दमक ।
झापामा सञ्चालित जापानिज ईन्सेफलाइटिस (जेई)विरुद्धको खोप अभियानमा ३ लाख ५४ हजार बढीलाई खोप लगाइएको छ । ५ असोजदेखि सुरु भई १८ गतेसम्म खोप अभियान चल्दा ३ लाख ५४ हजार ८०४ जना नागरिकले खोप लगाएका हुन् ।
झापामा जेई संक्रमणबाट ७ जनाको मृत्यु भएपछि खोप अभियान सञ्चालन गरिएको थियो । ३० वर्षमाथि उमेर समूहलाई लक्षित गरेर सुरु गरिएको अभियान १५ असोजसम्म सञ्चाल गर्ने भनिए पनि अझै केही दिन रहने स्वास्थ्य कार्यालय झापाका खोप कार्यक्रम फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए । झापामा जेईको खोप लगाउने उमेर समूह ३० वर्षमाथिका ४ लाख ९३ हजार ३ १९ जनामध्ये ७१ दशमलव ९० प्रतिशत नागरिकलाई खोप लगाइएको उनले बताए ।
खोप सेवा लिनेमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । हालसम्म २ लाख ७ सय ५ जना महिला र १ लाख ५४ हजार ९९ जना पुरुषले खोप लगाइसकेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा सञ्चालित अभियानमा खोप सहभागिताका आधारमा हल्दीबारी गाउँपालिका पहिलो स्थानमा रहेको छ ।
हल्दीबारीका १३ हजार ६७१ जना अर्थात् ८७ प्रतिशत नागरिकले खोप लगाएका छन् । यस्तै, १५ हजार ९०४ जना (८०.७ प्रतिशत) सहभागितासहित कचनकवल गाउँपालिका दोस्रो तथा १४ हजार ३५९ जना (७८.४ प्रतिशत) कभरेजसहित बाह्रदशी गाउँपालिका तेस्रो स्थानमा रहेका छन् ।
सहरी तथा ठूला स्थानीय तहहरूमध्ये बिर्तामोड नगरपालिकामा ७७ प्रतिशत (४६ हजार २९ जना), गौरीगञ्ज गाउँपालिकामा ७६.७ प्रतिशत (१३ हजार १४९ जना), झापा गाउँपालिकामा ७६.१ प्रतिशत (१४ हजार ५०२ जना) र कन्काई नगरपालिकामा ७५.२ प्रतिशत (१९ हजार ७३५ जना)ले खोप लगाएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा ७५ प्रतिशत (१९ हजार ६२९ जना), कमल गाउँपालिकामा ७२.१ प्रतिशत (१९, हजार ७० जना), मेचीनगर नगरपालिकामा ७२ प्रतिशत (४७ हजार २ सय जना) र गौराहद नगरपालिकामा ७०.२ प्रतिशत (२१ हजार ८६ जना)ले खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।
त्यस्तै, दमक नगरपालिकामा ६८.२ प्रतिशत (३७ हजार ७३६ जना), अर्जुनधारा नगरपालिकामा ६७.२ प्रतिशत (२८ हजार ६५५ जना) र शिवसताक्षी नगरपालिकामा ६५ प्रतिशत (२३ हजार ७१८ जना) नागरिकले खोप सेवा लिएका छन् । खोपमा सहभागिताको सूचीमा भद्रपुर नगरपालिका भने सबैभन्दा पछाडि परेको छ । भद्रपुरमा ५८.७ प्रतिशत अर्थात् २० हजार ३६१ जनाले मात्र खोप लगाएका छन् ।
स्थानीय तहहरूले बाँकी रहेका लक्षित नागरिकहरूलाई पनि नजिकैको खोप केन्द्रमा पुगेर अनिवार्य रूपमा जापानिज ईन्सेफलाइटिसविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । खोप अभियान आउँदो शुक्रबारसम्म सञ्चालन हुन सक्ने भण्डारीले जानकारी दिए । उनका अनुसार अब भने गाउँमा गएरभन्दा पनि खोप केन्द्रमा खोप लगाइने उनको भनाइ छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।