पापीलाइ लाभले
लोभीलाइ आशाले
डराउनेलाइ त्रासले
र मूर्खलाइ भ्रमले
अधिन गरेर, संगठन गरेर अपराध गर्ने
मण्डले ।
रुपचन्द्र विष्टले ‘मण्डलेबाट होसियार’ शीर्षकको कवितामा यिनै पङ्क्ती लेखेका थिए । मण्डलेको हकमा विष्टका कविताका यिनै हरफ काफी छन् । यद्धपि यो लेखोटमा नेपाली राजनीतिमा मण्डले प्रवृत्तिको चरित्र चित्रण गर्ने प्रयास गरिने छ । मण्डले प्रवृत्तिको निरन्तरता आज पनि उत्तिकै प्रभावकारी छ । यसर्थ मण्डलेको चरित्र चित्रण गर्नु आवश्यक हुन्छ ।
नेपालको इतिहासमा खासगरी पञ्चायती व्यवस्थाको कालखण्ड (वि. सं. २०२०–२०३६) दशकमा सक्रिय रहेको विवादास्पद् कथित विद्यार्थी संगठन ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ थियो । समयक्रमसँगै यो संगठन बदनाम भयो र आज मण्डले नामले चिनिन्छ । मण्डले प्रवृत्ति आज पनि नेपाली राजनीतिको वंशानुगत रोग हो । हुनलाइ यो संगठनको निहित उद्देश्य, लक्ष थिए । यसको वैचारिक आधार नेपाली राष्ट्रवाद र स्वाधीनता, शिक्षामा सुधार, विद्यार्थी अधिकार, सुशासन, अमनचयन, भ्रष्टाचारको विरोध आदि । सुन्दा कर्णप्रिय लाग्ने शब्दवलीले वैचारिक आधार शृंगारिएको थियो । तर वास्तवमा राजाको प्रत्यक्ष शासन तथा पञ्चायती व्यवस्थाको समर्थन गर्ने, वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलन दबाउन सक्रिय रहने र आन्दोलनको प्रतिकार गर्ने जत्था थियो । राष्ट्रवादी त छँदै थिएन आजको भाकामा महेन्द्रवादी थियो ।
मण्डल र मण्डले :
समान उद्देश्य भएका मानिसहरुको जमात वा समितिलाई ‘मण्डल’ भनिन्छ । मण्डले त्यही मण्डल शब्दबाट अपभ्रंस हुँदै मण्डलमा एकलख लागेर, लगाएर मण्डले भएको हो । यही मण्डले शव्द कालान्तरमा यति कुख्यात भयो कि नेपाली शव्दकोशहरुले पनि परिभाषित गर्ने नौवत आयो । तिनै शव्दकोशले ‘अरुको अहित चिताउने, छुल्याहा, उपद्रया मण्डले’ हो भनेर अर्थ लगायो । रुपचन्द्रको भाकामा भन्ने हो भने, दिमाग खाली, मुड्की ताली मण्डले ।
निर्दलीय पञ्चायती व्यवस्थाको समयमा दलहरु प्रतिबन्धित थिए । ती दलहरु विद्यार्थी संगठनमार्फत् आफ्ना विचार, कार्यक्रम र आन्दोलन अगाडि बढाउँथे । यिनै आन्दोलनको प्रतिकार गर्न मण्डलेको गठन भएको थियो । वि. सं. २०२१–०२२ को विद्यार्थी आन्दोलनले कलेजमा ‘स्वतन्त्र विद्यार्थी युनियन’ (स्ववियु) गठन गर्ने माग पूरा गर्न सरकार बाध्य भयो । वि. सं. २०२२ सालदेखि स्ववियु संस्थागत हुन थाल्यो । तर स्ववियुमा पञ्चायतइतर संगठनले निर्वाचनबाटै कब्जा गर्थे । यस्तैमा मण्डलेको उदय विद्यार्थी संगठनको कार्यक्रम प्रतिकार गर्न भएको थियो । मण्डलेको कथित वैचारिक आधार त देखाउने दाँतमात्र थिए । उनीहरु आतंक सिर्जना गर्न बढी केन्द्रित हुन्थे । बदनाम हुँदै गए ।
अन्ततः मण्डलबाट मण्डले भए । वि. सं. २०३६ सालको विद्यार्थी आन्दोलनको कारण सरकारले मण्डलेलाई प्रतिबन्ध लगाउन बाध्य भयो । मण्डले खारेज भयो । त्यो विद्यार्थी आन्दोलनमा म स्वयम् पनि सरिक थिएँ । मण्डलेका विषयमा लेख्ने यिनै हातले दुई जना मण्डलेलाई धरानमा मोसो दलेर ठेलामा शहर घुमाएको सम्झना झल्को आएको छ । तर नेपाली राजनीतिमा मण्डले प्रवृत्ति अझै बाँकी छ । सरुवा रोग झैँ सरेको छ । मण्डले प्रवृत्ति भनेको आफ्नो अनुकूल नहुनेलाई जुनसुकै उपायबाट अन्त्य गर्ने हो । यसको उदाहरण वरिष्ठ पत्रकार पदम ठकुराठी हुन् । उनको ज्यानै लिनेगरि तिनै भूमिगत मण्डलेहरुले गोली हानेर हत्या गर्ने साजिस गरेका थिए । भाग्यवस् उनको ज्यान जोगियो तर उनले एउटा आँखा गुमाउन पुगे । तर त्यही मण्डले संगठनको उनी संस्थापक अध्यक्ष थिए । यसरी आफ्ना पूर्व अध्यक्षलाई पनि बसिखान नदिने कस्तो संगठन थियो होला ?
तर आजपनि भिन्न रूपमा मण्डलेको भूत जागेकै छ । यसलाई झाँक्रीतन्त्र विद्यामा ‘सेहेँ’ जागेको भनेर बुझिन्छ । बहुदलीय व्यवस्थाको पुनस्थापनापछि नेपाली कांग्रेसको तरुण दलमा, गणतन्त्रको स्थापनापछि माओवादीको वाइसियल, एमालेको युथ फोर्समा मण्डले प्रवृत्ति सरेको थियो । आजभोलि अराजक असंगठित (घण्टी–खराने) ग्याङमा सरेको छ । राजधानीमा सुकुम्बासीलाई बेदखल गर्दा यिनको उपस्थितिले देखाउँथ्यो । यदाकदा माइतिघर मण्डलामा गएर आन्दोलनकारीको प्रतिकार गर्न खोजेको दृश्य हामी सबैले देख्दै भोग्दै आएका छौं । भर्खरै मिडिया हाउसमा कारबम तेस्र्याउने यिनै यान्त्रिक म०डले हुन् । न्यायपूर्ण आन्दोलनलाई सामाजिक सञ्जालमार्फत उछित्तो काढ्ने यिनै डिजिटल मण्डले हुन् ।
मण्डलेका प्रकार
मण्डलेका आकार–प्रकार भने फरक छ । तिनले देखाएको प्रवृत्तिगत चिनारी यस प्रकारले गर्न सकिन्छ । यिनलाई रंग अनुसारको वर्गीकरण गरिएको छ ।
१. पहेँलोपन्थी मण्डले :
यो अग्र्यानिक मण्डले हो । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल नामैले पनि यो अग्र्यानिक हो भन्ने बुझाउँछ । जनमत संग्रहताका पञ्चायतको रंग पहेँलो भएकोले र त्यही व्यवस्थाको हिमायती भएकोले यो जातको मण्डले पहेँलपुर मण्डले हो ।
२. निलोपन्थी मण्डले :
जनमतताका बहुदलीय व्यवस्थाको रंग निलो थियो । यी कांग्रेसीहरुको अधिकतम लक्ष पनि बहुदलीय व्यवस्थासम्म मात्र हो । यसैले स्वभावैले यी निलाम्बर मण्डले भए ।
३. रातापन्थी मण्डले :
कम्युनिष्टका झण्डादेखि दर्शन, पुस्तक सबै राता हुनाले यिनलाई रातापन्थी वा राता मण्डले नाम दिनु उपयुक्त हुन्छ । यी मण्डलेमा वाइसिएल र युथ फोर्स हुन् ।
४. कालापन्थी मण्डले :
जेनजी विद्रोहयता देखिएका यी काला मण्डले हुन् । यी अराजक खरानेहरुलाई अंगार मण्डले नाम दिए पनि हुन्छ । यिनका गुरूबाउहरु कालो चश्मा, कालै लुगा, कालो सिसा भएका कालै गाडीमा चढ्ने भएकोले यिनीहरु काला मण्डले भए । देश नै अंगारमा परिणत गरिदिएकोले पनि कालापन्थी मण्डले भन्नु अन्यथा हुने छैन । केही बर्खा अगाडि यिनले निलो क्रान्ति गर्न भनेर निलो रिवन लगाएका थिए । तर त्यो त देखाउने दाँतमात्रै थियो । निलो रंगसँग मोह भङ्ग भैसकेको थियो । गत भदौ २४ गतेको विध्वंस मच्चाउने यिनीहरु काला मण्डले हुन् ।
रहलपहल :
अन्याय, अन्धभक्ति, चाकरी, अवसरवाद र जनविरोधी प्रवृत्ति मण्डले प्रवृत्ति हो । पहेँला अग्र्यानिक मण्डलेको पतनपछि नीला मण्डले, राता मण्डले हुँदै काला मण्डलेमा भूत सवार भएको छ । नीला, राता, काला मण्डले पहेँलो मण्डलेको अवतार हो । धामी, झाँक्री, बिजुवा, ओझाको भाकामा भन्दा काला मण्डलेमा पहेँलो मण्डलेको सेहेँ जागेको हो । राम्रोसँग झारफुक गरेर कालो मण्डलेलाई काँचो धागोले बाँधेर दोबाटोमा नगाडेसम्म, वाचा बन्धन र मन्त्रले चारै दिशा नबाँधेसम्म चैन हुँदैन है मनुवा हो । हेरहेर मनुवा हुरहुर ।
bhawanibaral@gmail.com

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।