दमक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अन्तिम मत परिणामसँगै २३१ जना केन्द्रीय समितिका नेता चुनावी प्रतिस्पर्धाबाट छानिएका छन् ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेमा विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित र बाँकी ६६ जना केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ ।
नयाँ विधानअनुसार सभापति, वरिष्ठ उपसभापति, महिला उपसभापति र समावेशी उपसभापति एक–एक जना तथा खुला उपसभापति २ जना निर्वाचित भएका हुन् ।
सभापतिमा गगनकुमार थापा ९३.८८ प्रतिशत मत पाएर निर्वाचित भए । उनले उम्मेदवारमध्ये सर्वाधिक मत पाएका हुन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए भने खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भए भने समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका हुन् ।
महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा, महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भइन् ।
११ जना विभिन्न समावेशी समूहबाट सह–महामन्त्री निर्वाचित भएका छन् भने बाँकी ४ जना मनोनीत गरिने व्यवस्था छ । खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका हुन् ।
खुलातर्फका ४५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यस्तै, पेसागत तथा विषयगत क्षेत्रबाट ७ जना र जनसम्पर्क समितिबाट ७ जना केन्द्रीय सदस्य चुनिएका हुन् ।
केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रबाट २ जना र अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट क्रमशः १–१ जना निर्वाचित भएका हुन् भने काठमाडौं उपत्यकाबाट २ जना केन्द्रीय सदस्य चुनिएका छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।