दमक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम शुक्रबार रातिसम्म सार्वजनिक हुने भएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शुक्रबार रातिसम्ममा सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी दिएका हुन् ।
१५औँ महाधिवेशनबाट निर्वाचित हुने सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ भने अब केन्द्रीय सदस्य खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना जारी रहेको छ ।
कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ । निर्वाचन समितिले मतगणनालाई विभिन्न समूह बनाएर मत गणना कार्यलाई तीव्रता दिएका कारण आजै अन्तिम मत परिणाम आउन लागेको हो ।
ठूलो संख्यामा उम्मेदवार रहेकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको निर्वाचन समितिको भनाइ छ ।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन् ।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला तथा खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।