दमक ।
कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि बिर्तामोड भेट्रान क्बलले जितेको छ ।
दमक २ स्थित बेलगाँडी खेलमैदानमा बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि चुमेको हो ।
फाइनल खेलमा पहिलो हाफको १७औं मिनेटमा बिर्तामोडका प्रवेश कट्वालले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको २८औं मिनेटमा गोल गर्दै रविन राईले बिर्तामोडको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा पाएका सुन्दर अवसर सदुपयोग गर्न नसक्दा २ गोलले पछि परेको दमकले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका प्रविण राई भए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर विर्तामोडका तीर्थ रिजाल चुनिँदा विर्तामोडका मोहन गुरुङ उत्कृष्ट डिफेन्डर र भूपेन लिम्बू उत्कृष्ट मिडफिल्डर घोषित भए ।
यसैगरी म्यान अफ द सिरिजको उपाधि भने दमक रातोका तुल बहादुर मगर(तुला) ले हात पारे ।
असोज १५ देखि २१ गतेसम्म सञ्चालित प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ५१ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
जनप्रतिनिधिसँग पत्रकार स्तब्ध
फाइनल खेल अघि दमक नगरपालिकाका जनप्रतिनिधि र पत्रकार मञ्च दमकबीच भएको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिको टिम २–१ गोलअन्तरले विजयी भएको थियो ।
सो खेलमा जनप्रतिनित्रितर्फबाट खड्ग राई र कुमार वनेमले गोल गरेका थिए ।
पत्रकार मञ्च दमकका तर्फबाट १ मात्र गोल वीरेन्द्र सुब्बाले गरेका थिए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।