आफ्नै मिस्त्रीले घर भत्काए, नगर प्रमुखले प्रहरीलाई दोष लगाए
दमक ।
२३ असोजको बिहानै दमक नगरप्रमुख रामकुमार थापाको निर्माणाधीन घर तोडफोड भएको खबर बाहिरियो । केही बेरमै यो खबरले दमकमा सनसनी मच्चियो । दमकबासीले यो घटना निन्दनीय भएको र दोषीमाथि कारबाही गर्न माग गरे । नगरप्रमुख थापा पनि भत्किएको घरमा पुगे ।
त्यहाँ पुगेका उनले घर भत्किएकोमा चिन्ता व्यक्त गर्नुभन्दा दमकको शान्ति सुरक्षामाथि प्रश्न उठाए । १ वर्षअघि जेनजी आन्दोलनमा आगजनी भएको घर चन्दा उठाएर नगरप्रमुख थापाले बनाइरहेका छन् । बनाउँदै गरेको घरको वाल भत्काएपछि उनी दमकको शान्ति सुरक्षा गर्ने इलाका प्रहरी कार्यालयमाथि खनिएका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रहरी अधिकारीहरूलाई फोन गरेर हप्काउँदै नगरप्रमुख थापाले पत्रकार सम्मेलन गरेर प्रहरी प्रशासनलाई नाङ्गो बनाउने धम्कीसमेत दिएको स्रोतको दाबी छ ।
प्रहरीको निष्क्रियताका कारण आफ्नो घरमा आक्रमण भएको भन्दै नगरबासीको सहानुभूति बटुल्ने र प्रहरीको मनोबल गिराउने नियतका साथ उनले सञ्चारमाध्यममा अनर्गल बयानबाजी सुरु गरे । तर, घर तोडफोड हुनुको तथ्य बाहिरिएपछि भने नगरप्रमुख थापा नाजवाफ छन् । प्रहरीलाई विवादमा ल्याउने र दमकको शान्ति सुरक्षा कमजोर भएको देखाउने थापाको प्रपञ्चले काम गरेन । तर वास्तविकता चाहिँ प्रहरीलाई दोष लगाएका नगरप्रमुख थापाको घर तोडफोड गर्ने व्यक्ति भने उनको घरमा काम गर्ने श्रमिक नै भएको खुल्यो ।
घटनाको पर्दाफास भएसँगै प्रहरीलाई विवादमा तानेर आफू ‘भिक्टिम कार्ड’ खेल्ने नगरप्रमुख थापाको नियत केवल ‘ब्याक फायर’ मात्र भएको छैन, बरु उनले आफ्नै घर बनाउने सोझा कामदारमाथि गरेको श्रमशोषणको कुरूप अनुहारसमेत उधाङ्गिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नगरप्रमुख थापाको निर्माणाधीन घरको दोस्रो तलामा लगाएको इँट्टाको गारो अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको र त्यस्ता गतिविधिले समाजमा शान्ति सुरक्षामा असर पु¥याएको भन्नेजस्ता समाचार आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । अनुसन्धानका क्रममा दमकका नगर प्रमुख थापाको घरको दोस्रो तलामा लगाएको पर्खालको केही भाग सोही घर निर्माण कार्यमा संलग्न कामदार सतनारायण ऋषिदेवले भत्काएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका ऋषिदेवले काम गरेवापतको पारिश्रमिक नपाएकोले आवेशमा आई गारो भत्काएको बताएको प्रहरीले जनाएको छ । नगर प्रमुखले आरोप लगाएपछि प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै ती व्यक्तिलाई केही घण्टाभित्र पक्राउ गरेको थियो । प्रहरीले सत्यतथ्य बाहिर ल्याएर दोषीलाई नियन्त्रणमा लिइसकेपछि नगरप्रमुख थापाको अत्तोपत्तो छैन । घरको गारो भत्काएको विषयलाई लिएर प्रहरीमाथि खनिएका थापाको घर बनाइरहेका ठेकेदारले भने करिब ४५०० रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरी मुचुक्लामा बताएका थिए ।
आफ्नै कामदारलाई पारिश्रमिक नदिएर श्रमशोषण गरेको तथ्य सार्वजनिक भएपछि नैतिक रूपमा नाङ्गिएका थापा अहिलेसम्म जाहेरी दिनसमेत इलाका प्रहरी कार्यालय पुगेका छैनन् । प्रहरीले पटक–पटक सम्पर्क गर्दा पनि उनी कानुनबमोजिमको प्रक्रियामा सहभागी हुन पन्छिरहेका छन् ।
प्रहरीलाई आक्षेप लगाउने योजना असफल भएको र आफ्नै कामदारले घर भत्काएको पाइएकाले ‘ब्याक फायर’ भएपछि उनी उजुरी दिन नगएको स्रोतको दाबी छ । पछिल्लो समय उनले नदीजन्य सामग्रीको अवैध उत्खनन्मा राजस्व चुहावट गरे विषय सञ्चारमाध्यममा आएपछि उनी विवादित छन् ।
यस्तै, भ्रष्टाचार निवारण ऐनविपरीत नगर प्रमुख थापाले घर बनाउन चन्दा संकलन गरेको सामाचार पनि प्रकाशन भएपछि उनी भड्किएका नगरबासीको सेन्टिमेन्ट लिन चहान्थे । त्यही कारण घर भत्काएको विषयलाई उनले प्रहरीसँग जोडे । तर, प्रहरी अनुसन्धान सार्वजनिक भएसँगै नगर प्रमुख थापाले उल्टै श्रमिकमाथि शोषण गरेको आरोप लाग्यो । जसको प्रतिवाद गर्न उनी असमर्थ देखिएका छन् ।
किन प्रहरीलाई आक्षेप लगाउँछन् नगरप्रमुख थापा ?

नगरप्रमुख थापाको आफ्नै शैली छ । उनी न कसैको सुझाव सुन्छन् न त सुझाव नै कार्यान्वय गर्छन् । राजाको प्रत्यक्ष शासनकालमा दमकको ‘टिके’ मेयर भएका उनी अहिले पनि त्यही शैली अपनाउन खोज्छन् । आफूलाई मन नपरेको मान्छेलाई जसरी हुन्छ असफल बनाउन लाग्छन्, उनी । यही शैलीका कारण इलाका प्रहरी कार्यालयमा आउने कार्यालय प्रमुख हैरान हुन्छन् । अहिले दमकको सुरक्षा कमान्ड सम्हालिरहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत हुन् या यसअघिका कार्यालय प्रमुखहरू हुन् सबै नगरप्रमुख थापासँग रुष्ट छन् ।
यसअघि इलाका प्रहरी कार्यालयको प्रमुख भएर आएका राम तिम्सिनालाई त नगर प्रमुख आफैँले सरुवा गरेको दाबी गर्दै आएका छन् । आफूलाई नगर प्रमुख थापाको स्वकीय सचिव बताउने (तर, आधिकारिक नभएको) भुवन ढकालले धेरै ठाउँमा तिम्सिनाको सरुवा नगर प्रमुख थापाले गरेको भन्दै प्रचार गर्दै आएका छन् । यसका लागि शक्ति केन्द्रसँग पनि पुगेको साप्ताहिक बहसकर्मीसँगको अनौपचारिक गफमा समेत उनले दाबी गरेका थिए ।
नगर प्रमुख थापाले इलाका प्रहरी कार्यालय दमकलाई नगर प्रहरीलाई गरे जस्तो व्यवहार गर्न खोज्दा ‘टसल’ उत्पन्न हुने गरेको छ । नगरप्रमुख थापाले एक सार्वजनिक कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख हरिबहादुर बस्नेतलाई अनावश्यक र गलत आक्षेप लगाएपछि टसल सुरु भएको हो ।
त्यति मात्रै हैन, नगरप्रमुख थापाले कानुनविपरीतका काम गर्न दबाब दिने गरेको र नमान्दा टसल उत्पन्न हुने स्थिति आउने गरेको इलाका प्रहरी कार्यालय दमकको प्रमुख भएर विगतमा बसेका एक प्रहरी नायब उपरीक्षक बताउँछन् । नगर प्रमुख थापाले इलाका प्रहरी कार्यालयको कामप्रति असन्तुष्ट जनाउँदै आएका थिए ।
खासगरी दमक क्षेत्रमा सिटी रिक्साका कारण धेरै दुर्घटना भएको र सवारीसाधन अनुमतिपत्र, सिटी रिक्साको कागजातसमेत नहुँदा सवारी बिमा नभएका कारण दुर्घटना हुँदा धेरै सिटी चालक कारगार नै जानुपर्ने अवस्था छ । यो समस्या आएपछि इलाका प्रहरी कार्यालय दमकले अभियान नै चलाएर लाइसेन्स र कागजात नभएका सिटी रिक्सालाई नियन्त्रणमा लियो ।
तर, नगर प्रमुख थापा यसमा असन्तुष्ट थिए । उनले इलाका प्रहरी कार्यालय दमकलाई पत्र नै लेखेर यो रोक्न भने । तर, प्रहरीले कानुनविपरीत सञ्चालन हुने सिटी सफारी नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिएपछि नगरप्रमुख थापा इलाका प्रहरी कार्यालयसँग थप बिच्किएका हुन् । त्यसकै परिणामस्वरूप उनले आफ्नो घर भत्किँदा प्रहरीलाई दोष लगाए ।
त्यति मात्रै हैन, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको सरुवा माग्नसमेत थापा पछि परेनन् । उनका विश्वास पात्र तथा आफूलाई स्वकीय सचिव बताउने भुवन ढकाले शक्ति केन्द्रमा डिएसपी बस्नेतको सरुवा माग्दै पुगेको स्रोतको दाबी छ । तर, शक्ति केन्द्रले ढकालको कुरालाई बेवास्ता गरेको थियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।