दमक ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ७ अव्यवस्थित बसोवासी परिवारलाई शनिबार लालपुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति झापाले आवश्यक प्रक्रिया पूरा गरेर अव्यवस्थित बसोवासी७ घरपरिवारलाई कुल १ बिघा ४ कठ्ठा ५ धुर जग्गाको स्वामित्वको लालपुर्जा वितरण गरेको हो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापाको प्रमुख जिल्ला अधिकारी तथा भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेलले लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
लालपुर्जा पाउनेहरुमा अर्जुनधारा ११ का सुनिता बिक समेत , रेणुका देवी दर्जी, राहन सिंह याक्खा, सरिता दर्जी , बसन्त कुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नाम छन् ।
प्रजिअ पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा ६२ हजार भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिएका छन् ।
भूमिहीन दलित तर्फ २ हजार ८९३ वटा आवेदन परेको छ भने भूमिहीन सुकुमबासीतर्फ १५ हजार ७२८ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ६६६ आवेदन परेका छन् ।
जिल्लाका सबै १५ वटा स्थानीय तहको नेतृत्वमा सक्रियताका साथ प्राप्त आवेदनबारे छानबिन भइरहेको भन्दै भूमि समस्या समाधान समितिका संयोजक पोखरेलले प्रचलित कानुन बमोजिम मिल्ने निवेदनकर्ताहरूलाई समितिको क्षमताको आधारमा उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण गरिने बताए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।