दमक ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले २१ फागुनको निर्वाचनपछि पार्टीलाई धक्का लागेको बताएका छन् ।

बुधबारबाट ललितपुरको ज्यापु भवनमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकको दोस्रो दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले निर्वाचन परिणामले जसपा नेपालको राष्ट्रिय राजनीतिमा पहुँच र भूमिका कमजोर बनेको जनाएका हुन् ।

प्रस्तुत प्रतिवेदनमा ‘चुनावी हारलाई केवल हारका रूपमा मात्र नहेरी पार्टीको कार्यदिशा, साङ्गठनिक अवस्था, नेतृत्व शैली र जनसम्बन्धबारे निर्मम आत्मसमीक्षा गर्नुपर्ने सङ्केतका रूपमा लिनुपर्ने’ भनिएको छ ।

यादवबाट प्रस्तुत प्रतिवेदनमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनादेशले सरकारलाई नीति तथा कानुन कार्यान्वयनको अवसर दिएको तर, सर्वसत्तावाद र शक्ति केन्द्रीकरणको जोखिम बढाएर लगेको औँल्याइएको छ ।

‘राज्यका प्रमुख निर्णयहरू सीमित केन्द्र वा व्यक्तिमा सीमित हुँदा लोकतान्त्रिक संस्था, न्यायपालिका र सञ्चारमाध्यमको स्वायत्तता कमजोर भई अधिनायकवादी प्रवृत्ति विकसित हुन सक्ने’ भनी जोखिमको समेत संकेत गरिएको छ ।

लोकतन्त्रको रक्षाका लागि राजनीतिक सहिष्णुता, संस्थागत संयम, विपक्षीको सम्मान र विधिको शासन आवश्यक पर्ने सुझाउँदै प्रतिवेदनमा संविधान वा निर्वाचनमात्रै पर्याप्त नहुने उल्लेख छ ।

सत्ताको आडमा कानुनको दुरुपयोग गरेर प्रणाली कम्जोर पार्न नहुने भन्दै यादवले राजनीतिक प्रतिस्पर्धीलाई शत्रु नभई सहयात्रीका रूपमा स्वीकार गर्न सक्नुपर्ने उल्लेख गरेका छन् ।

उनले सुशासनको अभाव, आर्थिक समृद्धि र रोजगारीको कमी तथा कमजोर शिक्षा र स्वास्थ्य सेवाका कारण नयाँ राजनीतिक विकल्पको माग बलियो भएको जिकिर गरेका छन् ।

रास्वपाले ‘सुशासन र विकास’लाई मूल नारा बनाएर सामाजिक सञ्जालमार्फत एल्गोरिदमको प्रभावकारी प्रयोग गरेर चुनवाी सफलता पाएको यादवले आफ्नो प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस, कम्युनिस्टका विभिन्न धार, राप्रपा र नेकपा (माओवादी केन्द्र) लगायतका परम्परागत शक्तिहरूप्रति जनताको असन्तुष्टि बढ्दै गएको भनिएको छ ।

यादवबाट प्रस्तुत ३८ पृष्ठ लामो सो प्रतिवेदनबारे बिहीबारको बैठकमा ७ वटा समूह विभाजन गरेर समूहगत छलफल भइ सुझावसहित पारित गरिएको जसपा केन्द्रीय स्रोतले जनाएको छ ।

शुक्रबारसम्म चल्ने बैठकमा अन्तिम दिन सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्