दमक भेट्रान च्यालेन्ज कप–२०८३ फाइनल
दमक ।
कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधिका लागि आज (बुधबार) आयोजक दमक भट्रान रातो र विर्तामोड भेट्रानबीच फाइनल प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजेबाट फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
सोमबार दमक २ स्थित बेलडाँगी खेलमैदानमा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा भेट्रानलाई पाखा लगाउँदै आयोजक दमक भेट्रान रातोले विर्तामोडसँगको फाइनल भिडन्त पक्का गरेको थियो भने पहिलो सेमिफाइनल खेलमा चन्द्रगढी भेट्रानलाई स्तब्ध पार्दै विर्तामोड भेट्रान फाइनल प्रवेश गरेको थियो ।
काकरभिट्टा भेट्रानलाई सडनडेथमा ४–३ को गोल अन्तरले पराजित गर्दै आयोजक दमक रातो फाइनल प्रवेश गरेको हो भने त्यसअघि चन्द्रगढी भेट्रानलाई सडनडेथमै ३–२ गोल अन्तरले पराजित गर्दै विर्तामोड फाइनल प्रवेश गरेको थियो ।
दुवै सेमिफाइनल खेलमा निर्धारित ५० मिनेटको खेलमा कुनै गोल भएको थिएन । नतिजाका लागि खेल टाइब्रेकर हुँदै सडन डेथमा धकेलिएको थियो ।
१५ असोजदेखि सुरु भएको सो प्रतियोगितामा १२ टिम सहभागी रहेका थिए ।
आज (बुधबार) हुने फाइनल खेलका विजेताले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षले विधागत पुरस्कार पाउने आयोजक दमक भेट्रान फुटबल क्लबका सचिव वीरेन राईले जानकारी दिएका छन् ।
प्रतियोगिताका लागि प्रथम पुरस्कारको नगद राशि १ लाख रुपैयाँ क्लबको अध्यक्ष गेजेन्द्र देवान (गजु) आफैंले प्रायोजन गरेका हुन् । सामाजिक अगुवा देवान दमक ६ स्थित माया क्याफेका सञ्चालकसमेत हुन् ।
त्यस्तै, प्रतियोगिताको उपविजेताले पाउने दोस्रो पुरस्कारको नगद राशि ५१ हजार क्बलका सदस्य चन्द्र गजमेरले प्रायोजन गरेका हुन् । सामाजिक अगुवा गजमेर सुनचाँदी व्यवसायीसमेत हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।