मक झडपको स्थिति सिर्जना हुने नै थियो । त्यसैले मुख्य कुरा, राज्यले आफ्नो प्राथमिकतामा नागरिक जनता र उनीहरूका समस्या र विषयलाई राख्नु पर्दछ । राज्य र सरकारी संयन्त्र चुक्नुको परिणाम यो देशका ३ जना होनाहार नागरिकले अमूल्य जीवन गुमाउनु परेको छ । यसर्थ, यो सरकारको नालायकी हो । त्यतिमात्रै नभएर सबै धर्मप्रतिको आस्थासहित समग्रमा मानवीयतामाथिकै कलंक पनि हो ।
अप्रत्याशित किसिमले जसरी देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायलाई नै एक–अर्काको विरुद्ध जबरजस्ती लडाउने, भिडाउने र द्वन्द्वलाई विजारोपण गराउने दुष्प्रयास भयो, त्यसका पछाडिको कारक तत्व के हो ? पर्दापछाडिबाट यस्तो हिंसाको सञ्चालन गर्ने पक्ष कुन हो ? र, के नियतले नेपालको धार्मिक सद्भाव बिथोल्ने कुचेष्टा भएको हो ? भन्ने विषय राज्यको गहन अनुसन्धानको पाटो हो । तर, आम रूपमा सुनसरी हुँदै मधेश प्रदेशतर्फ सल्काइएको त्यो आगोको भिल्कोलाई कुनै दिन कुनै छुल्याहा र बदमासहरूले पुनः आफ्ना निहित स्वार्थपूर्तिका लागि देशैभर अनेक बहानामा नसल्काउलान् भन्न सकिन्न । त्यसका निम्ति राज्यको सुरक्षा प्रशासन, गुप्तचर निकाय सचेत र चनाखो भइरहनु पर्दछ ।
नेपालमा अन्टासन्टा माग राखेर मिडियाको कभरेजमा छाइरहने भूत पुरानै हो । संविधानको संरचनाभित्र सबै धर्म मान्ने जनताको अधिकारलाई सुनिश्चित गरिएको सन्दर्भ बाहेक राज्यले धर्मको नाउँमा अनावश्यक हस्तक्षेप गर्दैन र गर्न जरुरी पनि छैन । किनकि राज्य स्वयम्ले कुनै धर्म विशेषको उपज होइन । राज्य नागरिक जनताहरूको अन्तरक्रिया, सहकार्य र एकताको उपज हो । जब राज्यको निर्माणमा नै सबै धर्ममा आस्था राख्नेदेखि कुनै धर्ममा पनि आस्था नराख्ने नागरिकको समेत योगदान हुन्छ भने त्यो राज्य स्वयंको धर्म नहुनु भन्दा व्यवहारिक र न्यायिक पक्ष अर्को हुँदैन । त्यसैले नेपालको संविधानले धर्म निरपेक्षताको बाटो अँगालेको हो । यस मानेमा राज्यको चरित्र र नेपालको राजनीतिक विकासक्रमले मुलुकलाई सही गन्तव्यतर्फ उन्मुख गराएको हो भन्ने तथ्यलाई पुष्टि गर्न सकिन्छ ।
अब यसपछि अर्को विषय जन्मिन्छ । त्यो हो धार्मिक रङ दिएर मच्चाउन खोजिएको द्वन्द्वबारे नेपाली समाजको शून्यप्राय सहभागिता । देशको समग्रतामा विश्वास गर्ने नेपाली समाजको बनोट बहुल किसिमको छ, यो जगजाहेर विषय हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, क्षेत्रीय किसिमले नेपालीहरू विभाजित छन्, तर भाँडिएका छैनन् र भाँडिदैनन् । एउटा नेपालीको जाति अर्को नेपालीसँग फरक हुनु नै द्वन्द्वको कारण बन्नु होइन भन्ने कुरा नेपाली समाजले जानेको र मानेको दुवै हो । एउटा धर्म मान्ने नेपाली र अर्को धर्म मान्ने नेपालीबीच हिंसा रोप्नु हुँदैन भन्ने कुरा सिकेर आएको समाज हो नेपाली समाज । त्यसैले कुत्सित मानसिकता बोकेर नेपाली समाजमा आगोको बीउ रोप्न खोज्नेहरूले जति दुष्प्रयास गरे पनि नेपाली समाजमा ती अराजकता र आपराधिक कृत्यहरू असफलै हुन्छन् र हुनुपर्दछ ।
आधुनिक राज्यको आधार नै नागरिकप्रति उच्च सम्मानसहितको कानूनी राज्यको अवधारणाबाट बनेको हुन्छ । तसर्थ नागरिकको धर्म छुट्याएर होइन, नागरिकप्रतिको सम्मान र उत्तरदायित्वमा आधारित जनसेवामा राज्य लाग्ने हो । राज्य नागरिकको सुरक्षाबाट कुनै पनि बहानामा बहकिने वा तर्किने होइन । सरकार राज्यको प्रतिनिधि हो भने प्रहरी प्रशासन र अन्य निकाय सरकारको उपस्थिति हो । नागरिकको न्याय, हक, अधिकार र सेवा सुविधालाई केन्द्रमा राखेर उत्पन्न कुनै पनि विवाद र समस्या समधान गर्ने, सुरक्षाको वातावरण बनाउने, नागरिकको जनधनको रक्षा गर्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने आदि कर्तव्य सरकारको हो । सरकार यी जिम्मेवारीबाट दायाँबायाँ हुने मिल्दैन ।
द्वन्द्व र हिंसाले कुनै पनि मुलुक र समाजको निर्माणमा योगदान गर्दैन । तर, सही किसिमले द्वन्द्वको निरुपण हुन सकेन भने त्यसले देश र समाजको भविष्य बर्बाद गर्न सक्छ । आमुक शक्तिले चलाएको हिंसाको धन्दामा नेपाली समाजको हार्दिकतालाई च्याँखे थाप्ने खेल किमार्थ सह्य हुन सक्दैन । घर पोलेर खरानी बेचेर धनी हुने पटमूर्ख सपनाका पछाडि सचेत नेपाली जनता लाग्दैनन् । नेपालका सबै राजनीतिक दल, धार्मिक सम्प्रदाय, सामाजिक र सांस्कृतिक समुदायले यो वास्तविकता बुझेका छन् । नेपालको विकास र समृद्धिको एउटै आधार नै नेपालीका बीचमा थप सघन अन्तरक्रिया, सहकार्य र आपसी एकता र हार्दिकता हो । यसले धार्मिक वा अन्य कुनै पनि नाउँमा हिंसाको माग गर्दैन । न त हिंसा मच्चाएर स्वार्थ सिद्ध गर्न खोज्ने कुनै पनि तत्वको चाहना पूरा हुने दिन्छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।