कोशी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिन नमानेका हिक्मत कार्कीलाई पार्टीको लगाम लगाएर राजीनामा गराउने रणनीतिका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं झिकाएर गरेको प्रयास असफल भएको छ । अन्ततः ओली आफैँ ‘फेससेभिङ’मा पुग्न बाध्य भए ।
यस अघिका सबै महत्वपूर्ण पार्टी निर्णयहरूमा ओली कोशी प्रदेशमा एक्लै हावी थिए । कतिपय विषयमा उनले दिने भाषण नै स्वतः निर्णयका रूपमा लागू हुन्थ्यो । उनले २१ फागुन ०७८ मा गृहजिल्ला झापास्थित प्रेस चौतारी नेपालको कोशी प्रदेश महाधिवेशनको उद्घाटन गर्दै दिएको मन्तव्यमा भनेका थिए, ‘साझा रूपमा कोशी नाम राख्नु पर्छ । कोशीले सबै सभ्यतालाई समेट्छ । प्रदेशको नाम राख्ने सवालमा अनावश्यक बखेडा आवश्यक छैन ।’ ओलीको यसै भाषणलाई अक्षरस पालना गर्दै १ वर्षपछि एमाले सांसदहरूले पेश गरेको गैरसरकारी विधेयकमार्फत् १७ फागुन ०७९ मा कोशी प्रदेश नामाकरण भएको थियो ।
तर, यतिबेला ओलीको बोलीको दम र दम्भ दुवै फितलो बनेका छन् । एमाले अध्यक्ष ओलीले गएको शनिबार कोशी प्रदेशका इन्चार्ज एवम् एमाले सचिव शेरधन राईलाई आफ्नो दूतका रूपमा विराटनगर पठाएका थिए । तर, पूर्वमुख्यमन्त्रीसमेत रहिसकेका राईलाई मुख्यमन्त्री कार्कीले ढिम्किनसमेत दिएनन् ।
ओलीबाट राईलाई तोकिएको मुख्य टास्क थियो कार्कीलाई फकाएर राजीनामा गराउने र त्यो सम्भव नभए कार्कीलाई एमाले कोशी प्रदेश सभा संसदीय दलको नेताबाट हटाएर दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई दल नेतासहित मुख्यमन्त्री बनाउने । तर, कार्कीलाई मुख्यमन्त्री पदबाट हट्न मनाउने वा हटाउने अनेक प्रयास गरेर पनि राई सफल हुन सकेनन् । अध्यक्ष ओलीले दिएको टास्क पूरा गर्न असफल भएर उनी काठमाडौं फर्किए ।
‘म प्रदेश इन्चार्ज हुँ । पार्टीको निर्णय कार्यान्वयन गराउँछु,’ भनेका राईलाई कार्कीले संवैधानिक संकट देखाउँदै उल्टै धमाइदिए । कार्कीबाट धपाइएका राई ओलीको शरणमा पुगे भने ओलीले कार्कीलाई बधुँवा मजदुरलाई झैँ आफ्नै निवासमा बोलाएर धम्काए, थर्काए । तर, कार्की गलेनन् । उनको एउटै रटान आफू जटील संवैधानिक विधिबाट मुख्यमन्त्री बनेको र आफूले राजीनामा दिए संसद् बिघटन हुने दावीमा अडिग रहे ।
ओली निकटहरूको तयारी ४० जना सांसदमध्ये कम्तीमा ३१ जना प्रदेश सांसद मेन्याङ्बोको पक्षमा उभ्याउनेगरीको तयारी थियो । तर, मेन्याङ्बोको पक्षमा १५ जना एमाले प्रदेश सांसदमात्रै उभिए । यही कारण ओली आफैं मुख्यमन्त्री परिवर्तनको योजनाबाट ब्याक भएका हुन् ।
हिक्मत कार्कीलाई नै निरन्तरता दिनुपर्ने बाध्यतामा पुगेका ओलीको बचाउ गर्दै उनी पक्षधर नेताहरूले यतिबेला पार्टी नेतृत्वले चाहेका बेला कार्कीले राजीनामा दिने शर्तमा मुख्यमन्त्री पद नखोसिएको जिकिर गर्नेगरेका छन् ।
बुधबार गुण्डुस्थित ओली निवासमा भएको छलफलमा मुख्यमन्त्री कार्कीलाई तत्काल नहटाई सरकारको नेतृत्वमै निरन्तरता दिने, तर ‘अध्यक्षले आवश्यक ठानेका बेला पद छाड्ने प्रतिबद्धता लिने’ सहमति भएको छ । पछिल्लो यस प्रकरणबारे एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पुष्टि गरेका छन् । ओली–कार्कीबीचको आपसी द्वन्द्व तत्काललाई मत्थर भएको छ । तर, फेरि नबल्झेला भन्न चाहिँ सकिन्न ।
खासगरी गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि सत्ता र शक्ति दुवै गुमाएका ओली यतिबेला पार्टीभित्रै रक्षात्मक अवस्थामा छन् । उनीविरुद्ध पार्टी नेतृत्व नै छाड्नुपर्ने ब्यापक दवाव छ । आफ्नै गृहप्रदेश कोशीमा पनि ओलीको निर्देशन र चाहनाअनुसार पार्टी चल्न छाडेको दृष्टान्तले पनि ओली पार्टीभित्र कमजोर हुँदै गएको प्रष्ट हुँदै गएको छ ।
कोशी प्रदेशको वर्तमान कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठित सरकार हो । यो धारा बमोजिमको सरकार गठन वा बिघटनमा सांसदहरूलाई दलीय ह्वीप नलाग्ने संवैधानिक प्रावधान छ ।
मुख्यमन्त्री कार्कीले यसै संवैधानिक कडीलाई समाएर आफ्नो मुख्यमन्त्री पद जोगाउन मात्रै सफल भएका छैनन् । ओलीलाई एमाले नेतृत्वबाट हटाउन पार्टीभित्र चलिरहेको इतर समूहको प्रयासमा यो एउटा सफलताको संकेत हुन सक्छ ।
स्मरण रहोस्, ०७९ को प्रतिनिधिसभा निर्वाचन र प्रदेश सभा निर्वाचनबाट ओली र कार्की झापा ५ बाटै निर्वाचित भएका हुन् । ओलीले सङ्घीइ संसद्मा बाजी मार्दैगर्दा कार्की पनि झापा ५ (१) बाट प्रदेश सांसद निर्वाचित भएका हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।