कक्रोच जनता पार्टी (सिजेपी) भारतको एक व्यंग्यात्मक युवा आन्दोलनको रूपमा विकसित भएको छ । सन् २०२६ मा चिकित्सा अध्ययन अनुमतिका लागि लिइएको (प्रवेश परीक्षा) नीट युजीमा प्रश्नपत्र लीकविरुद्ध, शिक्षण प्रणालीको सुधार र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सिजेपीले आह्वान गरेको आन्दोलन आज भारतभर फैलिएको छ । मई २०२६ मा भारतको सुप्रिमकोर्टका मुख्य न्यायाधीश सूर्यकान्तले दिएको विवादास्पद् टिप्पणीबाट उत्प्रेरित भएको हो । बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रिय पुस्तालाई उनले साङ्ला (कक्रोच) र परजीवी (पारासाइट्स) भनेर हेपाहा शव्द प्रयोग गरेका थिए ।
पृष्ठभूमि :
मई १६, २०२६ मा बोस्टनका विद्यार्थी र सञ्चार रणनीतिकार अभिजीत दिप्के ले कक्रोच जनता पार्टीको स्थापना गरे । यो आन्दोलन भारतको सत्तासिन भारतीय जनता पार्टी (विजेपी) लाई व्यंग्य गर्ने किसिमले विकसित भयो । नीट युजी २०२६ परीक्षामा पेपर लीक भएको आरोप लागेपछि परीक्षा रद्द भयो, पुनः परीक्षा भयो । तर, यसबीचमा १३ बढी विद्यार्थीले आत्महत्या नै गरे । त्यतिमात्र नभएर कक्षा १२ को परीक्षाको प्रश्नपत्र अन स्क्रीन जाँचमा समेत अनियमितता भएको पुष्टि भएसँगै सिजेपीतर्फ युवा विद्यार्थीको आकर्षण बढेर गयो । वर्षमा करिब २० लाख विद्यार्थी नीट युजी परीक्षामा सामेल हुन्छन्, तर सिट संख्या जम्मा १.३ लाख जतिमात्र हुन्छ ।
मुख्य घटनाक्रम :
६ जुन २०२६ मा अभिजीत दिप्के अमेरिकाबाट भारत फर्केर भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा सिजेपीको पहिलो सडक प्रदर्शन गरे ।
७–१९ जुनमा आवधिक धर्ना, डिजिटल अभियान र जागरण कार्यक्रम भए ।
२० जुनबाट जनतर मन्तरमा अनिश्चितकालीन बसाइको घोषणा ।
२८ जुनमा भारतीय शिक्षाविद् एवम् पर्यावरणविध् बैज्ञानिक सोनम वाङ्चुक ले ६ जना सिजेपी समर्थक विद्यार्थीहरुसँगै आमरण अनसन सुरु गरे । उनीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई मुख्य माग बनाए ।
वाङ्चुकले लगातार २६ दिनपछि हिजो (बिहीबार राति)मात्रै अनसन तोडेका छन् ।
जुलाई उत्कर्ष :
१८ जुलाईमा दिल्ली प्रहरीले उच्च अदालतको आदेशको हवला दिँदै अनसनरत वाङ्चुकलाई जन्तर मन्तरबाट उठाएर जबर्जस्ती सफदरजंग सरकारी अस्पताल पुर्यायो ।
२० जुलाईका लागि सिजेपीले आह्वान गरेको संसद् भवन मार्चमा सहभागी हुन ५० हजार बढी विद्यार्थी, युवा, सिजेपीका समर्थक, बलिउड कलाकारलगायत सहभागी भए । प्रहरी र अर्ध सैनिक बल (सिआरपी)समेत प्रयोग गरेर भाजपा सरकारले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर पार्न खोज्यो ।
११८ प्रहरी र १०० जना भन्दा बढी प्रदर्शनकारी साे प्रदशर्नमा घाइँते भए । प्रहरीको बल प्रयोगविरुद्ध प्रदर्शनकारीले ढुंगा प्रहार गरे ।
२१–२२ जुलाईमा प्रदर्शनकारीले जन्तर मन्तर पुनः कब्जा गरे । विपक्षी दलहरू (कांग्रेसलगायत)ले समर्थन गरे । अन्तर्राष्ट्रिय रूपमा न्यूयोर्क, लन्डन आदि ठाउँमा सिजेपीले गरिरेहको आन्दोलनको समर्थनमा प्रदर्शन भए ।
२३ जुलाईमा वाङ्चुकलाई केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डा र केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री डा. जितेन्द्र सिंहले लिखित प्रस्तावसहित मेदान्त अस्पतालमा भेटेका थिए । सो भेटपछि मन्त्रीहरुबाट लिखित आश्वान सुनेर उनले अनसन तोडे । सरकारी पक्षको लिखित आश्वासनमा जन्तर मन्तरमा सहभागी प्रदर्शनकारीविरुद्ध सरकारले मुद्दा नचलाउने, नीट परीक्षाका कारण आत्महत्या गरेका विद्यार्थीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, शिक्षा सुधारबारे संसद्मा छलफल गरिने र जारी आन्दोलनलाई हिंसात्मक हुनबाट बचाउन र शान्तिपूर्ण बनाउन सरकारका तर्फबाट सकारात्मक भूमिका खेल्ने विषय समावेश थिए । तर सिजेपीले शिक्षामन्त्री प्रधानको राजीनामा र शिक्षाक्षेत्रको गहिरो सुधारको माग गर्दै आन्दोलन जारी राखेको छ ।
प्रभाव र तथ्यांक :
सिजेपीको इन्स्टाग्राममा पछिल्लो २ हप्तामा १७ मिलियन फलोअर नाघ्यो । भारतमा यो जेनजी पुस्ताको डिजिटल र सडक दुवै आन्दोलन हो जसले भारतीय विद्यार्थी महासंघ, अखिल भारतीय विद्यार्थी संगठन र अखिल भारतीय विद्यार्थी महासंघ जस्ता विद्यार्थी संगठनहरुसँग सहकार्य गरेको छ ।
सिजेपी नेतृत्वको शिक्षा सुधार आन्दोलन अझै जारी छ । यस आन्दोलनलाई २०११ को अन्ना हजारेले नेतृत्व गरेको भ्रष्टाचार विरोधी आन्दोलनसँग तुलना गरिएको छ । यसले भारतीय युवाको निराशा र शिक्षण प्रणाली सुधारको मागलाई राष्ट्रिय मुद्दा बनाएको छ । बलियो पकडसहित १२ वर्षदेखि भारतीय सत्ताको नेतृत्वमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भाजपालाई सिजेपीको पछिल्लो आन्दोलनबाट उत्पन्न दबाब थेग्न हम्मे हम्मे परिरहेको छ ।
एजेन्सीहरुको सहयोगमा ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।