दमक ।
नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत समावशीतर्फ ८० क्लष्टरमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधानमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यसम्मका विभिन्न ८० क्लस्टर कायम गरिएको हो ।
जसमा खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, प्रदेश, प्रवास, युवा आदि छुट्टाछुट्टै समूहका क्लष्टर कायम गरिएको छ ।
नयाँ कार्यसमिति चयनका लागि आज मंगलबार सुरु भएको मनोनयन दर्ता कार्यक्रममा ८० वटा क्लष्टरबाट आकांक्षीहरुले मनायनय दर्ता गराउने बताइएको छ ।
कांग्रेस १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि २२ असोजको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकिएको छ । बुधबार भने उम्मेदवारउपर दावी–विरोध प्रक्रिया पूरा गर्नेसाथै उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आदि कार्य हुने निर्वाचन समितिले जनाएको छ ।
बुधबार १ दिन उम्मेदवारहरूलाई प्रचार–प्रसारका लागि समय दिइएको छ । बिहीबार (२२ असोज) बिहान ७ः३० देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
नयाँ केन्द्रीय समिति संख्या २९७
संशोधित कांग्रेस विधानले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ । जसमा १ सभापति, १ वरिष्ठ उपसभापति, ४ उपसभापति (१ महिला अनिवार्य) हुने व्यवस्था छ ।
त्यस्तै, ३ महामन्त्री (१ महिला अनिवार्य) र १५ सहमहामन्त्री (२ खुला, १ आदिवासी जनजाती, १ दलित, १ मधेशी, १ खसआर्य, १ थारु, १ मुस्लिम, १ पिछडिएको क्षेत्र र १ अल्पसंख्यक÷अपांगता कोटा) तोकिएको छ । पार्टी सभापतिले ४ जना सहमहामन्त्री (१ महिला अनिवार्य)सहित मनोनित गर्ने गरी विधान संशोधन भएको छ ।
केन्द्रीय सदस्य मध्येबाट १ कोषाध्यक्ष मनोनीत हुने विधानमा उल्ल्ेख छ । त्यस्तै, केन्द्रीय समितिले केन्द्रीय सदस्यमध्येबाटै १ प्रवक्ता र १ सहप्रवक्ता मनोनित गर्ने प्रावधान छ ।
४५ जना केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने १५ जना महिला खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्ने छन् । त्यस्तै, ८ जना आदिवासी जनजाति महिलाबाट, १२ जना आदिवासी जनजाति खुलाबाट, ५ जना दलित महिलाबाट, १ जना मधेशी दलितबाट र दलित खुलाबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा व्यवस्था गरिएको छ ।
यसैगरी ८ जना मधेशी महिलाबाट र ८ जना खसआर्य महिलाबाट केन्द्रीय सदस्य बन्ने छन् भने १० जना खसआर्य खुलाबाट केन्द्रीय सदस्य हुनेछन् ।
२ जना थारु महिलाबाट, ४ जना थारू खुलाबाट, २ जना मुस्लिम महिलाबाट र ३ जना मुस्लिम खुलाबाट केन्द्रीय सदस्य हुनेछन् ।
त्यस्तै १ पिछडिएको क्षेत्र महिला, १ पिछडिएको क्षेत्र खुला, १ अल्पसंख्यक, १ अपांगता कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
१ प्रजातन्त्र सेनानी, १ शहीद परिवार र १ द्वन्द्व प्रभावित परिवारबाट केन्द्रीय सदस्य बन्न पाउनेछन् ।
त्यस्तैगरी ७ वटै प्रदेशबाट ३५ वर्ष मुनिका युवा महिला र खुलाबाट पनि केन्द्रीय सदस्य हुने अवसर संशोधित विधानले खुला गरेको छ । जसअन्तर्गत काठमाडौं उपत्यकाबाट १ महिला र १ खुला केन्द्रीय सदस्य बन्नेछन् ।
नेपाली जनसम्पर्क समिति युरोप क्षेत्र, ओसियाना–अमेरिका क्षेत्र, नेपाली जनसम्पर्क समिति मध्यपूर्व क्षेत्र, एसिया प्यासिफक क्षेत्र, नेपाली जनसम्पर्क समिति भारतबाट केन्द्रीय सदस्यका लागि कोटा छुट्याइएको छ । पेशागत विषयगत क्षेत्र र श्रमिकका लागि पनि महिला खुलामा पनि केन्द्रीय सदस्य चयन हुनेछन् ।
थप ६६ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिले मनोनीत गर्ने विधानमा उल्लेख छ ।
प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमिति सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने वैधानिक व्यवस्था छ ।
३ स्थान तोकिएको मतदानका लागि
बागमती प्रदेशका लागि सभागृह, गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन र कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश र भ्रातृ एवम् शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्चलाई मतदानस्थल तोकिएको छ ।
कांग्रेसको केन्द्रीय सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १) वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्नेछ ।
उम्मेदवारका लागि योग्यता
केन्द्रीय सदस्यको हकमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था संशोधित विधानमा छ । यस्तै जिल्ला सभापति, प्रदेश सभापतिसहित पदाधिकारीका लागि पनि पार्टी क्रियाशील सदस्यता प्राप्त गरेको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड पारित भएकोछ ।
तर, ३५ वर्ष मुनिका युवा, समायोजन भइ आएका र पेशागत–श्रमिक क्षेत्रका सदस्यको हकमा १० वर्षे समय सीमा लागू नहुने निर्देशिकामा उल्लेख छ ।
गाउँपालिका तथा नगरपालिका सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा जिल्ला उपसभापति र सचिवका लागि भने कम्तीमा ५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने वैधानिक व्यवस्था छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।