एजेन्सी ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा गरेका हुन् ।
शुक्रबार त्यहाँस्थित राष्ट्रपतिको कार्यालयले राजीनामा बारेको सूचना सार्वजनिक गरेको हो ।

७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिका रूपमा कार्यरत थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी आन्दोलन भयो । सो आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर निर्वासनमा भारततर्फ भागिन् । जसका कारण केही समयको राजनीतिक अस्थिरतापछि त्यहाँ निर्वाचन सम्पन्न भएर मध्यममार्गी विचार बोकेको पार्टी सत्तामा छ । त्यसअघि संक्रमणकालीन अवधिका लागि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले सत्ता सम्हालेका थिए ।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा शाहावुद्दिनले भनेका छन्, ‘हालै गरिएको स्वास्थ्य परीक्षणबाट मलाई अटोनोमिक न्युरोप्याथी नामक रोग लागेको पुष्टि भएको छ । यसका कारण कहिलेकाहीँ म केही क्षणका लागि चेतनाहीन हुने गर्छु ।’

विज्ञप्तिअनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुखले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

अबको ५ महिनापछि स्वदेश फिर्न लागेकी हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध कायमै छ भने २०२४ मा उनको सरकार ढाल्ने विद्यार्थी आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता जेल परेका छन् वा लुकेर बसेका छन् । हसिनाका लागि यो राजीनामा सकारात्मक संकेत नभएको अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्