दमक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनार १ जना महिलालाई अपशब्द प्रयोग गरेर धम्क्याएको आरोपमा पार्टीको आन्तरिक छानबिनमा परेका छन् ।
सांसद सुनारविरुद्ध तत्काल छानबिन गर्न रास्वपा अनुशासन आयोगलाई निर्देशन दिइएको हो ।
रास्वपा महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा सुनारलाई सांसद र पार्टीको नेताका हैसियतले सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको उल्लेख छ ।
एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारमाथि कारबाही अगाडि बढाएको हो ।
‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।’
रास्वपा विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको हवला दिँदै जारी विज्ञप्तिमा कानुनको उल्ल्ंघन वा पदीय आचरणविरुद्धको कार्यमा राजनीतिक संरक्षण नदिने भनेको छ ।
उसले आन्तरिक छानबिनको प्रतिवेदनका आधारमा सांसद सुनारविरुद्ध कानुनी र पार्टी विधानबमोजिमका कदम चाल्ने जनाएको हो ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।