विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा हिंसाका अनेक घटना भएका इतिहास र समाचार हामी नेपालीले पढेका, सुनेका छौँ । खासगरी अफ्रिकी मुलुकहरूमा चेलेका दशकौँ लामो द्वन्द्वका घटनाले हामीलाई आज पनि आतङ्कित पार्दछ । सार्क मुलुक श्रीलंकाको दशकौँ लामो पृथकतावादी लडाइँ होस् वा भारत, पकिस्तान, अफगानिस्तानमा भएका र हुने आतङ्कवादी हमलाका घटनाहरूले हामीलाई झस्काउँछ । त्यस्तै, इराक, इरानजस्ता मुलुकमा भएका बिगतका र वर्तमानका युद्ध र अतिवादी समूहहरूको हिंसा, रुस र युक्रेन युद्ध, अमेरिका र इजरायलले इरानमाथि गरिरहेको आक्रमणजस्ता घटना सम्झँदै कहालीलाग्दा हुन्छन् ।

अर्थात् हामी र हाम्रो देश, समाजले पनि १० वर्षको जनयुद्ध चाहेर/नचाहेर भोग्न बाध्य भयो । त्यसबाट बाहिर निस्कन हामीलाई अरू १ दशक समय लाग्यो । अझै बेपत्ता पारिएका मानिसहरूको खोजबिन र द्वन्द्वका समयमा मानव अधिकार उल्लंघनका घटनाबारे सत्य निरुपणबारेका विषय टुङ्गिन बाँकी नै छन् । हालसालैको गत २३ र २४ भदौको जेनजी विद्रोह र आन्दोलनको मानवीय क्षति र भौतिक क्षति, सरकारी सम्पत्ति र राष्ट्रिय सम्पदाहरूको क्षति, व्यक्तिका घर, व्यवसायमा आगजनी, तोडफोड, लुटपाटका घटनाको समेत याथार्थ छानबिन हुन बाँकी नै छ । ती यावत घटनाका दोषीहरूउपर कारबाहीको विषय थाँती नै रहेको अवस्था छ ।

अफ्रिकी, पूर्वी एसिया, युरोपेली र अमेरिकी मुलुकहरूले भोगेका द्वन्द्व र हिंसात्मक घटनाका दर्दनाक दृश्यमा त्राहिमाम नहुने नेपाली सायदै होलान् । उसो त द्वन्द्वकालीन नेपालले पनि कुकर बम, सकेट बमदेखि कुकुर बमसम्मका उत्पात त्रासदी नदेखेका भने होइनौँ । यद्यपि, कोही पनि नेपाली नागरिक हिंसा, युद्ध र द्वन्द्वको पक्षमा थिएनन् र छैनन् । तथापि मुलुकमा परिवर्तनका पालुवाहरू फेरिँदै आउने क्रममा नेपाल पनि अनेक प्रयोगका हिसाबले अगाडि नै छ । जस्तो कि, भर्खरै सत्तासीन तमासामा हामीले नयाँ प्रयोग गरेका छौँ । मिडियाले सत्ताको भक्तिगान गाएन र सलामी टक्र्याएन भनेर तर्साउने, धम्काउने र गलाउने मनसायले मिडिया हाउसका गेटहरूमा लगेर अव्यवस्थित कार पार्किङस्थल बनाउने । त्यतिले नपुगेर आफैँ गुप्तचर संयन्त्र प्रयोग गरेर खबर सन्सनीपूर्ण बनाउन लगाउने र धम्कीपूर्ण कृत्य ‘कारबम’ को क्रेडिट सत्तासीनहरूकै टाउकामा पोखिने निश्चित भएपछि हत्तार–हत्तार सत्तासीन दलले विज्ञप्ति निकालेर प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताका उत्पात दुहाई दिएर नथाक्ने ।

नेपालको सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध र सत्ताको नजिक रहेका व्यक्तिहरूको नाममा रहेका तीनवटा कार कान्तिपुर मिडिया, हिमालय टेलिभिजन र अनलाइन खबरको मूल गेटअगाडि लगेर यसरी राखियो कि मानौँ ती मिडिया देशघातका मतियार हुन् । जसरी प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जमिन मिचेको देशघाती वाणी संसद्बाट पस्किए, त्यसको विरुद्धमा ती मिडियाले प्रधानमन्त्रीको विज्ञताविरुद्ध अनेक विषय उछाले, त्यो नै उनीहरूको निम्ति सत्ताले दिएको नसियत थियो । यसरी नेपालको सत्तामा नयाँ र जिम्मेवार भएर प्रवेश गरेको रास्वपाले पूरानाले पनि गर्न नसकेको सत्ता आतङ्कका रूपमा नेपाली मिडियाले यो ‘कारबम’ भोग्न बाध्य भयो । यस घटनाले विश्वभर आतङ्कका अनेक आयाम बारे पढेको नेपालीले आफ्नै मुलुकमा अचम्म गरी सत्ताको योजनामा सामाजिक सञ्जालमा मात्रै विष्फोट हुने ‘कारबम’को बारेमा जान्ने, देख्ने र भोग्ने सौभाग्य पाए । यो चाहिँ रास्वपा सत्ताको १०० दिनको सफलता मध्येको पहिलो उपलब्धिकै रूपमा रह्यो ।

जबकि मिडिया हाउसहरूमा आतङ्क सिर्जना गर्न सत्ताका आसेपासे संलग्न हुँदा र तिनको पहिचान हुँदा पनि यो विषय बलात् गुपचुप पारियो । कुनै थप अनुसन्धान र कानुनी कारबाही भएन । यसबाट वर्तमान सत्ताको निहित स्वार्थ के हो ? ध्येय के हो ? भन्ने स्पष्ट हुन्छ । मिडियाले गरिरहेका प्रश्नबाट सत्ता यति डराएको छ कि सामाजिक सञ्जालहरूमार्फत ऊ आफ्ना समर्थकहरूलाई प्रयोग गरेर मिडियाविरुद्धको त्यो ‘कारबम’ आतङ्कलाई पनि सही, ठीक, जायज र न्यायिक ठह¥याउन लागि परेको लज्जास्पद दृश्य पनि देखियो । जहाँसम्म सत्ताको बुझाइको स्तर र गराइको प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने चाहिँ यति पक्कै भन्न सकिन्छ कि कारबमको सत्ता आतङ्कले नेपाली मिडियालाई तर्साउन, धम्काउन र घुँडा टेकाउने प्रयास त फेरिफेरि र पटक–पटक हुन सक्छन् । तर, यस्ता हर्कतले सत्ताका गल्ती र बदमासी न सुध्रिन्छन्, न त तिनलाई क्षमादान गर्नै सकिन्छ ।

सत्ता सञ्चालन गरिरहेको शक्ति र त्यो शक्तिको प्रयोग गरिरहेको बालेन टिमको ‘कारबम’ स्टन्ट नेपाली मिडियाका लागि जच्ने र पच्ने विषय होइन । न त त्यो चर्चालायक विषय नै हो । अझ सत्तासँगै आतङ्क र बम जस्ता शब्द जोडिने लज्जास्पद विषय हो । यस्ता विषय उल्लेख गर्नु पनि खेदजनक हो । तर, यो नेपाली मिडियाले सिर्जना गरेको दुःख भने होइन । यो त सत्ताले नै मिडियामाथि आफ्नो विषाक्त दाह्रा–नङ्ग्रा गाढ्ने कुचेष्टा र आपराधिक मनसायको रचेको चक्रव्यूह हो । जुन चक्रव्यूहमा कुनै पनि मिडिया पर्दैनन् । किनकि मिडियाले आफ्नो सत्व छाड्दैन । त्यसबाट विचलित हुँदैन । सेनाले न्यूजरुम कब्जा गर्दा पनि तथ्य लेख्न नडराएको नेपाली मिडियाले कारबमको धम्कीबाट डराउनु पर्ने कुनै कारण छैन । तर, यस्ता हर्कतको सशक्त प्रतिवाद भने गर्नै पर्दछ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्