दमक ।
संसद् बाहिरका साना दलहरुले अफ्रिकन नेशनल कंग्रेस (एनएनसी) मोडलमा आधारित रहनेगरी ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका हुन् । विद्यमान मुलुकको राजनीतिक परिस्थितिलाई हेरेर विभिन्न ७ राजनीतिक दलहरूले ‘अग्रगामी मोर्चा’ गठन गर्ने सहमति गरेका हुन् । २३ साउन शनिबारका दिन मोर्चाको औपचारिक घोषणा गरिने बताइएको हो ।
मधेस, आदिवासी जनजाति, थारु, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरूले एनएनसी मोडलमा एकीकृत भई मोर्चा घोषणा गर्न लागेका हुन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र बहुजन एकता पार्टी रहने बताइएको छ ।
जसपा नेपालको हालै १३ र १४ साउनमा बसेको केन्द्रीय समिति बैठकले मोर्चाको अवधारणालाई पारित गरेसँगै विचार र मुद्दा मिल्ने फरक–फरक राजनीतिक दलबीच एकीकृत मोर्चा निर्माणमा अगाडि बढ्ने निर्णय गरेको थियो ।
सहभागी दलहरूले मोर्चालाई रणनीतिक रूपमा बलियो र दीर्घकालीन बनाउन आउँदो निर्वाचनमा छरिएर होइन, एउटै साझा चुनाव चिह्न लिएर जनतामाझ जाने गृहकार्यसमेत गर्ने बताइएको छ ।
नेताहरूका अनुसार मोर्चाभित्र विचार, कार्यदिशा र कार्यशैलीका हिसाबले कुरा मिल्दै गएमा भविष्यमा पूर्ण पार्टी एकताकै तहसम्म पुग्ने मार्गचित्र तय गरिएको छ ।
मोर्चाले सङ्घीयता, समावेशीतालगायत हालसम्म प्राप्त राजनीतिक उपलब्धिको रक्षालाई मुख्य प्राथमिकतामा राख्ने भनिएको छ । सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्दै परम्परागत शक्तिहरूको सशक्त विकल्पका रूपमा काम गर्ने मोर्चाको दाबी मोर्चाका नेताहरूले गरेका छन् ।
२३ साउन शनिबार हुने विशेष घोषणा सभामार्फत मोर्चाको साझा न्यूनतम कार्यक्रम र भावी कार्यदिशा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।